अरूलाई योजनाको चटारो, पूर्वमुख्यमन्त्री किराना पसलमा व्यस्त

अरूलाई योजनाको चटारो, पूर्वमुख्यमन्त्री किराना पसलमा व्यस्त

धनगढी : प्रदेशहरूमा अहिले बजेट बनाउने चटारो छ । जनप्रतिनिधिहरू, पार्टीका नेताहरू, गाउँमा बजेट हालिदिनु भन्दै हिँडेका बिचौलियाहरूले प्रदेशका राजधानीका होटलहरू भरिभराउ छन् । मन्त्रीका स्वकीयहरूमात्रै होइन, मन्त्रालयमा काम गर्ने कर्मचारीहरूका घरमा समेत योजना माग्नेहरूको भिडभाड छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य मन्त्रालयहरूमा पनि योजना माग्नेहरूको चहलपहल छ । तर पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई भने ती कुनै पनि कुराले छोएको छैन ।

भट्ट बिहान साढे ४—५ बजे उठ्छन् । नित्य कर्मपछि उनको ‘मर्निङ वाक’ सुरु हुन्छ । छोरा विकासले किराना पसल खोलेर सरसफाइ गर्छन् । त्यसपछि पूर्वमुख्यमन्त्री भट्ट चिया नास्ता खाएर करिब ८÷९ बजेतिर किराना पसलमा आउँछन् । उनको दिनभरको समय किराना पसलमा बित्छ ।
प्रदेश सरकार गठन भएपछि सुदूरपश्चिमका संस्थापक (पहिलो कार्यकालका) मुख्यमन्त्री हुन्, त्रिलोचन भट्ट । अहिले उनले धनगढीको घरेलु चोकमा किराना पसल खोलेका छन् । उनको पसलको नाम न्यु प्रस्थान किराना पसल हो । ठूलो व्यवसाय गर्न पुँजी नभएकाले किराना पसल खोलेको उनले बताए ।

‘३/४ लाख रकमको लगानीमा पसल सञ्चालन गरेको हुँ । अरू ठूलो व्यापार गर्न पैसा थिएन । यसमा पनि धेरै सामान उधारोमा मागेको छु’, पूर्वमुख्यमन्त्री भट्टले भने । उनको पसलमा खुद्रा सामान छ । ‘मुख्यमन्त्रीको पद सकिएपछि बेरोजगार झैं भएँ । के गर्ने ? के गर्ने ? भनेर केही महिना सोच्नमै लाग्यो । अब यसो दैनिक खर्च पनि उठ्ने, छोरालाई व्यापारतिर पनि बानी बसाल्नुपर्ने भएकाले पनि किराना पसल खोलेँ । उसले कमाउला भने भोलिका दिनमा ठूलो व्यापार गर्ला । नत्र घरधन्दा धान्न यसले पुगिहाल्ला नि’, उनले भने । २०८२ सालको वैशाख २२ गते उनले सामान्य रूपमा पसलको उद्घाटन गरेको बताए । ‘उद्घाटनका दिन केही साथीभाइहरूलाई बोलाएको थिएँ, तर त्यो दिन पानी परेकाले सबै साथीहरू पनि आएनन् । सामान्य रूपमा छोराले पूजा गरेर पसलको उद्घाटन गरें’, उनले भने ।

उनी सानैदेखि केही गरेर खानुपर्छ भन्ने संस्कारमा बसेका व्यक्ति हुन् । प्रवासबाट फर्केपछि उनले गृह जिल्ला डोटीमा तरकारी खेती पनि गरेका थिए । ‘राजनीति सेवा हो, व्यवसायसहितको राजनीति गर्नुपर्छ’, उनले भने, ‘अहिले राजनीतिलाई पेसा बनाइएको छ ।’

त्रिलोचन भट्ट २०७४ सालको फागुन ३ गते सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ७ वटै प्रदेशमा पूरै कार्यकाल मुख्यमन्त्री पदमा रहने उनी पहिलो व्यक्ति हुन् । सत्ता समीकरणहरू फेरिरहँदा पनि सुदूरपश्चिममा उनको विकल्प खोजिएन ।

२०७४ सालको फागुन ३ गतेदेखि २०७९ सालको पुस २७ गते मुख्यमन्त्री रहेका भट्टले मुख्यमन्त्री भएको पाँच वर्षको कार्यकाल भरी १५ लाख जति बचत गरेको बताए । ‘सरकारले दिने सेवासुविधामा घर खर्च चलाएर बचत गर्न सकिँदैन । मेरो त तीन जना छोराछोरी र श्रीमती थिए । मेरो सेवा सुविधाले घरखर्च चलाउनमै ठिक्क हुने । पाँच वर्षमा अलि अलि गरेर बेचेको त्यही १५ लाख जति रकम थियो, केही पसलमा लगाएँ, केही छोरीहरूको पढाइमा खर्च भइरहेको छ’, उनले भने । तीन भाइ छोरामध्ये त्रिलोचन कान्छा हुन् । उनी १२ वर्षको छँदा बुवाको देहान्त भयो । बुवाको निधनपछि उनी १४ वर्षको उमेरमा भारतको पञ्जावतिर हानिए । केही वर्ष घरको काममा (कोठीमा) लागेका उनले मुम्बई गएर लामो समय चौकीदारी गरे । मुम्बईबाटै उनले प्रवासमा बसेर राजनीतिको सुरुवात गरेका हुन् ।

पाँच वर्ष मुख्यमन्त्री भएका त्रिलोचनको तराईतिर घरजग्गा छैन । ‘मेरो तराईमा घरजग्गा छैन । डोटीको केआई सिंह गाउँपालिका ७ खलेडीमा बुवाले बनाएको पुस्तैनी घरबाहेक मेरो केही पनि छैन’, उनले भने, ‘भ्रष्टाचार नगर्ने हो भने सरकारले मुख्यमन्त्रीलाई दिएको सेवासुविधाले पाँच वर्षमा घरजग्गा जोड्ने गरी बचत हुँदैन । मैले भ्रष्टाचार गरिनँ । त्यसैले यो सानो व्यापार सुरु गरेको हुँ ।’

त्रिलोचन भट्ट २०६४ सालको संविधानसभा निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा डोटीबाट दुई पटक चुनाव हारेका थिए । तर निष्ठाको राजनीतिमा विश्वास गर्ने उनले २०७४ सालको निर्वाचनमा डोटीको (ख) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा चुनाव जिते । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका उनी सर्वसम्मत संसदीय दलको नेता भएका थिए ।

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि अढाई करोडको टोयोटाको फर्चुन गाडी छ । उनले आफ्नो कार्यकालका पाँच वर्ष महँगो गाडीमा चढेर बिताए । तर अहिले उनीसँग मोटरसाइकल पनि छैन । ‘मलाई के थाहा थियो भने म मुख्यमन्त्रीबाट हटेपछि म फेरि सामान्य नागरिक हुने हो, त्यो कुरामा म मानसिक रूपमा तयार थिएँ । त्यसैले मलाई मुख्यमन्त्रीको सेवासुविधा छुटेपछि पनि असहज लागेन । अहिले सार्वजनिक सवारीसाधनमा जाँदा पनि मलाई खासै अप्ठेरो लाग्दैन’, उनले भने ।

सुदूरपश्चिममा पूर्वमुख्यमन्त्रीहरूलाई गाडीको सुविधा छैन । ‘मेरो श्रीमती छोराछोरीहरू पहाडतिर जाँदा सहज रूपमा सार्वजनिक यातायातमा जान्छन्, म मुख्यमन्त्री भएका बेला पनि उनीहरूलाई विलासितामा नबस्न भन्थँे, अहिले उनीहरू पनि मजस्तै सामान्य भइसकेका छन् ।’ पूर्वमुख्यमन्त्रीलाई सरकारी सेवासुविधा नभए पनि कहिले मन्त्रालयहरूसँग गाडी भने माग्ने गरेको उनले सुनाए । ‘कहिले मन्त्रालयहरूसँग गाडी माग्छु तर धेरैले छैन भनेर टारिदिन्छन् । सहज रूपमा दिन मान्दैनन् । अनि फोन गरेर गाडी माग्न पनि मन लाग्दैन’, उनले भने ।

प्रदेशमा बजेटको चटारो चलिरहेका बेला उनले कुनै पनि मन्त्रीलाई योजना मागेका छैनन् । ‘मेरो डेरामा साथीभाइहरू आउँछन् । योजनाका लागि भन्दे भन्छन्, तर मलाई यस सरकारप्रति कुनै आशा नै छैन । भनेर के गरुँ भन्छु । उनीहरूलाई आफ्नै तरिकाले भन्न भन्छु’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.