फोक्सिङटारको बेलिब्रिज हटाइने, खोटाङवासीका दुःखका दिन सुरु
खोटाङ : खोटाङ–उदयपुर जोड्ने सुनकोशीको फोक्सिङटारमा जडान गरिएको बेलिब्रिज हटाइने भएको छ। तराईका जिल्लासँग जोड्ने प्रमुख नाकाका रूपमा रहेको फोक्सिङटारको बेलिब्रिज हटेपछि खोटाङ–उदयपुर सीधा यातायात अवरुद्ध हुँदै छ।
गत असोज १२ गते आएको बाढीले फोक्सिङटारको पक्की पुल बगायो। खोटाङ–उदयपुर आवतजावत गर्ने यातायातका साधन बन्द भए। प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सडक विभागले बेलिब्रिज जडान गर्यो, खोटाङवासीलाई प्रदेश राजधानी विराटनगर र तराईका जिल्ला आवतजावतमा सहज भयो। तर, त्यही बेलिब्रिज हटाउने खबरले स्थानीय चिन्तित छन्।
गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले सुनकोशीमा बाढी आउन थालेपछि जेठ ५ देखि बेलिब्रिज हटाउन लागेको जानकारी दिए। उनले बेलिब्रिज झिक्ने मजदुर सहितको प्राविधिक टोली तयारी अवस्थामा राखिएको बताए। खोटाङवासीले भने जेठ १५ सम्म बेलिब्रिज नहटाउन आग्रह गरेका छन्।
असोजदेखि कष्टकर जीवन बिताएका खोटाङवासीलाई सुबिधा दिने उद्देश्यले सरकारले गत पुस २७ गतेदेखि फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो। फोक्सिङटारमा बेलिब्रिज जडान गरिएपछि खोटाङ सदरमुकाम दिक्तेल बजारदेखि गाईघाट, बेलटार, धरान, इटहरी, बिराटनगर, दमक र बिर्तामोडसम्ममा यातायातका साधन सञ्चालनमा आएका थिए।
बेलिब्रिज झिकेपछि खोटाङ–उदयपुर सीधा सम्पर्क टुट्ने र जिल्लावासीलाई तराईका जिल्ला झर्न गम्भीर समस्या हुने नेकपा एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यले बताए। उनले हाल वर्षात नभएकाले जेठ १५ सम्म फोक्सिङटारको बेलिब्रिज नहटाउन अनुरोध गरेका छन्। बेलिब्रिज हटाइएपछि सगरमाथा लोकमार्गको गाईघाट–दिक्तेल सडकमा यातायातका साधनहरू सञ्चालन बन्द हुने भएका छन्।
जसका कारण जिल्लावासीहरूलाई दैनिक उपभोग्य वस्तुको खरिद र उपचारका लागि धरान विराटनगरका अस्पताल सम्म जान समस्या हुने भएको छ।
खोटाङबाट निर्वाचित सांसद रामकुमार राई (पासाङ)ले बेलिबृज हटाउदा जिल्लावासीहरूलाई मंसिरसम्म जीविका चलाउनका लागि खाधान्न, निर्माण सामग्री, औषधि, इन्धनलगायतका दैनिक उपभोग्य वस्तुको ढुवानिमा गम्भीर समस्या हुने बताए।
उनले खोटाङका प्रहरी प्रशासन तथा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर मात्र बेलिब्रिज हटाउन अनुरोध हरेका छन्। फोक्सिङटारको पक्की पुल बाढीले बगाएपछि सुनकोशीमा १ करोड २ लाख ९४ हजार ६ सय ७७.७८ रुपैयाँ लागतमा बेलिब्रिज जडानको काम सम्पन्न गरिएको थियो। ५० मिटर लम्बाइ र साढे ६ मिटर चौडाइ रहेको बेलिब्रिजबाट एकतर्फी यातायातका साधन सञ्चालन हुँदै आएका थिए।
फोक्सिङटारको बेलिबृज हटाइएपश्चात् खोटाङवासीहरू ओखलढुंगाको जयराम, उदयपुरको घुर्मी, कटारी र भोजपुर, धनकुटा हँुदै धरानसम्मको लामु दूरीको सडक पार गरेर तराईका जिल्ला झर्नुपर्ने बाध्यता सुरु भएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजन आचार्यले बताए। उनले यो बाटोमा यातायातका साधनमा यात्रा गर्दा र दैनिक उपभोग्य बस्तुको ढानि गर्दा महँगो हुने पनि बताए। सरकारले दिक्तेल–गाईघाट सडकमा यातायातका साधन सञ्चालनमा सहज बनाउने र खोटाङवासीको कष्टकर जीवनलाई सहज बनाउने उद्देश्यले सुनकोशीको फोक्सिङटारमा २२ करोड ६७ लाख ११ हजार रुपैयाँ लागतमा ठेक्का लगाएर पक्की पुलको निर्माण सम्पन्न गरेको थियो। बाढीले बगाएको स्थानमा भने नयाँ पक्की पुल निर्माणमा भने सरकारले चासो देखाएको छैन।
प्रतिक्रिया दिनुहोस !