राति बिरामी बोक्न मान्दैनन् एम्बुलेन्स

राति बिरामी बोक्न मान्दैनन् एम्बुलेन्स

महेन्द्रनगर : शुक्रबार राति कञ्चनपुरको बेदकोट–७ सुडाका शेरसिंह सार्कीकी १६ वर्षीया छोरी घरको छतबाट लडेर घाइते भइन् ।

उनले राति नै छोरीलाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगे । आकस्मिक कक्षमा भर्ना गरियो । तर, चिकित्सकले थप उपचार सम्भव नभएको भन्दै अन्यत्र लैजान सार्कीकी छोरीलाई रेफर गरिदिए । त्यति बेलासम्म रातको १ बजिसकेको थियो । चिकित्सकले रेफर गरेपछि धनगढी लैजान सार्की एम्बुलेन्स खोज्न थाले । तर, एम्बुलेन्स पाएनन् । 

‘डाक्टरले रेफर गरेपछि मैले अस्पतालमा उपलब्ध भएका करिब १० वटा एम्बुलेन्सलाई फोन गरेँ’, सार्कीले भने, ‘कसैले पनि आउन मानेनन् । कसैले म आउन सक्दिनँ भने त कसैले मेरो समय छैन भने ।’ उनले एम्बुलेन्सका लागि थुप्रै पटक प्रयास गर्दासमेत एम्बुलेन्स पाउन नसकेको गुनासो पोखे ।  ‘छोरीको पेट धेरै नै दुखेको थियो, अस्पतालले रेफर गरिदियो । अन्त जान एम्बुलेन्स पाइएन । त्यो दिन धेरै दुःख पाइयो’, उनले दुखेसो पोख्दै भने, ‘हामीले फोन गर्दा एम्बुलेन्स नआएपछि अस्पतालमा रहेको प्रहरीलाई भन्यांै । प्रहरीले फोन गर्दा पनि एम्बुलेन्स आउन मानेनन् ।’ 

करिब डेढ घण्टापछि प्रहरीको सहयोगमा बेदकोट नगरपालिकाको एम्बुलेन्स आयो । त्यति बेलासम्म रातिको साढे तीन बजेको सार्कीले बताए । ‘प्रहरीको सहयोगमा एम्बुलेन्स पाएपछि उपचारका लागि धनगढी गयौं’, उनले भने, ‘धन्न छोरीलाई केही भएन । नत्र त एम्बुलेन्स नपाएरै मान्छेको ज्यान तलमाथि हुन सक्छ ।’

अस्पताल स्रोतका अनुसार रातिको समयमा एम्बुलेन्सहरू बिरामी बोक्न मान्दैनन् ।  सोही दिन एकजना अर्का बिरामीसमेत एम्बुलेन्स नपाएर समस्यामा परेको अस्पताल स्रोतको दाबी छ । ‘यहाँबाट रेफर भएपछि बिरामीका आफन्तले एम्बुलेन्सलाई फोन गरे तर आउन मानेनन्’, अस्पताल स्रोतले भन्यो, ‘प्रहरीले फोन गर्दा पनि धेरैले फोन उठाएनन् । फोन उठाएकाहरूले पनि आउन मानेनन् ।’

अस्पताल स्रोतका अनुसार बिरामीका आफन्तले फोन गर्दा प्रहरीको गाडी बोलाउन र आइन्दा आपूmलाई फोन नगर्न भन्दै एम्बुलेन्स चालकले उल्टै धम्की दिने गरेका छन् । भीमदत्त नगरपालिकामा सञ्चालनमा रहेका एम्बुलेन्सहरूले बिरामी बोक्न नमानेपछि बेदकोट नगरपालिकाबाट एम्बुलेन्स बोलाएर बिरामी ओसारपोसार गर्नु परेको महाकाली अस्पताल स्रोतको भनाइ छ । 

एम्बुलेन्स सञ्चालक संस्था र चालक यसप्रति जिम्मेवार नहुँदा बिरामीले सास्ती खेप्नुपरेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिकामा  विभिन्न संघ, संस्थाका  १६ वटा एम्बुलेन्स सञ्चालनमा छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ४४ वटा एम्बुलेन्सहरू सञ्चालनमा छन् । 

प्रमुख जिल्ला अधिकारीको अध्यक्षता र स्वास्थ्य कार्यालय प्रमुख सदस्य सचिव रहने गरी जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति रहेको छ । कञ्चनपुर प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले एम्बुलेन्स चालकले बिरामी बोक्दिनँ भनेर भन्न नपाइने बताए । ‘एम्बुलेन्स भनेको विशिष्टीकृत सेवा हो । चालकले जान्न भन्न पाउँदैनन्’, प्रजिअ ढकालले भने, ‘छिट्टै बैठक बोलाएर यसको समाधानमा लाग्छौं ।’ महाकाली अस्पतालका दुइटा एम्बुलेन्स छन् । ती दुवै एम्बुलेन्स बिग्रिएर थन्किएका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.