रुपन्देहीमा बिहीबारदेखि प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता
भैरहवा : रुपन्देहीमा बिहीबारदेखि प्रदेशस्तरीय ‘सुपर सिक्स कर्पोरेट कप क्रिकेट टुर्नामेन्ट’ प्रतियोगिता हुने भएको छ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर समितिले विभिन्न संस्था र कर्मचारीहरू बीच सु–सम्बन्ध र भातृत्व विकास, क्रिकेट खेलको प्रवर्द्धन लगायत उद्देश्यसहित अगामी जेठ १५ दखि १७ गते तीन दिनसम्म प्रतियोगिताको आयोजना गरेको हो।
समितिले आइतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा सञ्चालन हुने प्रतियोगिता ‘डे’ र ‘नाइट’ दुवै समयमा खेलाइने जनाएको छ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका बैंक, वित्तीय संस्था, बिमा कम्पनी, नेपाल टेलिकम लगायत ३३ वटा टिमको सहभागीता रहने नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष एवं कार्यक्रम संयोजक दीपक गौतमले बताए। उक्त ३३ वटा टिमलाई ११ वटा समूह विभाजन गरिएको छ। प्रतियोगिता लिग र नकआउट दुवै फर्मेटमा खेलाइने उनले जनाए।
उनका अनुसार प्रतियोगिताका विजेता टोलीले नगद ६६ हजार ६ सय ६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन्। यस्तै म्यान अफ द सिरिजले ७ हजार ७ सय ७७ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र अनुशासित टिमले जनही ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !