सत्यनिरुपण र बेपत्ता आयोग : पदाधिकारी नयाँ, चुनौती पुरानै

सत्यनिरुपण र बेपत्ता आयोग : पदाधिकारी नयाँ, चुनौती पुरानै

सशस्त्र द्वन्द्वमा भएको हिंसात्मक घटनाले आफूलाई कठघरामा उभ्याउने डर सबैभन्दा बढी प्रचण्डमै देखिन्छ ।

काठमाडौं : शान्ति सम्झौता भएको १९ वर्षको अवधिमा संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन १ अर्बभन्दा बढी खर्च भइसकेको छ । दुई न्यायिक संयन्त्र सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका सेवा सुविधाको नाममा अर्बौं खर्च गरे पनि चुनौती झन् चुलिँदै गएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सोमबार पद तथा गोपनियताको शपथ ग्रहण लिएका आयोगका नवनियुक्त पदाधिकारीलाई पहिलो चुनौती छ, ‘द्वन्द्वपीडितलाई विश्वासमा लिने ।’ ‘द्वन्द्वपीडित मात्र होइन एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सजस्ता अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले पनि आयोगमा पदाधिकारी सिफारिस प्रक्रियाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित सिफारिस समितिले गरेको सिफारिसका आधारमा सरकारले महेश थापाको नेतृत्वमा सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्त भएका छन् । थापा पूर्वनायव महान्यायाधिवक्ता हुन् । सदस्यहरूमा अच्युतप्रसाद भण्डारी (जाजरकोट), टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्य ओझा (कञ्चनपुर) नियुक्त भएका छन् । त्यस्तै बेपत्ता आयोगकी अध्यक्ष लीलादेवी गड्तौला पूर्वमुख्य सचिव हुन् । गोपालनाथ योगी (सल्यान), अग्निप्रसाद थपलिया (झापा), सिर्जना पोखरेल ( काठमाडौं) र विनिता नेपाली (कास्की) छन् ।

आयोगका पूर्वपदाधिकारीका अनुसार आयोगले भोग्नु परेका समस्याहरूलाई मूलत :  नीतिगत तथा कानुनी, संस्थागत तथा संगठनात्मक, व्यवस्थापकीय र व्यावहारिक छन् । ९ वर्षको अवधिमा यी समस्याहरूको समाधान गर्न नसक्दा हरेक पटक नियुक्त पदाधिकारी आलोचित हुँदै आएका छन् ।

चुनौती नम्बर १  :  द्वन्द्वपीडितको विश्वास आर्जन
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम स्वतन्त्र, निष्पक्ष, जवाफदेही र उच्चस्तरीय सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरिएको हो ।

द्वन्द्वकालीन मानव अधिकार उल्लंघन घटनाको न्याय प्राप्तिमा हुन गएको ढिलाइले पीडितहरूलाई आक्रोशित बनाएको हो । दण्डहीनताको स्थिति बढ्दै गएकोमा संक्रमणकालीन न्याय स्थापनामा विशेष भूमिका भएको सत्यनिरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग कहिले पदाधिकारीविहीन हुन पुगे त कहिले आयोग पदाधिकारीबीच मतैक्यता हुन सकेन ।

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याई द्वन्द्वकालीन घटनाको सत्यतथ्यको खोजी, पीडितलाई परिपुरण, न्याय र पीडकलाई कानुनी कारबाहीको सिफारिस गर्नुपर्ने कानुनी दायित्व पूरा गर्ने गहन जिम्मेवारी आयोगका पदाधिकारीमा छ । संक्रमणकालीन न्यायको प्रक्रियालाई अघि बढाउन सक्रियता देखाएका प्रधानमन्त्री केपी शर्मा ओलीका मानव अधिकार र संक्रमणकालीन न्याय विज्ञ सल्लाहकार अग्निप्रसाद खरेल पनि द्वन्द्वपीडितलाई विश्वासमा लिनुपर्ने बताउँछन् ।

पूर्वकानुनमन्त्रीसमेत रहेका खरेल भन्छन्, ‘द्वन्द्व पीडितहरूमा अलि बढी आंशका त हिजो आयोगबाट काम नभएर पनि भएको हो । द्वन्द्वपीडितले जे आशंका गर्नुभएको छ, त्यसमा अस्वाभाविक लिनुपर्ने जरुरी देख्दिनँ । त्यसलाई स्वाभाविक रूपमा लिनुपर्छ ।’nullतस्बिर : यादव आचार्य

