सार्वजनिक यातायात ठप्प भएपछि प्रहरीले चलायो नि:शुल्क बस, कुन-कुन रुटमा चल्दैछन् ?
काठमाडौं : व्यवसायीले सार्वजनिक यातायात ठप्प पारेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न दुईवटा रूटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बस काठमाडौं,भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्ने प्रहरीले जनाएको छ ।
नक्सालबाट बालुवाटार, महाराजगन्ज, नयाँ बसपार्क, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल रुटमा बस चल्नेछ । यस्तै नक्सालबाट रातोपुल, गौशाला, एयरपोर्ट, काटेश्वर, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, महाराजगन्ज, बालुवाटार हुँदै नक्सालसम्को रुटमा पनि प्रहरीको बस चल्नेछ ।
यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले मनपरी भाडा असुल्न थालेका छन्। मनपरी भाडा असुलेको गुनासो आएपछि प्रहरीले यात्रुसँग बढी भाडा नलिन विभिन्न राइड सेयरिङ कम्पनीका राइडरहरूलाई निर्देशन दिएको छ । बढी भाडा लिने र अफलाइन यात्रु ओसार्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्तो निर्देशन दिएको हो । यात्रुसँग बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिन प्रहरीले अनुरोध गरेको छ ।
राइड सेयरको विरुद्धमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात बन्द गरेर विरोधमा उत्रिएका छन्। जसले गर्दा लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चलेका छैन। सार्वजनिक यातायात नचल्दा सर्वसाधारण मर्कामा परेका छन्।
प्रतिक्रिया दिनुहोस !