सहकारीमा नराम्रो मात्र छैन, भ्रम नछरौँ : मन्त्री अधिकारी
बुटवल : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा नराम्रा मात्र नभएको बताए। सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँ बानेश्वर काठमाडौंले शनिवार कपिलवस्तुमा आयोजना गरेको स्थानीय तहका पदाधिकारी, कर्मचारी तथा सरोकारवाला निकायसँग सहकारी नियमन तथा प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सहकारीबारे नराम्रो मात्र प्रचार गरेर नागरिकमा भ्रम नछर्न आग्रह गरेका हुन्।
‘आवश्यक परेको खण्डमा सहकारीसम्बन्धी कानुन फेरि पनि संशोधन गर्न सकिन्छ’,उनले भने,‘सहकारीमा भएका राम्रा र असल अभ्यासको पनि प्रचार गर्न सक्नुपर्छ । कानुन विपरीत काम गर्नेलाई कारबाही हुन्छ ।’ उनले भूमि सम्बन्धी कानुन पनि संसद्बाट छिट्टै पासगरी अव्यवस्थित बसोबासी र सुकुम्बासीको समस्या समाधान गर्ने बताए।
लुम्बिनी प्रदेशमा सहकारी क्षेत्रमा देखिएका समस्या, भविष्यमा आउनसक्ने समस्या र समाधानका लागि तीन तहकै सरकारबीच समन्वय हुनुपर्ने ,कार्यक्रमबाट निष्कर्ष निकालिएको छ।
त्यस्तै, संघीय सरकारले बचत तथा ऋणका सम्बन्धमा छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने, संघ सरकारले बनाएका कानुनको प्रदेश र स्थानीय तहले आफ्ना कानुनमा परिमार्जन गर्नुपर्ने, सहकार्य समन्वय र साझेदारीमा सहकारी प्रशिक्षण तथा अनुसन्धानका क्रियाकलापहरूलाई निरन्तरता दिनुपर्ने लगायतका सुझावहरू सहभागीले दिएका छन्।
प्रतिक्रिया दिनुहोस !