करोडौं लगानीका ३ चिस्यान केन्द्र प्रयोगविहीन
प्यूठान : झिमरुक गाउँपालिका–३ आहालखोलाका किसानहरू चिस्यान केन्द्र (कोल्ड स्टोर)का लागि उत्पादनहरू दाङको लमही लैजाने गर्छन् । राम्रो आलु उत्पादन हुने यस क्षेत्रका किसानहरू आलुको बिउ भण्डारणका लागि दाङ पुर्याउनुपर्ने बाध्यता छ ।
जिल्लामा निर्माण भएको चिस्यान केन्द्रहरू सञ्चालन हुन नसक्दा किसानहरूले सास्ती व्यहोर्नु परेको छ । ‘यहाँको करिब ९० किसानले आलुको बिउ सुरक्षाका लागि राप्ती कोल्ड स्टोर लमही लैजाने गरेका छौं’, स्थानीय नवीन केसीले भने, ‘दाङ पुर्याउनु पर्दा खर्चिलो भएको छ ।’ यहाँ विशेष गरी टिपेक्ससँगै कार्डिनल र सजिता जातका आलु उत्पादन हुन्छ । आहालखोलाका किसानहरूले मात्र यस वर्ष १६ मेट्रिकटन आलु चिस्यान केन्द्रका लागि दाङ पुर्याएका छन् ।’
प्रतिकिलो ५ रुपैयाँ कोल्ड स्टोरको खर्चसँगै ढुवानी खर्चले गर्दा किसान मर्कामा परेका छन् । ‘पहिले जिल्लामा कोल्ड स्टोर नबन्दा सरकारी निकायहरूबाट ढुवानीबापत सहयोग किसानले पाउने गरेका थियौं’, केसीले अन्नपूर्णसँग भने, ‘जिल्लामा कोल्ड स्टोर बनेको छ, तर किसानले उपयोग गर्न पाएका पनि छैनन्, सहयोग पनि पाउन छोडेको छ ।’
बाध्यताले बिउका लागि टाढा लैजाने यहाँका किसानहरू जिल्लामै चिस्यान केन्द्र सञ्चालनमा आएमा व्यापारका लागि समेत सहज हुने बताउँछन् । वैशाख महिनाको मध्यतिर कोल्ड स्टोरमा बिउका लागि किसानहरूले लैजाने आलु भदौ मसान्तदेखि असोज मध्यसम्ममा ल्याउने गर्छन् ।
प्यूठानका तीन स्थानमा करोडौं खर्च गरेर निर्माण भएका चिस्यान केन्द्र (कोल्ड स्टोर) प्रयोगविहीन छन् । गुणस्तरीय प्रविधिको प्रयोग नगरी चिस्यान केन्द्र निर्माण हुँदा प्रयोगविहीन बनेका हुन् ।
जिल्लामा माण्डवी गाउँपालिका, प्यूठान नगरपालिका र झिमरुक गाउँपालिकाले चिस्यान केन्द्र स्थापना गरेका छन् । करोडौंको लगानीमा निर्माण सम्पन्न भएका चिस्यान केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा पूर्ण रूपमा प्रयोगविहीन भएका हुन् ।
माण्डवी गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा २०७७ सालमा एक सय टन क्षमताको चिस्यान केन्द्र निर्माण गरेको छ । वडा नं. ३ देवीस्थानमा १ करोड १२ लाख ५८ हजार रुपैयाँ लागतमा केन्द्र निर्माण भए पनि चिस्यान केन्द्र प्रयोगविहीन छ । प्यूठान नगरपालिका–४ बिजुबारमा लुम्बिनी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा एक सय टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको ९० लाख र प्यूठान नगरपालिकाको ५९ लाख रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण भएको हो । २०७८ जेठ १ गतेदेखि सञ्चालनमा ल्याइए यो चिस्यान केन्द्र किसानले उपयोग गर्न पाएका छैनन् । किसानले राखेका आलु, प्याजका बिउ चिस्यान केन्द्रमै उम्रिन थालेपछि केन्द्र बन्द भएको हो ।
जिल्लामै झिमरुक गाउँपालिकाले २ करोड १४ लाख रुपैयाँको लागतमा २०८० सालमा चिस्यान केन्द्र निर्माण सम्पन्न गरेको छ । चिस्यान केन्द्र निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन । थप प्रविधिहरू जडान गरी सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले बताए ।
कार्वनडाइअक्साइट कन्ट्रोल गर्ने कार्बन डम्पर, आद्रतालाई नियन्त्रण गर्ने क्युमिफागर, हावाको नियन्त्रण गर्ने तथा मिलाउने एयर चेन्टर, विद्युत् कन्ट्रोल गर्ने स्टेपलाइजरजस्ता प्रविधिको जडान गरेका चिस्यान केन्द्र सञ्चालन गर्ने योजना रहेको उनले बताए । अन्य ठाउँहरूको अनुभव लिएर समेत केन्द्र सञ्चालन गर्नका लागि प्रदेश सरकारबाट समेत प्राविधिक सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकारले लागत साझेदारी गरे पनि प्राविधिक सहयोग नगरेकोले स्थापना गरिएका चिस्यान केन्द्रहरू सञ्चालन आउन नसकेको सरोकारवाला बताउँछन् । जिल्लामा पालिका अनुसार छुट्टाछुट्टै चिस्यान केन्द्र स्थापना गर्नुभन्दा एउटा राम्रो र प्रभावकारी चिस्यान केन्द्र आवश्यक रहेको किसानहरूले बताए । किसानका उत्पादनहरू चिस्यान केन्द्रमा राख्न पाएमा बेमौसममा राम्रो आम्दानी गर्न सकिने उनीहरूको भनाइ छ । चिस्यान केन्द्र नहुँदा किसानहरूलाई लागत उठानसमेत हम्मेहम्मे परेको नवीन केसीले बताए ।
प्रतिक्रिया दिनुहोस !