प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु
तस्बिर : अन्नपूर्ण

विराटनगर : मोरङमा एकजना थुनुवाको मृत्यु भएको छ। अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेका थुनुवाको मृत्यु भएको हो । झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार श्रेष्ठलाई अनुसार अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा राखिएको थियो । उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा बिहान ११:३० बजेतिर मृत्यु भएको जोशीले बताए । 

प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन जेठ १५ गते म्याद थप गरेर श्रेष्ठलाई हिरासतमा राखी अनुसन्धानको थप प्रक्रिया अघि बढाएको थियो । डीएसपी जोशीका अनुसार एक्कासी ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहान ९:२० बजेतिर कोशी अस्पताल लगिएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । हिरासतमै रहेका बेला बारम्बार बिरामी पर्ने गरेपछि यसअघि पनि प्रहरीले उनलाई उपचारका लागि अस्पताल लगेको थियो । 

प्रहरीका अनुसार लागुऔषध सेवनकर्तासमेत रहेका श्रेष्ठ लामो समयदेखि परिवारको सम्पर्कमा नरहेको पत्ता लागेको छ । उनी अपराधिक पृष्ठभूमिका व्यक्तिसमेत हुन् । डीएसपी जोशीका अनुसार श्रेष्ठविरुद्ध यसअघि विभिन्न प्रहरी कार्यालयबाट ४ पटक मुद्दा चलिसकेको रेकर्ड छ । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी,झापाको इलाका प्रहरी कार्यालय दमक, मोरङको इलाका प्रहरी कार्यालय पथरी र जिल्ला प्रहरी कार्यालय मोरङबाट उनीविरुद्ध यसअघि मुद्दा चलिसकेको थियो । 

यसअघि ३ पटक लागुऔषध ऐन र १ पटक अभद्र व्यवहारअन्तर्गतको मुद्दा चलेको जोशीले बताए । उनले भने,‘यसअघि ४ पटक मुद्दा चलिरहेको रहेछ । अहिले पाँचौं पटक मुद्दा चलाउन अनुसन्धान जारी रहेका बेला बिरामी परेर अस्पताल भर्ना गरेर उपचार जारी रहेका बेला श्रेष्ठको मृत्यु भयो ।’ 

पछिल्लो पटक विराटनगरमै साइकल चोरी गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । साइकल चोरी गर्न खोजेको देखी साइकलका धनी पुग्दा हातपात र दुव्र्यवहार गरेको भनेर किटानी जाहेरी परेपछि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको प्रहरीको भनाइ छ । शवलाई कोशी अस्पतालमै राखिएको छ । मृतकका आफन्तलाई खबर भइसकेको र उनीहरु आइसकेपछि थप प्रक्रिया अघि बढ्ने जानकारी डीएसपी जोशीले दिए ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.