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले छनोट तथा सिफारिस प्रक्रियामा छलफल र परामर्श नगरेका कारण द्वन्द्वपीडितहरू आक्रोशित देखिएका छन् । जसका कारण आयोगका पदाधिकारी र पीडितबीच विश्वासको संकट देखिएको छ । पीडितहरूले आयोग पदाधिकारीको समग्र छनोट तथा सिफारिस प्रक्रियाप्रति नै पीडतहरूले ११ वटा प्रश्न उठाएका छन् ।

दुवै आयोगमा पीडित समुदायबाट प्रतिनिधित्व गर्ने आवेदकलाई संक्षिप्त सूचीमा नराख्ने निर्णय गर्दा लिइएका आधार–कारणको समेत माग गरेका छन् । पीडितको प्रश्न छ, ‘सिफारिस गरिएका प्रत्येक उम्मेदवारसम्बन्धी लिएका वस्तुगत आधार–कारण के थिए ?’ द्वन्द्वपीडितहरू रामकुमार भण्डारी, गोपालबहादुर शाह, सिर्जना श्रेष्ठ, रुपेश शाह, उदयकुमार शाह, नेत्रबहादुर भण्डारी, गणेशबहादुर मल्लको प्रश्न छ । पीडितले संक्रमणकालीन न्याय पदाधिकारी छनोट तथा सिफारिस प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आधार र कारण माग गरेका छन् ।

कानुनी कठघरामा उभिनुपर्ने भयले गर्दा दलीय मिलेमतोमा आयोग गठन गरेर आँखामा छारो हाल्न खोजेको द्वन्द्वपीडितहरूको दाबी छ । ‘आफन्त गुमाएको तथा बेपत्ता पारिएका पीडितको रित्तिएको आँसुमा बेसरम रूपमा राजनीतिक भागबन्डा गरियो’, सुमन अधिकारी भन्छन्, ‘कार्यकर्ता वा नातेदारलाई जागिर खुवाउने थलो बनाइयो । पदलोलुपताको पराकाष्ठा नै नाघ्यो ।’

पीडितहरूले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहालदेखि पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्धसमेत उजुरी दिएका छन् । त्यस्तै द्वन्द्वकालका तत्कालीन गृहमन्त्रीहरू, तत्कालीन नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र नेपाली सेनाका प्रधान सेनापतिहरू, प्रमुख जिल्ला अधिकारीसम्मका पीडकहरूविरुद्ध उजुरीहरू दर्ता भएका छन् ।

दुवै आयोगमा गरिएको सिफारिस प्रक्रिया र नियुक्तिप्रति द्वन्द्वपीडितहरू असन्तुष्ट र आक्रोशित छन् । बेपत्ता परिवार समाजका संयोजक एकराज भण्डारीका अनुसार पीडितलाई आयोगप्रति अपनत्व महसुस गराउनु चुनौती छ । सर्वोच्च अदालतले पनि आयोग गठनमा पीडितलाई पनि समावेश गर्न आदेशसमेत दिएको थियो । तर, यसपटक पनि बेवास्ता गरिएको छ ।

चुनौती नं २  :  आयोगभित्रको मतैक्यता
बेपत्ता परिवार समाजका संयोजक एकराज भण्डारीका अनुसार आयोगका अध्यक्षसहित अन्य पदाधिकारीबीच नियमित बैठक र मतैक्यताको चुनौती छ । विगतमा ८ वर्षमा आयोगको कार्यप्रगति सन्तोषजनक नहुनु र पदाधिकारी असफल हुनुमा पनि मतैक्यताको अभाव रहेको भण्डारीको दाबी छ ।

बृहत् शान्ति सम्झौता भएको ८ वर्षपछि २०७१ माघ २७ गते गठन गरिएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा आयोग गठन भएको हो । सत्यनिरुपण आयोगको पहिलो अध्यक्ष भए, सूर्यकिरण गुरुङ । गुरुङलाई बैठकमै सदस्यहरूले यतिसम्म गरे कि उनले राजीनामा दिन्छु भन्दै बीचमै छोडेर हिंँडेका थिए । माधवी भट्ट, श्रीकृष्ण सुवेदी, लीला उदासी, मञ्चला झाबीच मतैक्यताभन्दा बढी विवाद भएको थियो ।

आयोगमा सिफारिस गरिने पदाधिकारीको भूमिकाप्रति पीडित नै असन्तुष्ट भए । दुई वर्षको कार्यादेशसहित गठित आयोगको म्याद २०७३ माघ २६ गते सकियो । काम अधुरै रहेपछि पहिलो पटक एक वर्ष म्याद थपियो । आयोगले तीन वर्षमा पनि काम गर्न सकेन । १५ चैत २०७३ मा द्वन्द्वपीडित तेजकुमारी बुढाथोकी, मोहन ओली र कल्याण गुरुङलगायतले आयोगका तत्कालीन अध्यक्ष गुरुङलाई कार्यक्षमता नभएको भन्दै बर्खास्तीको माग गरेर सर्वोच्च अदालतमा रिट निवेदनसमेत दिए ।

२०७४ माघमा दोस्रो पटक र २०७५ मा तेस्रो पटक म्याद थपियो । तीन पटक म्याद थप्दा पनि छानबिन गरी सत्यनिरुपण गर्न नसकेपछि आयोग पदाधिकारीविहीन भयो । झन्डै ९ महिना आयोग पदाधिकारीविहीन भयो । ४ माघ २०७६ मा सत्यनिरुपण आयोग अध्यक्षमा गणेशदत्त भट्टलाई सिफारिस गरियो । यस पटक पनि दलहरूबीच भागबन्डा गरियो । सदस्यमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल सिफारिस भए । आयोगका एक सदस्य प्रचण्ड प्रधानले बीचमै राजीनामा गरेका थिए । अध्यक्ष भट्टको अवस्था पनि गुरुङको झैं भयो । सदस्यहरूले विपक्षीको व्यवहार देखाए ।

२०७६ माघ १ गते उनले टुँडिखेलमा आयोजित आमसभामा भनेका थिए, ‘हिजोका सामन्त राजाहरूले १२ हजार मारेका हुन् । मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु । तर, हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन । हिजोको युद्धमा भएका राम्रा नराम्रा काममा म जिम्मेवारी लिन्छु । ’

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीका अनुसार संविधान, सत्यनिरुपण तथा मेलमिलाप, अपराध अनुसन्धान बुझेको व्यक्तिलाई नियुक्त नगरेका कारण आयोग असफल हुन पुग्यो । नियुक्त पदाधिकारीले पनि जिम्मेवारी सम्झिएनन् । जागिर सम्झिए, अल्मलिएरै कार्यकाल बिताए । बेपत्ता परिवार समाजका संयोजक एकराज भण्डारी भन्छन्, ‘राजनीतिक दलको आशीर्वाद पाएर नियुक्त भएका पदाधिकारीहरूबीच बैठकमै लडाइँ हुने गर्छ ।

कहिल्यै मतैक्यता हुँदैन । टिम स्पिरिट नभएकाले नै यसअघिका आयोगको कार्यप्रगति सन्तोषजनक पनि हुन सकेन । असफल भए ।’ भण्डारीका अनुसार आयोगका अध्यक्ष चयनमा दलीय सहमति गरेर अन्य सदस्य छनौट गर्ने अधिकार अध्यक्षलाई दिए मात्र बैठकमा निर्णय गर्न सहज हुन्छ । र, मतैक्यता पनि बन्न सक्छ । यो सुझाव नसुनिएको भण्डारीको गुनासो छ ।

चुनौती नम्बर ३  :  कर्मचारीहरूको पदपूर्ति र सीप एवं दक्षता
आयोगको कार्य प्रकृतिअनुसारको कर्मचारीको पदपूर्ति हुन सकेको छैन । स्रोतका अनुसार सत्यनिरुपण र बेपत्ता आयोगमा निजामती सेवाको विशिष्ट श्रेणीको सचिवसहित डेढ सयभन्दा बढीको दरबन्दी स्वीकृत भएको छ । तर, कहिल्यै पदपूर्ति हुँदैन ।

बेपत्ता परिवार समाजका संयोजक भण्डारीका अनुसार निर्वाचन गराउन जसरी सरकारले कर्मचारी परिचालन गर्छ त्यसैगरी शान्ति प्रक्रिया टुंगो लगाउने गरी दक्ष कर्मचारी परिचालन गर्नुपर्ने हुन्छ । भण्डारी भन्छन्, ‘दरबन्दीअनुसार कर्मचारी पनि पदपूर्ति गरिँदैन । आवश्यक बजेट विनियोजन गरिँंदैन । कसरी काम गर्ने पदाधिकारीले ?’

