हङकङसँग मैत्रीपूर्ण खेल खेल्न जाने फुटबल टिमको बिदाइ
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बिदाइ गरेको छ। सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायत एन्फा पदाधिकारीले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बिदाइ गरेका हुन्।
नेपालले यही जुन ५ मा हङकङसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने छ भने त्यसपछि एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँग जुन १० मा उसैको घरेलु मैदानमा नेपालले खेल्नेछ।
बिदाइ कार्यक्रममा खेलकुदमन्त्री चौधरीले नेपाली टोलीसँग राष्ट्रले गरेका आशालाई पुरा गर्नका लागि उच्च मनोबलका साथ मैदान उत्रन आग्रह गरे। उनले खेलाडीको निकासका लागि सरकारले पहिलो तुलनामा बजेट बढाउँदै लगेको जानकारी दिए।
खेल र खेलाडीको विकासका लागि सरकार सदैव गम्भीर रहेको मन्त्री चौधरीले बताए। सोमबारै एन्फाले २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस !