नेपाली महिला टिममा परिवर्तनको आशा बोकेर आएका प्रशिक्षक पेट्रिक

नेपाली महिला टिममा परिवर्तनको आशा बोकेर आएका प्रशिक्षक पेट्रिक

काठमाडौं : नेपाली महिला फुटबल टिमले प्रो लाइसेन्स प्रशिक्षक पायो। बेल्जियन प्रशिक्षक पेट्रिक डे वाइल्ड नेपाली महिला टिमको प्रमुख प्रशिक्षकको रूपमा भित्रिएका छन्। उनले नेपाली महिला फुटबल टिममा केही परिवर्तन गर्छु भन्दै आएका छन्। 

हालसम्म कुनै पनि ठूलो उपाधि हात नपारेको नेपाली महिला फुटबल टिमलाई रजतको भारी पदकबाट माथि उठाउँछु भनेर पेट्रिक नेपाल आएका हुन्।

उनले नेपाली महिला टिमको प्रमुख प्रशिक्षक नियुक्त भएपश्चात पहिलो मिडियासँगको अन्तरक्रियामा चुनौतीसहितको अवसरका लागि आफू तयार रहेको बताए। ‘म नयाँ चुनौती लिन तयार छु,’ उनले भने। 

नेपाली महिला टिमले शनिबारबाट उनको प्रशिक्षण सुरु गर्नेछ। उनी भन्छन्, ‘३ हप्ता मेरो रणनीति नेपाली महिला फुटबलमा लागू गर्न काफी समय हो।’ नेपाली महिला टिमले उज्जवेकिस्तानमा एएफसी एसियन कप छनोट खेल्न ३ हप्ताको समय बाँकी रहँदा नेपाली टिमका लागि पेट्रिकले संकट मोचकको भूमिका निर्वाह गर्न सक्लान् भन्ने प्रश्नसँगै झिनो आशा पनि जोडिएको छ। 

हालसम्म बेल्जियम, चीन, हंगेरी, अल्गेरिया र लुथेनियाजस्ता देशहरूको राष्ट्रिय टिमसँग जोडिएका ६१ वर्षीय प्रशिक्षकलाई नेपालमा भावनाले तान्यो । उनले यसअघि नेपालको पुरुष टिमको लागि प्रशिक्षकमा आवेदन दिएका थिए। उनी छनोट भएनन्। त्यसपछि पुनः नेपालले महिला टिमको लागि प्रो लाइसेन्स प्रशिक्षकको आवेदन खुलाउना साथ उनले आवेदन पेस गरे। उनी भन्छन्, ‘मलाई नेपालमा भावनाले तान्यो। यहाँको फुटबल संघसँग देशको लागि फुटबल खेल्ने र खेलाउने कुराहरूमा छलफल भयो। मलाई यहाँ निकै राम्रो भावनाहरू जोडिए।’

उनले यसअघि जति पनि टिमसँग काम गरे त्यो सबै पुरुष फुटबल टिम रहेका थिए। पेट्रिकले पहिलो पटक महिला टिमसँग काम गर्नेछन्। 

महिला टिममा पेट्रिकले चाहेको परिवर्तन
नेपाली महिला टिममा प्रमुख प्रशिक्षकको रूपमा पेट्रिक भित्रिएसँगै उनले टिममा परिवर्तन ल्याउने बताएका छन्। उनी भन्छन्, ‘नेपाली महिला फुटबल टिमले नतिजा ल्याउने हो भने केही परिवर्तनहरू आउनुपर्छ। केही पनि परिवर्तन भएन भने म आएको काम छैन।’ 

उनले पहिलो अन्तरक्रियामै परिवर्तनको कुरा गरेपछि कस्तो परिवर्तन भन्ने प्रश्न सोधियो। त्यसमा उनी भन्छन्, ‘खेलाडी छनोटको प्रक्रिया, प्राविधिक टिमहरूपरिवर्तन हुनुपर्छ। हामी क्षमतावान् टिम चाहन्छौं। यसो भन्दै गर्दा हामी वास्तविकतामा आधारित भएर सोच्नेछौं। जसमा कसरी परिवर्तन ल्याउने, के कस्तान कुरा परिवर्तन हुने र कुन ढंगबाट हुने त्यो अलि पछि थाहा हुनेछ।’

उनले नेपाली महिला टिमको बारेमा जानकारी संकलन गरेका छन्। उनले पछिल्लो समय थाइल्यान्डसँगको खेललाई उनले नजिकबाट नियाले। उनी भन्छन्, ‘सबै खेलाडीले खेलिरहेका थिएनन्।’ यसको मतबल थियो नेपाली राष्ट्रिय टिममा पेट्रिकले केही परिवर्तन भन्नुको अर्थ खेलाडी परिवर्तन र टिममा केही नयाँ खेलाडीको आगमन पनि हुन सक्छ। 

उनी नेपाल आएको २ दिन भयो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनलाई बिहीबार प्रमुख प्रशिक्षक नियुक्त गर्‍यो। उनले शुक्रबार यु-२० को खेल हेरे। जसमा उनले खेलाडीलाई नियाल्दै उनीहरूको क्षमता हेरेको बताए। ‘मैले यु-२० को पनि खेल हेरें। यो टिममा पनि धेरै सम्भावना बोकेको खेलाडीहरु छन्।’ 

नेपाली महिला फुटबल टिममा केही खेलाडीहरु विदेशमा पनि खेलिरहेका छन्। जसले नेपाली महिला फुटबलको स्तरोन्नतितर्फ अघि बढाउने कुरामा नवनियुक्त प्रशिक्षक डे सहमति जनाउँछन्, ‘राष्ट्रिय टिममा खेलेका खेलाडी बाहिर लिग खेल्नु निकै सकारात्मक कुरा हो। म अन्य खेलाडीहरू पनि विदेशमा खेलेको हेर्न चाहन्छु।’

एन्फाको पेट्रिक दर्शन
एन्फाले नयाँ प्रशिक्षक पेट्रिकसँग १ वर्षको सम्झौता गरेको छ। २१ जना विदेशी प्रशिक्षकबाट सर्टलिष्टमा पर्दै उनले २० जनालाई पछि पार्दै हालः राष्ट्रिय टिमको नियुक्ति पाएका हुन्। 
एन्फाका प्राविधिक निर्देशक हरि खड्का भन्छन्, ‘उहाँ अन्य प्रशिक्षकभन्दा नेपालमैत्री भएको कारण उहाँलाई अनुबन्ध गरेका हौं।’ 

हरि खड्का आफैंले पनि नेपाली महिला फुटबल टिमलाई निकै नजिकबाट नियालेका छन्। जसका कारण उनले नेपाली महिला फुटबलको विकासका लागि पेट्रिक अन्यभन्दा उपयुक्त रहेको तर्क राखे। ‘उहाँभन्दा हाइ प्रोफाइलको पनि प्रशिक्षकहरू हुनुहुन्थ्यो। तर, उहाँहरूको अपेक्षा निकै ठूलो थियो। सबै चिजलाई मध्यनजर गर्दै हामीले पेट्रिकलाई छानेका हौं।’

नेपाली फुटबलले उनीबाट धेरै ठूलो अपेक्षा राख्छ। उनी नेपाली महिला टिमले पाएको पहिलो प्रो लाइसेन्स प्रशिक्षक हुन् भने दोस्रो विदेशी प्रशिक्षक। यसअघि अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले सन् २०१९ मा नेपाली महिला टिमको पहिलो विदेशी प्रशिक्षकको रूपमा काम गरेका थिए।

पेट्रिकलाई पहिलो चुनौती एसिया कप छनोट 
आफू नयाँ चुनौतीको लागि तयार रहेको भन्दै नेपाली महिला फुटबल टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका पेट्रिकको लागि पहिलो चुनौती एसिया कप छनोट हो। नेपालले २६ वर्ष भइसक्यो एसिया कपमा प्रतिस्पर्धा गर्न नपाएको। पछिल्लो पटक २०२२ मा एसिया कप छनोट खेलेको थियो। जसमा नेपाल छनोट हुन सकेन । 

नेपालले समूह चरणमा श्रीलंका, लाओस र उज्वेकिस्तानसँग खेल्नेछ। एक महिनापछि हुने छनोट चरणको खेलमा नेपालले समूह शीर्ष बन्ने कोशिस रहनेछ। प्रशिक्षक पेट्रिक भन्छन्, ‘सुरुमा हामी लाओस र श्रीलंकासँगको खेलमा केन्द्रित हुनेछौं त्यसपछि उज्वेकिस्तानको बारेमा सोच्नेछौं।’

२० वर्ष लामो समय प्रशिक्षणमा बिताएका पेट्रिकले युरोपियन टिमसँगै ओलम्पिकको टिममा रहेर पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्। चीनको यु-२३ को ओलम्पिक टिमको प्रशिक्षक रहेका पेट्रिकले टेक्निकल डाइरेक्टर (प्राविधिक निर्देशक)को रूपमा पनि धेरै टिमहरूसँग काम गरिसकेका छन्। 

अनुभवी प्रशिक्षक डे नेपाली टिमसँग उपाधि जित्न चाहन्छन्। उनी भन्छन्, ‘हामीले अब जित्नुपर्छ र हामी जित्न चाहन्छौं।’ उनले नेपाली महिला टिमसँग जोडिनुको कारण टिमलाई उपाधि दिलाउनु रहेको बताए। एन्फाले पनि हाल उनलाई एसिया कप छनोट प्रमुख लक्ष्य र त्यसपश्चात साफको उपाधि जित्ने लक्ष्यसहित उनलाई भित्र्याएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका थिए। ‘हामीले अहिले उहाँलाई एसियन कप छनोटको प्रमुख जिम्मेवारी दिएका छौं। त्यसपछि भने साफको उपाधि नै लक्ष्य हुनेछ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.