अन्तर्राष्ट्रिय जैविक विविधता दिवसले विश्व समुदायलाई जैविक विविधताको संरक्षणका लागि एकजुट हुन र ठोस कदम चाल्न प्रेरित गर्दछ।
पृथ्वी एक अद्भुत ग्रह हो । जहाँ जीवनको अनगिन्ती रूपहरू फस्टाउँछन् । सूक्ष्म जीवाणुदेखि विशाल ह्वेलसम्म, हरियो वनस्पतिदेखि रंगीन चराहरूसम्म, यो जैविक विविधता नै हो । जसले हाम्रो ग्रहलाई जीवन्त र गतिशील बनाएको छ । यसमा पनि जैविक विविधता, अर्थात् पृथ्वीमा पाइने जीवजन्तु, वनस्पति र सूक्ष्म जीवहरूको विविधता, पारिस्थितिक प्रणालीको स्वास्थ्य र सन्तुलनका लागि अपरिहार्य छ । यसले हामीलाई स्वच्छ हावा, पानी, उर्वर माटो र खाद्य सुरक्षा प्रदान गर्दछ । यसको सांस्कृतिक, सामाजिक र आर्थिक महत्व पनि अतुलनीय छ ।
जैविक विविधताको महत्वलाई उजागर गर्न र यसको संरक्षणका लागि विश्वव्यापी रूपमा जागरुकता बढाउन संयुक्त राष्ट्रसंघले मे २२ लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको रूपमा घोषणा गरेको छ । यो दिन जैविक विविधतासम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरू विशेष गरी जैविक विविधता महासन्धिको स्मरण गराउँछ । यस महासन्धिले जैविक विविधताको संरक्षण, यसका स्रोतहरूको दिगो उपयोग र आनुवंशिक स्रोतहरूको उपयोगबाट प्राप्त हुने लाभहरूको निष्पक्ष र समान वितरणलाई जोड दिन्छ । यसमा पनि नेपाल, भौगोलिक विविधता र विशिष्ट भू–बनोटका कारण विश्वका जैविक विविधताका धनी राष्ट्रहरूमध्ये एक मानिन्छ । यहाँ तराईको उष्ण प्रदेशीय जंगलदेखि लिएर उच्च हिमालयको हिमाली टुन्ड्रासम्मका विभिन्न पारिस्थितिक प्रणालीहरू पाइन्छन् । यस विविधताले नेपाललाई वनस्पति र जीवजन्तुहरूको अनुपम घर बनाएको छ ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको स्थापना जैविक विविधता महासन्धिको उपज हो । यसरी सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनमा यो महासन्धिमा हस्ताक्षर भएको थियो । यस महासन्धिको उद्देश्य पृथ्वीको जैविक विविधताको संरक्षण, जैविक स्रोतहरूको दिगो उपयोग र आनुवंशिक स्रोतहरूको उपयोगबाट प्राप्त हुने लाभहरूको निष्पक्ष र समान वितरण सुनिश्चित गर्नु थियो । यसरी सन् २००० मा संयुक्त राष्ट्रसंघको महासभाले मे २२ लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको रूपमा घोषणा गरेको थियो । यसअघि डिसेम्बर २९ लाई यो दिवस मनाइन्थ्यो । जुन जैविक विविधता महासन्धि कार्यान्वयनमा आएको दिन थियो । तर, धेरै देशहरूका लागि डिसेम्बरको समय उपयुक्त नभएकाले मे २२ लाई यो दिवस मनाउन थालिएको हो ।
यसर्थ, मे २२ को दिन जैविक विविधता महासन्धिको पाठलाई अनुमोदन गरिएको दिन पनि हो, जसले यसको महत्वलाई थप उजागर गर्दछ । फलतः अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाउनुको मुख्य उद्देश्य विश्वभर जैविक विविधताको महत्वबारे जनचेतना अभिवृद्धि गर्नु हो । यस दिन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू, शैक्षिक संस्थाहरू र समुदायहरूले जैविक विविधता संरक्षणसम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गर्दछन् ।
यी कार्यक्रमहरूमा सेमिनार, कार्यशाला, प्रदर्शनी, जनचेतनामूलक र्याली, सरसफाइ अभियान र वृक्षरोपण जस्ता गतिविधिहरू समावेश हुन्छन् । यो दिवस हामीलाई स्मरण गराउँछ कि जैविक विविधता केवल सुन्दर दृश्य र अनौठा जीवजन्तुहरू मात्र होइनन्, बरु यो हाम्रो जीवनको आधार हो । यसले पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न, प्राकृतिक स्रोतहरू प्रदान गर्न र जलवायु परिवर्तनको प्रभावलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्दछ । यसरी जैविक विविधताले कृषि, पर्यटन र औषधि जस्ता क्षेत्रहरूमा ठूलो योगदान पुर्याउँछ । यसको सांस्कृतिक र आध्यात्मिक महत्व पनि गहिरो छ । जुन अन्तर्राष्ट्रिय जैविक विविधता दिवसले विश्व समुदायलाई जैविक विविधताको संरक्षणका लागि एकजुट हुन र ठोस कदम चाल्न प्रेरित गर्दछ । यसले सरकारहरूलाई जैविक विविधता संरक्षणसम्बन्धी नीति र कार्यक्रमहरूलाई प्राथमिकता दिन, निजी क्षेत्रलाई दिगो अभ्यासहरू अपनाउन र आम नागरिकलाई जैविक विविधताको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गर्दछ ।
प्रत्येक वर्ष अन्तर्राष्ट्रिय जैविक विविधता दिवस एक विशेष नाराका साथ मनाइन्छ । यी नाराहरूले जैविक विविधता संरक्षणका विभिन्न महत्वपूर्ण पक्षहरूलाई उजागर गर्दछन् र विश्वव्यापी ध्यान आकर्षित गर्दछन् । उदाहरणका लागि, विगतका वर्षहरूमा ‘हाम्रो जैविक विविधता, हाम्रो खाद्य, हाम्रो स्वास्थ्य’, ‘पानी र जैविक विविधता’, ‘वन र जीविकोपार्जन ः मान्छे र ग्रहलाई दिगो बनाउने’ जस्ता नाराहरू प्रयोग गरिएका थिए । यस वर्ष भने समय सान्दर्भिक सन् २०२५ को नेपाली नारा प्रकृतिप्रतिको सद्भाव र दिगो विकास भन्ने रहेको छ । जैविक विविधताप्रतिका अनेक सम्झौताहरू र सन्धिहरू अनुमोदन गरे पनि कदमहरूमा खासै परिवर्तन नदेखिएका कारण यस वर्षबाट राष्ट्र र राष्ट्र प्रमुखहरूलाई जैविक विविधताप्रति थप जुझारू हुन आग्रह पनि गरिने छ । यी नाराहरूले जैविक विविधता र मानव जीवनबीचको अन्तरसम्बन्धलाई स्पष्ट पार्दछन् ।
नेपाल विश्वको एक सानो तर जैविक विविधताको दृष्टिकोणले अत्यन्तै धनी देश हो । यसको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर छ । यहाँ विश्वको लगभग ३.९ प्रतिशत स्तनधारी प्राणी, ३.७२ प्रतिशत चराहरू, ८.२ प्रतिशत फूल फुल्ने वनस्पतिहरू र २२.२ प्रतिशत कीराहरू पाइन्छन् । भौगोलिक विविधता र उचाइमा आएको तीव्र परिवर्तनले यहाँ विभिन्न प्रकारका जलवायु र पारिस्थितिक प्रणालीहरू सिर्जना गरेको छ ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस हामीलाई प्रकृतिप्रतिको उत्तरदायित्व र हाम्रो भविष्यबीचको सम्बन्ध सम्झाउने अवसर पनि हो । जुन नेपाल जस्तो प्राकृतिक धरोहरले भरिएको देशका लागि जैविक विविधता मात्र सम्पत्ति होइन, जीवनको आधार पनि हो । त्यसैले राज्य, समुदाय, शैक्षिक संस्था, व्यवसायी र सर्वसाधारण सबैले मिलेर जैविक विविधता संरक्षणमा क्रियाशील हुनु अपरिहार्य छ । अतः मानव जातिको सुरक्षित भविष्य सुनिश्चित गर्न जैविक विविधताको रक्षा गर्नुपर्छ । आजको दिनले यही चेतना बोकेको छ ।
प्रतिक्रिया दिनुहोस !