मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते
रौतहट : रौतहटको मध्यभाग गरुडामा सोमबार राति मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छ्न् । गरुडा-कटहरिया सडक खण्डमा राति रोकिराखिएको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोकिँदा कटहरिया नगरपालिका–१, भसेडवाका २० वर्षीय संजय साहको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिए। उनका अनुसार सोही ठाउँका २१ वर्षीय राजन ठाकुर घाइते भएका छन्।
ना ६ त ८१०६ नम्बरको ट्याक्टरमा इँटा लोड गरी दुद्यीयाभार चोक नजिकै कालोपत्रे सडकमै बिग्रिएर रोकि राखिएको थियो। उक्त ट्याक्टरमा गरुडाबाट घरतर्फ जाँदै गरेको प्रदेश २–०३–०२० प ७२४८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल गएराति करिब १० बजे ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले साहलाई मृत घोषणा गरेका थिए। घाइते ठाकुरको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !