नागरिकता टोलीको त्रुटिले एक बिरामीको जीवन जोखिममा

नागरिकता टोलीको त्रुटिले एक बिरामीको जीवन जोखिममा
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपणको पर्खाइमा रहेकी सोनी केसी (कार्की)।

काठमाडौं :
नाम     :      सोनी केसी (कार्की)
उमेर     :      २९ वर्ष

समस्या     :      दुवै मिर्गौला फेल
क्याबिन नं     :      ३०६
अस्पताल भर्ना     :     २०८२ वैशाख १५ 
 
टिचिङ अस्पताल महाराजगन्जको नेफ्रोलोजी वार्डमा सोनी केसी मिर्गौला प्रत्यारोपणको पर्खाइमा छिन्। बुहारीलाई अंग (मिर्गौला) दान गर्न सासूआमा (सीता कार्की) पनि तयार छिन्। तर, सासूआमाको नागरिकतामा भएको जन्ममिति त्रुटिले सोनीको मिर्गौला प्रत्यारोपणमा ढिलाइ भइरहेको छ। नागरिकतामा भएको जन्ममिति अनुसार प्रत्यारोपण गर्न अस्पताल प्रशासन र चिकित्सक मान्दैनन्। जन्ममिति सच्याउन पटक–पटक धाउँदा पनि जिल्ला प्रशासन कार्यालय मोरङले मानेन । त्यसैकारण सोनीको मिर्गौला प्रत्यारोपणमा अलमल भइरहेको छ ।  

आमा—छोराको उमेर ७ वर्ष मात्रै फरक !
आमा—छोरा बीचको जन्ममिति फरक कति हुन्छ ? जो कोहीले भन्छ, ‘औसतमा २० वर्ष।’ तर, बुहारीलाई मिर्गौला दिन तयार रहेकी सीता र उनका छोरा रमेश कार्कीबीच नागरिकताअनुसार उमेर फरक छ, ‘७ वर्ष मात्रै।’ 

आमा छोराबीचको यहीं ७ वर्ष फरकको जन्ममितिको नागरिकता बनेकाले मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकहरू पछि हटेका हुन्। नागरिकतामा सीताको जन्ममिति २०३७ साल उल्लेख छ। छोरा रमेश कार्कीको नागरिकतामा जन्ममिति २०४४ माघ २९ छ। छोरा रमेशको नागरिकता २०६६ कात्तिक १३ गते जारी भएको थियो। सीताको २०७० जेठ १० गते जारी भएको हो।  

घरमै पुगेको नागरिकता टोलीले हचुवाका भरमा आमाको जन्ममिति राखिदिएको छोरा रमेशको दाबी छ। ‘नागरिकता टोलीले कति वर्षको हुनुभयो ? भनेर सोधेको बेला आमाले ४७ वर्ष भन्नुभएको रहेछ। टोलीले के सुन्यो, खोइ ? २०३७ साल जन्ममिति राखेर नागरिकता बनाइदिए छ,’ रमेशले भने, ‘आमाले पढ्न—लेख्न जान्नुभएको छैन। बनाएको नागरिकता हेर्नु पनि भएन छ।’ नागरिकता टोलीले गरेको त्रुटिका कारण कार्की परिवार तनाव छ। 

मिर्गाैला प्रत्यारोपण हुन नसकेपछि डायलाइसिस गर्दै सोनिको जीवन लम्ब्याउने काम गरिरहेको छ। ‘आमाको नागरिकता बनाइदिन घरै आएको टोलीले गरेकोे गल्तीको सजाय हामीले कहिलेसम्म भोग्ने ? ’ रमेश भन्छन्, ‘सबै परीक्षण भइसकेको छ। हामी मिर्गौला प्रत्यारोपणको पर्खाइमा छौं।’ 
आमाको नागरिकतामा भएको त्रुटिबारे अस्पतालका कार्यकारी निर्देशक प्राडा.सुवास आचार्यले अस्पतालका कानुनी सल्लाहकार नारायण खनालसँग छलफल गरे। तर, पनि समाधान भएको छैन। अस्पतालले भनेको छ, ‘कि नागरिकता फेक हो कि मान्छे फेक ! कि नागरिकता सच्याउनु पर्‍यो कि त डिएनए जाँच गर्नु पर्‍यो !’

श्रीमान्— श्रीमतीबीच २१ वर्ष फरक ।
 नागरिकता टोलीले कतिसम्म त्रुटि गरेको छ भने श्रीमान्—श्रीमतीबीचको उमेर नै २१ वर्ष फरक छ। संखुवासभामा जन्मेकी सीताको विवाह पछि नागरिकता बनेको हो। २०१६ कात्तिक ५ को जन्ममिति रहेको छ, श्रीमान् रत्नबहादुर कार्कीको। पत्नी सीताको जन्ममिति छ, ‘२०३७ कात्तिक ७। छोरा रमेश भन्छन्, ‘नागरिकता बनाइदिन टोली घरमै आएको बेला बनाइदिएको त्रुटिपूर्ण नागरिकता सच्याउन खोज्दा पनि मोरङका सीडीओले सच्याइदिन मानेनन्।’

सीडीओको आनाकानी
रमेशले आफ्ना बुवा, आमा र आफूबीचको नाता प्रमाणित गराउन विभिन्न सरकारी निकाय धाए। मोरङ, कानेपोखरी गाउँपालिका—५ (वडा कार्यालय)ले सर्जमिन मुचुल्का गर्‍यो। रत्नबहादुर, सीता र रमेशबीचको नाता प्रमाणित भयो। मोरङ, कानेपोखरी गाउँपालिकाले पनि नाता प्रमाणित गरेको सिफारिस दियो। इलाका प्रशासन कार्यालय उर्लाबारीले पनि सिफारिसअनुसार नाता प्रमाणित गर्‍यो।

सबै डकुमेन्ट लिएर रमेश जिल्ला प्रशासन कार्यालय मोरङ पुगे। नागरिकता सच्याउन माग गर्दै निवेदन दिए। तर, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नागरिकताको जन्ममिति सच्याउन आनाकानी गरे। रमेश भन्छन, ‘आफूलाई जन्मदिने आमाको नागरिकता सच्याउन खोज्दा फेक भन्ने दोष लगाए। नागरिकता सच्याइदिएनन्। जो जससँग सम्बन्धित छ भन्दै नाता प्रमाणित मात्र गरिदिए।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.