कालिकोटको मुम्रा बालविवाह निषेधित वडा
कालिकोट : जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका-८ मुम्रालाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । 'नगरौं बिहेको कुरा,भएको छैन २० वर्ष पूरा' भन्ने नाराका साथ जिल्लाका सरोकारवाला,अभिभावक, बालबालिका र किशोरकिशोरीको सहभागितामा बालविवाह निषेधित वडा घोषणा गरिएको हो ।
सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले शिक्षा,स्वास्थ्य,पोषण तथा संरक्षणमा बाल विवाहले प्रतिकूल असर परेकाले सान्नीत्रिवेणी गाउँपालिकालाई दुई वर्षभित्र बालविवाहमुक्त पालिका घोषणा गर्न अभियान सुरू गरेको बताए। 'बालविवाह जस्तो सामाजिक कुप्रथाले बालबालिकाको जीवन नै अन्धकारमा पुर्याएको छ,' उनले भने,'उमेर नपुगी बिहे गरेका किशोरीहरू कुपोषणको मारमा छन् । सामाजिक, सांस्कृतिक,आर्थिकरुपमा कमजोर छन्।'
बालअभियान्ता तथा अधिवक्ता खडानन्द चौलागाईले गाउँमा कसैले पनि बालविवाह नगर्ने नगराउने प्रतिबद्धतासहित बाल विवाह निषेधित वडा घोषणा गरिएको बताए। उनले भने,'बालविवाह कानुनी र सामाजिक अपराध हो,'देवीदेवतालाई साक्षी राखेर सबैले प्रतिबद्धता गरेका छौं । अब जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको ८ नम्बर वडामा कसैले पनि २० वर्ष नपुगी विवाह गर्ने छैनन् । '
सामाजिक अभियन्ता बलिराजा शाहीले चार वर्षअघिसम्म ६८ प्रतिशत बाल विवाह रहेको मुम्रामा प्लानसहितका संघसंस्थाको सहयोगमा अभियान सञ्चालन गरेपछि २०८१ को चैतमा १० प्रतिशतभन्दा कम पाइएपछि वडालाई बालविवाह निषेधित घोषणा गरिएको बताए। 'हालसम्म सान्नीत्रिवेणीको ७ र ८ नम्बर वडा बालविवाह निषेधित वडा घोषणा भइसकेका छन् । अब ७ वडा बाँकी रहेपनि निकट भविष्यमा बालविवाह निषेधित वडा घोषणा हुनुपर्छ । '
सान्नीत्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सञ्ज्यालले बालविवाह निषेधित वडा घोषणापछि पालिकाले किशोरकिशोरीको शिक्षाका लागि लगानी गर्ने बताइन्। सान्नी त्रिवेणी-१ का वडाध्यक्ष वैकुण्ठ गिरी,वडा नम्बर ३ का अध्यक्ष रङ्गलाल देवकोटा,वडा नम्बर ८ का अध्यक्ष नौलासिंह बुढालगायतका सरोकारवालाहरूले बालविवाह गर्नेलाई सामाजिक बहिष्कार गर्ने प्रतिवद्धता गरे ।
प्रतिक्रिया दिनुहोस !