दरबन्दीअनुसार पदपूर्ति नहुँदा आयोगको कार्यलाई लक्ष्यअनुरूप अघि बढाउन सकिएको छैन । आयोग स्थापनाको सुरुवातदेखि नै सत्यनिरुपण र बेपत्ता छानबिन तथा द्वन्द्व व्यवस्थापनको क्षेत्रमा अनुभव कम भएकाले प्रभावकारी र गुणस्तरीय छानबिनमा बाधा उत्पन्न हुँदै आएको आयोगका पूर्वपदाधिकारीको अनुभव छ ।

चुनौती नम्बर ४  :  पीडक शीर्ष नेताको बयान
सत्यनिरुपण आयोगमा प्राप्त भएका ६३,७१८ थान उजुरीसँग सम्बन्धित घटना र यससँग सम्बन्धित संक्रमणकालीन न्यायका बाँकी काम तार्किक निष्कर्षमा पुर्‍याउने चुनौती छ ।

संक्रमणकालीन न्यायलाई टुंग्याउने भन्ने विषयमा नै सत्तारुढ दलहरूबीच मतैक्यता छैन । तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्ष दाहालले संक्रमणकालीन न्याय टुंग्याउने विषयमा कुरा फेर्ने गरेका छन् ।

पीडितहरूले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहालदेखि पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्धसमेत उजुरी दिएका छन् । त्यस्तै द्वन्द्वकालका तत्कालीन गृहमन्त्रीहरू, तत्कालीन नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र नेपाली सेनाका प्रधान सेनापतिहरू, प्रमुख जिल्ला अधिकारीसम्मका पीडकहरूविरुद्ध उजुरीहरू दर्ता भएका छन् ।

सामाजिक हैसियत र न्यायिक मन भएका व्यक्तित्वको  पहिचान गरी आयोगको पदाधिकारीमा छनोट गर्न खबरदारी गरेका हौं  । तर, अनुभवहीनलाई जागिर खुवाउने र आफ्नो नियन्त्रणमा आयोगलाई राख्ने नियत देखियो । कमजोर आयोगले न त स्पष्ट मार्गचित्र तय गर्न सक्छ , न त सत्य उजागर गर्न सक्छ ।
 सुमन अधिकारी - संस्थापक अध्यक्ष, द्वन्द्वपीडित साझा चौतारी

पीडितहरूलाई  अपनत्व महसुस गराउनु आयोगका पदाधिकारीको प्रमुख चुनौती हुने छ । पीडकको रूपमा उजुरी दर्ता भएका पूर्वप्रधानमन्त्रीहरूको समेत बयान लिन सक्ने हैसियत आयोग पदाधिकारीमा छ ।
 एकराज भण्डारी - संयोजक, बेपत्ता परिवार समाज

द्वन्दपीडितहरूले अविश्वास गरिरहेका छन् भने आयोगका पदाधिकारीले छलफल र कामद्वारा विश्वासमा परिणत गर्नुपर्छ । पीडितमैत्री तरिकाले नै संक्रमणकालीन न्यायलाई टुंग्याउनुपर्छ ।
 अग्निप्रसाद खरेल - विज्ञ सल्लाहकार, मानव अधिकार तथा संक्रमणकालीन न्याय

आयोगले उजुरीमा नाम किटान गरिएका पीडकहरूको बयान लिनुपर्ने हुन्छ । विज्ञहरूका अनुसार बयान तीन किसिमको हुन्छ, सामान्य सोधपुछ, कागजी र परामर्श । बयानका लागि देउवा, दाहाल, पूर्वप्रहरी प्रमुख, पूर्वप्रधान सेनापति, पूर्वराजा ज्ञानेन्द्र समेतलाई बोलाउनुपर्छ । सोधपुछ गर्दै जाँदा कसुरदार देखिएको अवस्थामा पीडकहरूलाई बयान कागज गराउनुपर्ने हुन्छ । वरिष्ठ अधिवक्तासमेत रहेका बेपत्ता परिवार समाजका संयोजक भण्डारी भन्छन्, ‘बयान कागज गराउने हैसियत अहिलेका पदाधिकारीको छ कि छैन ?’

कानुनी कठघरामा उभ्याउन ढिलाइ भएकोमा एकातिर उजुरीकर्ताहरू आक्रोशित छन् । पीडक भनिएका व्यक्तिलाई बयानमा बोलाएर अनुसन्धान गरी न्याय दिने कार्य आफैंमा जटिल र चुनौतीपूर्ण छ । सर्वोच्च अदालतले मानव अधिकारको गम्भीर उल्लंघन र मानवताविरुद्धका अपराधहरू गम्भीर फौजदारी कसुर भएको र क्षमादान दिने विषय सत्यनिरुपण तथा मेलमिलाप आयोगको स्वेच्छामा छोड्न नमिल्ने फैसला गरेको छ । संक्रमणकालीन न्यायका विषयमा सर्वोच्च अदालतबाट विधिशास्त्रको विकास मात्र भएको छैन, न्यायका लागि कानुनको निर्माण र कार्यान्वयनको संरचना तयार गर्ने सन्दर्भमा पनि सरकारलाई महत्वपूर्ण सुझाव दिएको छ ।

सर्वोच्चले गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याई सजाय गर्ने आधार खोजी गर्नु आयोगको संवैधानिक तथा कानुनी दायित्व भएको प्रष्ट्याएको छ । पीडकलाई अभियोग नै नलगाई, कसुर नै स्थापित नगरी आममाफी दिए सरह क्षमादान गर्ने आधार र कारणको खोजी गर्न नमिल्ने 
फैसला गरेको छ ।

चुनौती नम्बर ५  :  राजनीतिक इच्छाशक्ति जरुरी
प्रमुख राजनीतिक दलहरूको इच्छाशक्ति बिना संक्रमणकालीन न्याय टुंगो लगाउन सकिंँदैन । बेपत्ता परिवार समाजका संयोजक एकराज भण्डारी भन्छन्, ‘सत्तामा रहने मात्र होइन प्रतिपक्षमा बस्ने दलको पनि संक्रमणकालीन न्याय टुंग्याउने विषयमा राजनीतिक इच्छाशक्ति देखिँंदैन । बरु, सत्ताका लागि बार्गेनिङ प्वाइन्ट बनाउँछन् ।’

द्वन्द्वका क्रममा मानव अधिकार उल्लंघन गर्ने छुट न राज्य पक्षलाई हुन्छ, न त विद्रोहीलाई । राज्य र विद्रोही माओवादीले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । जुन प्रतिबद्धता उल्लंघन भएकाले अहिले अप्ठेरो महसुस गरिरहेका छन् । शीर्ष राजनीतिक नेतृत्वलाई डर छ, ‘अनुसन्धान र अभियोजनको विषयमा चित्त नबुझाएर द्वन्द्वपीडित आन्दोलन गर्ने हुन् कि !’

सङ्क्रमणकालीन न्यायका सम्बन्धमा सर्वोच्च अदालतले विभिन्न समयमा जारी गरेका निर्देशनात्मक आदेशहरूको समेत पालना गरिएको छैन । द्वन्द्वको समयमा घटित घटनाहरूको छानबिन गर्दा एक वा दुई पक्षमा मात्र ध्यान दिएर पुग्दैन । उजुरीको छानबिन तथा सत्यको खोजबिनको क्रममा आयोगले स्थापना कालदेखिनै विभिन्न प्रकारका समस्या तथा चुनौतीको सामना गर्नुपरेको छ । जबकि राज्य वा अरू कसैद्वारा वा व्यक्ति स्वयं बेपत्ता भएको अवस्थामा पनि व्यक्तिको स्थिति सार्वजनिक गर्ने दायित्व सरकारको हो । यो दायित्वबाट कांग्रेस, एमाले र माओवादी पटक–पटक सरकारको नेतृत्व गरे पनि पन्छिरहेका छन् ।

१० वर्षे द्वन्द्वमा सत्तामा रहेका र विद्रोह गरेका दुई राजनीतिक दलमात्र होइन सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई चासो र चिन्ता छ । संक्रमणकालीन न्यायलाई टुंग्याउने भन्ने विषयमा नै सत्तारुढ दलहरूबीच मतैक्यता छैन । तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्ष दाहालले संक्रमणकालीन न्याय टुंग्याउने विषयमा कुरा फेर्ने गरेका छन् । ३० चैत २०८१ मा संक्रमणकालीन न्यायसम्बन्धी पुस्तकको विमोचनमा अतिथिका रूपमा सहभागी दाहालले भने, ‘राज्य पक्षले कति मा‍र्‍यो, विद्रोहीले कति के ग‍र्‍यो भन्ने कुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ । तर, के यो आरोप सत्य हो त ?  १७ हजार माओवादीले, अझ आजभोलि त प्रचण्डले मारेको भन्ने ?  मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको कुरै छोडिदिनुस् ।’

सशस्त्र द्वन्द्वमा भएको हिंसात्मक घटनाले आफूलाई कठघरामा उभ्याउने डर सबैभन्दा बढी दाहालमै देखिन्छ । २०७६ माघ १ गते उनले टुँडिखेलमा आयोजित आमसभामा भनेका थिए, ‘हिजोका सामन्त राजाहरूले १२ हजार मारेका हुन् । मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु । तर, हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन । हिजोको युद्धमा भएका राम्रा नराम्रा काममा म जिम्मेवारी लिन्छु । म त्यसबाट भाग्ने हुनै सक्दैन । तर नगरेको कामको दोष पनि मलाई थुपार्नु भएन ।’

आयोगका एक पूर्वअध्यक्षका अनुसार दलका सिफारिसमा नियुक्त पदाधिकारीलाई अनुसन्धानभन्दा जागिरे मानसिकतामा रहने गर्छ । ‘अपराध अनुसन्धान तथा अभियोजन, सत्यको अन्वेषण, क्षतिपूर्ति, संस्थागत सुधार र परीक्षणलगायतका कार्यका लागि आवश्यक पर्ने बजेट र जनशक्ति नै उपलब्ध गराउँदैनन्,’ आयोगका एक पूर्वसदस्य भन्छन्, ‘द्वन्द्वपीडितलाई अल्मल्याउन आयोग गठन र पदाधिकारी नियुक्त गरिएको हो ।’

चुनौती नम्बर ६  :  अन्तर्राष्ट्रिय सहयोग र समर्थन
द्वन्द्वकालीन घटनाको प्रभावकारी अनुसन्धान र अभियोजन गर्नुपर्ने दायित्व एकातिर छ भने अर्कोतिर राष्ट्रिय÷अन्तर्राष्ट्रिय सहयोग र समर्थन हासिल गर्नुपर्ने अर्को पेचिलो चुनौती छ ।


दुई आयोगले गरे १ अर्ब खर्च

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले ९ वर्षको अवधिमा झन्डै १ अर्ब खर्च गरेका छन् । तर, उपलब्धि निराशाजनक भएको द्वन्द्वपीडित बताउँछन् । गत वैशाख ३१ गते सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा गरिएको नियुक्ति विवादित बनेपछि द्वन्द्वपीडित आक्रोशित छन् ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ उजुरी दर्ता भएका छन् । परिपुरण र क्षतिपूर्तिका लागि सिफारिस गरेकोमा २९ जनालाई २३ लाख २० हजार भुक्तानी भएको छ । आयोगको कार्य सम्पादनका लागि २०७४÷७५ देखि २०८०÷८१ सम्म ४७ करोड ८ लाख ९३ हजार खर्च भएको महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । दर्ता गरिएका उजुरीउपर छानबिन गरी उजुरी टुंग्याउन सकेको छैन ।

सत्यनिरुपणको झैं बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पनि करोडौं खर्च गरेको छ । तर, उपलब्धि अपेक्षाकृत छैन । आयोगमा ३ हजार २८८ उजुरी दर्ता भएकोमा ७४६ उजुरी फस्र्यौट भएको छ । आयोगको कार्य सम्पादनका क्रममा आर्थिक वर्ष २०७४÷७५ देखि २०८÷८१ सम्म ३३ करोड ३१ लाख ५१ हजार खर्च भएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी प्रमुख कानुनी व्यवस्था

  •     बेपत्ताा पारिएका व्यत्तिाmको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन
  •     बेपत्ता पारिएका व्यत्तिाmको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग नियमावली, २०७२
  •     अपराधको अनुसन्धान तथा तहकिकातसम्बन्धी प्रचलित कानुन
  •     नेपाल पक्षराष्ट्र भएका मानवअधिकार तथा मानवीय कानुनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धि, प्रोटोकल
  •     नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता २०६३
  •     संक्रमणकालीन न्यायका सम्बन्धमा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्घान्त (नजिर) र निर्देशनात्मक आदेश
  •     नेपालको संविधान (२०७२)

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.