फेवातालको आकाशमाथि पुनः प्याराग्लाइडिङ

फेवातालको आकाशमाथि पुनः प्याराग्लाइडिङ
सुन्नुहोस्

पोखरा : पोखराको आकाशमा हुँदै आएको साहसिक खेल प्याराग्लाइडिङ पहिलेकै ठाउँमा फर्केको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु अघिदेखि उडान र अवतरणको स्थान पहिले भइरहेको ठाउँभन्दा करिब ५ किलोमिटर पर मान्दे्रढुंगा र पामेमा सारिएको थियो । अब फेवाताल माथिको आकाशमा कावा खाँदै ताल किनार चंखपुर र खपौदीमा अवतरण गर्न पाइने भएको छ । प्याराग्लाइडिङका कम्पनीहरूको छाता संगठन नेपाल हवाई खेलकुद संस्थाले सुरुदेखि नै अन्तर्राष्ट्रिय अभ्यास र सुरक्षाका दृष्टिले पुरानै ठाउँबाट उडान र अवतरण  गर्दा कुनै फरक नपर्ने बताउँदै आएका थिए । बिभिन्न देशमै पुगेर यस विषयमा अध्ययनसमेत गरेर टोलीले बारम्बार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सुझाएको थियो । 
उडानको स्थान भने तोरीपानी र मान्द्रढुंगाबाटै हुने क्यानका अधिकारीले बताएका छन् । त्यसैकारण, प्राधिकरणले पुरानै ठाउँबाट उडान भर्न र अवतरण गर्न अनुमति दिएको हो । क्यानले पोखरामा प्याराग्लाइडिङ गर्ने उडानको तालिकामा समेत समय थपेको छ । यसअघि दिउँसो ३ बजेसम्म मात्र उडान भर्न पाइनेमा समय थपेर ४ः३० सम्म उडान भर्न पाइने गरी अनुमति दिइएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले बताए । 
पुरानै ठाउँबाट अवतरण गर्ने अनुमति र समय थप भएसँगै प्याराग्लाइडिङ व्यवसायीहरूको संस्था नेपाल हवाई खेलकुद संस्था र पाइलट क्लबले संयुक्त रूपमा प्यारापाइलटहरूलाई बुधबार नयाँ एयरस्पेस र सुरक्षाका बारेमा अभिमुखीकरण कार्यक्रम पनि गरेका छन् । 

प्याराग्लाइडिङ उडान र अवतरण पहिलेको भन्दा करिब ५ किलोमिटर पर सर्दा व्यवसायमा पनि असर गरेको व्यवसायीले बताउँदै आएका थिए । फेवातालको आकाशमा प्यारा उडेको देखेर नै पोखरामा आउने पर्यटकले प्याराग्लाइडिङ उडानका बारेमा थाहा पाउने र उडानका लागि बुकिङ गर्थे । 
पुन पहिलेकै ठाउँमा सरेपछि व्यवसाय पहिलेकै लयमा फर्कने विश्वास नेपाल हवाई खेलकुद संस्थाका पूर्वअध्यक्ष योगेशबहादुर भट्टराईले गरे । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्याराग्लाईडिङ पुरानै ठाउँमा सार्दा पोखराको शाहासिक खेल पुनः लयमा फर्कने भन्दै खुसी व्यक्त गरे । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एटीसी प्रमुख योगेन्द्र कुँवरले क्यानसँगको छलफल र धेरै अध्ययनपश्चात् ताल किनार खापौदीमा प्याराग्लाइडिङ अवतरणको अनुमति प्राप्त भएको बताए । प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षाको विषयमा कुनै सम्झौता नहुने भन्दै सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले बताए । 

प्याराग्लाइडिङको एकल उडान रोकीएको विषयमा पनि अध्ययन भइरहेको र अध्ययनपश्चात पुनर्निणर्यमा पुगिने एटीसी प्रमुख कुँवरले जनाए । 

पोखरा भ्रमण वर्ष २०२५ का संयोजक तथा पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले प्याराग्लाईडिङ पोखराको पर्यटन उद्योगमा महत्वपूर्ण पक्ष रहेकोले यसलाई प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । 

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले एकल उडान नहुँदा पोखरामा एक्लै उडान भर्न आउने सयौं पर्यटक आउन रोकीएको भन्दै पुनः एकल उडानको अनुमति दिन अनुरोध गरे । 

पोखरामा हाल ५७ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । पोखराको प्याराग्लाईडिङ व्यवसायमा  करिब एक अर्व लागेको नेपाल हवाई खेलकुद संस्थाका पूर्व अध्यक्ष योगश भट्टराईले बताए । प्याराग्लाईडिङ व्यवसायमा २७० जना प्यारापाइलटले रोजगारी पाएको पनि उनले बताए । यति धेरै लगानी र रोजगार दिएको प्याराग्लाइडिङ व्यवसायलाई राज्यले प्रबद्र्धन र विकासमा सहयोग गर्नुपर्ने व्यवसायीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.