भिजिट भिसा प्रकरणको अनुसन्धान : माओवादीको अडान कायमै, कांग्रेस–एमाले संसद् जसरी पनि चलाउने पक्षमा
संसद्को गतिरोध खुलाउन ३ शीर्ष नेताको पहल
काठमाडौं : प्रतिनिधिसभामा देखिएको गतिरोध हटाउने विषयमा तीन शीर्ष नेताले पहल थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूबीचमा संसद्को अवरोध खुलाउने विषयमा छलफल भएको छ । नेकपा माओवादी केन्द्रले आफ्नो अडान कायमै राखेपछि छलफल निश्कर्षविहीन भएको छ ।
जेठ ७ गतेदेखि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरूले संसद अबरोध गरिरहेका छन् । तर, सत्तापक्ष भने मंगलबारबाट जसरी पनि संसद् सुचारु गर्ने पहल गरिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायतको सहभागिता थियो । शीर्ष दलकै बैठकभन्दा अघि प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटेका थिए । एकीकृत समाजवादी भने गृहमन्त्री लेखकको कुरा सुन्नुपर्ने बताउँदै आएको छ ।
शीर्ष नेताको छलफलपछि माओवादी केन्द्र प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने आफ्नो पार्टीको अडानबारे शीर्ष बैठकमा जानकारी गराएको बताए ।
उनले भने, ‘हामीले जुन विषयवस्तु राखेका छौं । त्यो यथावत् नै छ । सुशासनलाई केन्द्रित गरेर अघि राख्नुपर्छ भनेका छौं । जुन कुरा हामीले सदनमा राखेका छौं । त्यही विषयवस्तु हो ।’ उनले भिजिट भिसामा भएको गडबडी हल गर्न गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने विषय बैठकमा राखेको बताए । उनले भने, ‘भिजिट भिसामा जसरी गडबड भएको छ, त्यसलाई गृहमन्त्रीज्यूले हल गर्नका लागि अनुसन्धान गर्न मार्ग प्रशस्त गर्नुपर्छ भनेर भनेका छौं ।’
प्रधानमन्त्री ओलीले भने पछिल्लो समयमा राजावादीको नाम व्यवस्थाप्रति नै आक्रमण भइरहेकाले गणतन्त्रवादीहरू मिली सदन खोलेर प्रतिवाद गर्नुपर्ने बताएका थिए । माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले संसद् खोलेर अघि बढ्न आग्रह गरेको सुनाए । उनले भने, ‘अब राजीनामा होइन संसद् खोलेर अघि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो ।’ छलफलमा भिजिट भिसाको विषयमा कर्मचारीको कुरा भएकाले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने प्रधानमन्त्रीलगायत सत्तारूढ दलका नेताहरूले कुरा राखेका थिए ।
प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले मंगलबारदेखि संसद् चल्ने विश्वास व्यक्त गरे । तीन दलका शीर्ष नेताहरूको छलफलपछि उनले भने, ‘हामी आशामा छौं संसद् चल्छ । र, कम्तीमा माओवादीका साथीले त्यो विचार गर्नुहुन्छ । अरूलाई पनि विचार गर्न उत्प्रेरित गर्नुहुन्छ । हाम्रो विचारमा आजदेखि संसद् चल्छ ।’ संसद् अवरोध हटाउनका लागि माओवादी केन्द्रलाई आग्रह गरिएको बताउँदै यस विषयमा अरू दलसँग छलफल गर्ने माओवादीले बताएको उनले जानकारी दिए ।
माननीयज्यूहरू तयार भएर बस्नुस्, सदन चल्छ : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन् । एमालेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले मंगलबारदेखि संसद्का नियमित गतिविधि सञ्चालन हुने बताए ।
‘नियमित संसद् चलाउ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जी कुरा गर्न खोजे तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सधैं चल्दैन । संसद् यस्ता नचाइने कुरामा सधैँ बन्द हुँदैन’, उनले भने । उनले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कारण अहिलेसम्म नदेखिएको बताए । उनले एमाले सांसदहरूलाई मंगलबारबाट सदन चलाउन तयारी अवस्थामा रहन पनि निर्देशन दिए ।
‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन,’ उनले भने, ‘त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन । माननीयज्यूहरू तयार भएर बस्नुस् । सदन चल्छ ।’
प्रधानमन्त्री ओलीले सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुँदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने बताए ।
खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्ण रूपमा आफ्ना कुरा राख्न सांसदहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई संसदीय गतिविधिलाई महत्व दिन निर्देशन दिए । अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरूले विरोध गरिरहेका बेलाबेग्लै चुनौतीको अवस्थामा बजेट आएको उल्लेख गर्दै उनले राजतन्त्र बहसको विषय नै नभएको बताए ।
गृहमन्त्री राजीनामाकै अडानमा माओवादी केन्द्र
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायम नै राखेको छ । संसदीय दलको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान प्रतिपक्षहरूको रहेको बताए । ‘छानबिन माग गरेको हो । गृहमन्त्री दोषी कसैले भनेको छैन’, उनले भने, ‘तर छानबिन अगाडि उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ भन्ने निर्णय भएको छ ।’
उनले कर्मचारीको अस्वाभाविक सरुवा लगायतका प्रक्रियाले पनि गृहमन्त्री लेखकलाई विवादमा तानेको पनि बताए । उनले भने, ‘गृहमन्त्रीले पठाएको बदनाम सहसचिव त्यहाँ जाने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने, उहाँकै सचिवालयका मान्छे यस्तै केसमा परेकाहरू हुने, फेरि सरुवा गर्ने जस्ता अस्वभाविक प्रक्रियाहरूले उहाँलाई पनि यो विवादमा तानेको छ ।’ माओवादी केन्द्रसहित रास्वपा पनि गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् सुचारु हुन नदिने पक्षमा छ । कार्यदलका सदस्य सचिव रवीन्द्र आचार्यले कार्यदलले छलफल सुरु गरिसकेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !