राष्ट्रिय टिमका पूर्वकप्तान मानबहादुरले टिपटप हेल्प नेपालबाट एनभीए खेल्ने
काठमाडौं : नेपाल भलिबल टिमका पूर्वकप्तान मानबहादुर श्रेष्ठले नवौं प्रधानमन्त्री कप(एनभीए) महिला तथा पुरुष भलिबल प्रतियोगितामा टिपटप हेल्प नेपालको टिमबाट खेल्ने भएका छन्।
उनले आफ्नो युट्युबले च्यानलबाट आफूले विगतमा नेपालमा खेलिरहेको त्रिभुवन आर्मीको भन्दा फरक जर्सीमा देखा पर्न लागेको जानकारी दिएका हुन्।
उनले उक्त भिडियोमा आफूलाई अनुबन्ध गरेकोमा टिपटप हेल्प नेपाललाई धन्यवाद दिएका छन्। ‘मलाई पुन: नेपाली मैदानमा उत्रन सहयोग गर्नुहुने टिपटप हेल्प नेपाललाई धन्यवाद दिन चाहन्छु।’
उनले विगत १० वर्षदेखि खेल्दै आएको त्रिभुवन आर्मी क्लबलाई समेत धन्यवाद व्यक्त गरेका छन्। हाल उनी उक्त संस्थाबाट रिटायर भइसकेको बताए।
‘म उक्त संस्थाबाट नै रिटायर भइ सकेँ अब आइरहेका नयाँ भाइहरूलाई शुभकामना भने भन्न चाहन्छु।’, उनले भने।
नवौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता जेठ ८ देखि १५ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा ६ महिला टिमले र ८ वटा पुरुष टिमले प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !