अरूलाई योजनाको चटारो, पूर्वमुख्यमन्त्री किराना पसलमा व्यस्त
धनगढी : प्रदेशहरूमा अहिले बजेट बनाउने चटारो छ । जनप्रतिनिधिहरू, पार्टीका नेताहरू, गाउँमा बजेट हालिदिनु भन्दै हिँडेका बिचौलियाहरूले प्रदेशका राजधानीका होटलहरू भरिभराउ छन् । मन्त्रीका स्वकीयहरूमात्रै होइन, मन्त्रालयमा काम गर्ने कर्मचारीहरूका घरमा समेत योजना माग्नेहरूको भिडभाड छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य मन्त्रालयहरूमा पनि योजना माग्नेहरूको चहलपहल छ । तर पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई भने ती कुनै पनि कुराले छोएको छैन ।
भट्ट बिहान साढे ४—५ बजे उठ्छन् । नित्य कर्मपछि उनको ‘मर्निङ वाक’ सुरु हुन्छ । छोरा विकासले किराना पसल खोलेर सरसफाइ गर्छन् । त्यसपछि पूर्वमुख्यमन्त्री भट्ट चिया नास्ता खाएर करिब ८÷९ बजेतिर किराना पसलमा आउँछन् । उनको दिनभरको समय किराना पसलमा बित्छ ।
प्रदेश सरकार गठन भएपछि सुदूरपश्चिमका संस्थापक (पहिलो कार्यकालका) मुख्यमन्त्री हुन्, त्रिलोचन भट्ट । अहिले उनले धनगढीको घरेलु चोकमा किराना पसल खोलेका छन् । उनको पसलको नाम न्यु प्रस्थान किराना पसल हो । ठूलो व्यवसाय गर्न पुँजी नभएकाले किराना पसल खोलेको उनले बताए ।
‘३/४ लाख रकमको लगानीमा पसल सञ्चालन गरेको हुँ । अरू ठूलो व्यापार गर्न पैसा थिएन । यसमा पनि धेरै सामान उधारोमा मागेको छु’, पूर्वमुख्यमन्त्री भट्टले भने । उनको पसलमा खुद्रा सामान छ । ‘मुख्यमन्त्रीको पद सकिएपछि बेरोजगार झैं भएँ । के गर्ने ? के गर्ने ? भनेर केही महिना सोच्नमै लाग्यो । अब यसो दैनिक खर्च पनि उठ्ने, छोरालाई व्यापारतिर पनि बानी बसाल्नुपर्ने भएकाले पनि किराना पसल खोलेँ । उसले कमाउला भने भोलिका दिनमा ठूलो व्यापार गर्ला । नत्र घरधन्दा धान्न यसले पुगिहाल्ला नि’, उनले भने । २०८२ सालको वैशाख २२ गते उनले सामान्य रूपमा पसलको उद्घाटन गरेको बताए । ‘उद्घाटनका दिन केही साथीभाइहरूलाई बोलाएको थिएँ, तर त्यो दिन पानी परेकाले सबै साथीहरू पनि आएनन् । सामान्य रूपमा छोराले पूजा गरेर पसलको उद्घाटन गरें’, उनले भने ।
उनी सानैदेखि केही गरेर खानुपर्छ भन्ने संस्कारमा बसेका व्यक्ति हुन् । प्रवासबाट फर्केपछि उनले गृह जिल्ला डोटीमा तरकारी खेती पनि गरेका थिए । ‘राजनीति सेवा हो, व्यवसायसहितको राजनीति गर्नुपर्छ’, उनले भने, ‘अहिले राजनीतिलाई पेसा बनाइएको छ ।’
त्रिलोचन भट्ट २०७४ सालको फागुन ३ गते सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ७ वटै प्रदेशमा पूरै कार्यकाल मुख्यमन्त्री पदमा रहने उनी पहिलो व्यक्ति हुन् । सत्ता समीकरणहरू फेरिरहँदा पनि सुदूरपश्चिममा उनको विकल्प खोजिएन ।
२०७४ सालको फागुन ३ गतेदेखि २०७९ सालको पुस २७ गते मुख्यमन्त्री रहेका भट्टले मुख्यमन्त्री भएको पाँच वर्षको कार्यकाल भरी १५ लाख जति बचत गरेको बताए । ‘सरकारले दिने सेवासुविधामा घर खर्च चलाएर बचत गर्न सकिँदैन । मेरो त तीन जना छोराछोरी र श्रीमती थिए । मेरो सेवा सुविधाले घरखर्च चलाउनमै ठिक्क हुने । पाँच वर्षमा अलि अलि गरेर बेचेको त्यही १५ लाख जति रकम थियो, केही पसलमा लगाएँ, केही छोरीहरूको पढाइमा खर्च भइरहेको छ’, उनले भने । तीन भाइ छोरामध्ये त्रिलोचन कान्छा हुन् । उनी १२ वर्षको छँदा बुवाको देहान्त भयो । बुवाको निधनपछि उनी १४ वर्षको उमेरमा भारतको पञ्जावतिर हानिए । केही वर्ष घरको काममा (कोठीमा) लागेका उनले मुम्बई गएर लामो समय चौकीदारी गरे । मुम्बईबाटै उनले प्रवासमा बसेर राजनीतिको सुरुवात गरेका हुन् ।
पाँच वर्ष मुख्यमन्त्री भएका त्रिलोचनको तराईतिर घरजग्गा छैन । ‘मेरो तराईमा घरजग्गा छैन । डोटीको केआई सिंह गाउँपालिका ७ खलेडीमा बुवाले बनाएको पुस्तैनी घरबाहेक मेरो केही पनि छैन’, उनले भने, ‘भ्रष्टाचार नगर्ने हो भने सरकारले मुख्यमन्त्रीलाई दिएको सेवासुविधाले पाँच वर्षमा घरजग्गा जोड्ने गरी बचत हुँदैन । मैले भ्रष्टाचार गरिनँ । त्यसैले यो सानो व्यापार सुरु गरेको हुँ ।’
त्रिलोचन भट्ट २०६४ सालको संविधानसभा निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा डोटीबाट दुई पटक चुनाव हारेका थिए । तर निष्ठाको राजनीतिमा विश्वास गर्ने उनले २०७४ सालको निर्वाचनमा डोटीको (ख) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा चुनाव जिते । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका उनी सर्वसम्मत संसदीय दलको नेता भएका थिए ।
सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि अढाई करोडको टोयोटाको फर्चुन गाडी छ । उनले आफ्नो कार्यकालका पाँच वर्ष महँगो गाडीमा चढेर बिताए । तर अहिले उनीसँग मोटरसाइकल पनि छैन । ‘मलाई के थाहा थियो भने म मुख्यमन्त्रीबाट हटेपछि म फेरि सामान्य नागरिक हुने हो, त्यो कुरामा म मानसिक रूपमा तयार थिएँ । त्यसैले मलाई मुख्यमन्त्रीको सेवासुविधा छुटेपछि पनि असहज लागेन । अहिले सार्वजनिक सवारीसाधनमा जाँदा पनि मलाई खासै अप्ठेरो लाग्दैन’, उनले भने ।
सुदूरपश्चिममा पूर्वमुख्यमन्त्रीहरूलाई गाडीको सुविधा छैन । ‘मेरो श्रीमती छोराछोरीहरू पहाडतिर जाँदा सहज रूपमा सार्वजनिक यातायातमा जान्छन्, म मुख्यमन्त्री भएका बेला पनि उनीहरूलाई विलासितामा नबस्न भन्थँे, अहिले उनीहरू पनि मजस्तै सामान्य भइसकेका छन् ।’ पूर्वमुख्यमन्त्रीलाई सरकारी सेवासुविधा नभए पनि कहिले मन्त्रालयहरूसँग गाडी भने माग्ने गरेको उनले सुनाए । ‘कहिले मन्त्रालयहरूसँग गाडी माग्छु तर धेरैले छैन भनेर टारिदिन्छन् । सहज रूपमा दिन मान्दैनन् । अनि फोन गरेर गाडी माग्न पनि मन लाग्दैन’, उनले भने ।
प्रदेशमा बजेटको चटारो चलिरहेका बेला उनले कुनै पनि मन्त्रीलाई योजना मागेका छैनन् । ‘मेरो डेरामा साथीभाइहरू आउँछन् । योजनाका लागि भन्दे भन्छन्, तर मलाई यस सरकारप्रति कुनै आशा नै छैन । भनेर के गरुँ भन्छु । उनीहरूलाई आफ्नै तरिकाले भन्न भन्छु’, उनले भने ।
प्रतिक्रिया दिनुहोस !