एक करोडसम्म तिरेर अवैध बाटोबाट अमेरिका पुगेकाहरू बोरा बोकेर फर्किए स्वदेश

एक करोडसम्म तिरेर अवैध बाटोबाट अमेरिका पुगेकाहरू बोरा बोकेर फर्किए स्वदेश

काठमाडौं : आइतबार रातिदेखि नै सामाजिक सञ्जालमा एउटा फोटो खुबै भाइरल भयो। झ्याप्प हेर्दा फोटो अनौठो देखिए पनि फोटोले भने बेग्लै कथा भनेको थियो। अवैध बाटो हुँदै अमेरिका पुगेका ३५ जना नेपाली र अन्य २ जना नेपालीले काँधमा सेतो बोरा बोकेर विमान अगाडि लस्करै उभिएको फोटोले डीपोर्ट (निष्कासन) भएर आउनेहरूका नियति बोलिरहेको थियो। बोरा बोकेर विमानस्थल परिसरमा हिँड्दै गरेको दृश्यले उनीहरूको अवस्था, दुःख र छटपटी भल्काइरहेको थियो।

हुन त अमेरिकाले एकैपटक ठूलो संख्यामा नेपालीहरू डीपोर्ट गर्देछ भन्ने सूचना केही दिन अघिबाट नै बाहिरिएको थियो। आइतबार साढे ४ बजे नै उनीहरूलाई लिएर आएको जहाज काठमाडौं ल्यान्ड हुने भनिए पनि रातको ९ बजेपछि मात्रै विमान आएको थियो। विमानसँगै फिर्ता भएको थियो अमेरिका पुगेका ३७ जनाको खुसी, सपना र सुन्दर भविष्यको परिकल्पना।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरका अनुसार, पछिल्लो पाँच महिनामा मात्रै विभिन्न तवरले अमेरिका पुगेका १ सय ६३ जनालाई अमेरिकी सरकारले फिर्ता गरेको छ। जसमध्ये आइतबार आएका ३७ जना सबैभन्दा ठूलो संख्या हो।

३७ जनामध्ये ५ जना महिला र ३२ जना पुरुष रहेका छन्। यीमध्ये एकजना काठमाडौंका व्यक्ति डीभी परेर अमेरिका पुगेका थिए। अर्का व्यक्ति भने विद्यार्थी भिसामा अमेरिका गएका थिए। डीभी परेर अमेरिका गएका कारण कानुनी झमेलामा परेको बेलामै अमेरिकी सरकारले डीपोर्ट गर्ने निर्णय गरेको थियो। अन्य ३५ जना भने तल्लो बाटो हुँदै जंगलैजंगल हिँडेर ३ देखि ६ महिना लगाएर अमेरिका पुगेका थिए। अवैध बाटो हुँदै अमेरिका छिर्दै गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई अमेरिकी अदालतले नै नेपाल फर्काउने निर्णय गरेको थियो।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता नरेन्द्र कुँवर भन्छन्, अवैध बाटो हुँदै अमेरिका पुगेका सबै जना नै मानव तस्करको प्रलोभनमा परेर गएका हुन्। तर जुन अवस्थामा नेपाल फर्काइए पनि उनीहरू आफूलाई लैजाने गिरोहको विषयमा बोल्न र उजुरी गर्नसमेत चाहदैनन्। आइतबार फर्किनेमध्येमा अधिकांश व्यक्तिले ५० लाखभन्दा बढी रकम बुझाएर अमेरिका पुगेको बताएका थिए। एक जना युवाले १ करोड ४० लाख खर्च भएको बताएका छन्। ३७ जनामध्ये ५० लाखदेखि डेढ करोडसम्म खर्च गरेर अमेरिका पुगेको प्रहरी अनुमान छ। अध्यागमन विभागले नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोलाई जिम्मा लगाएको थियो। आफन्तको रोहवरमा प्रहरीले उनीहरूलाई छाडेको छ।

ब्युरो प्रवक्ता कुँवर भन्छन्, ‘पछिल्लो पाँच महिनामा १ सय ६३ जना अमेरिकाबाट नेपाल फर्काइएको छ। उहाँहरूमध्ये एक जनाले पनि प्रहरीमा उजुरी दिन आउनु भएको छैन। विभिन्न प्रलोभनमा डंकी रोड हुँदै अमेरिका पुर्‍याउने गिरोह र तस्करको खोजीमा प्रहरी रहेको बताउँदै, उनीहरूबाट प्रलोभनमा पारिएको भए प्रहरीलाई सूचना दिन प्रवक्ता कुँवरले आग्रह गरे।

अमेरिकामा अवैधरूपमा बसिरहेका आप्रवासी र अवैध प्रवेश गर्न खोज्ने व्यक्तिहरूविरुद्ध अमेरिकी सरकारले कडाइ गरेको छ। गत जनवरीमा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए पछाडि आप्रवासीहरू माथि निगरानी, धरपकड र कडाइ अझ बढाइएको छ। मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकमाथि लगाइएको यात्रा प्रतिबन्ध सोमबारबाट लागू भएको छ। ट्रम्पले गत हप्ता यो आदेशमा हस्ताक्षर गरेका थिए। जसमा १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्णतया प्रतिबन्ध लगाइएको छ। ट्रम्पको यात्रा प्रतिबन्ध अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका लागि हो।

यस्तै सात देशका मानिसलाई अमेरिकामा प्रवेशमा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकलाई आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.