इजरायलमा रहेका नेपालीसँग भिडियो वार्ता

इजरायल-इरान द्वन्द्वले विक्षिप्त छन् नेपाली, उद्धारको पूर्व तयारी गर्न सरकारलाई आग्रह


काठमाडौं : इजरायल र इरानबीचको बढ्दो द्वन्द्वले मध्यपूर्वी क्षेत्रमा गहिरो तनाव सिर्जना गरेको छ। दुवै देशले एकअर्काविरुद्ध गरेको मिसाइल आक्रमणका कारण हालसम्म कम्तीमा २२४ जनाको मृत्यु भएको छ भने १२ सयभन्दा बढी सर्वसाधारण घाइते भएका छन्।

द्वन्द्वका कारण इजरायलमा वैदेशिक रोजगारीका लागि पुगेका हजारौं नेपालीले मानसिक तनाव भोगिरहेका छन्। कामको थकान र छिनछिनमा बज्ने साइरनले नेपालीहरू विक्षिप्त बनेको इजरायलबाट खेमराज कट्टेलले बताएका छन्।

इजरायलमा हालः ५ देखि ६ हजार नेपालीहरू रहेको अनुमान गरिएको छ, यद्यपि यकिन तथ्यांक सरकार र दूतावाससँग पनि उपलब्ध छैन। कट्टेलका अनुसार यो युद्ध सामान्यभन्दा फरक छ। उनले अन्नपूर्णसँगको कुराकानीमा भने, 'यो युद्ध कुनै समूह वा आतंकवादी संगठनसँगको होइन, यो दुई देशबीच भइरहेको युद्ध हो। यसले जस्तोसुकै अवस्था पनि सिर्जना गर्नसक्छ।'

इरानले इजरायलका प्रमुख सहरहरूलाई लक्षित गरी आक्रमण गरिरहेको छ। यद्यपि, इजरायलको बलियो डिफेन्स प्रणालीले गर्दा केही राहत महसुस हुने गरेको कट्टेल बताउँछन्। साइरन बज्नेबित्तिकै बंकरमा जानुपर्ने अवस्था रहेको उनको भनाइ छ। 'मिसाइल पत्ता लाग्नेबित्तिकै साइरन बज्न थाल्छ। मोबाइल एपमा 'तत्काल बंकरमा जानु' भन्ने सूचना आउँछ। डिफेन्स प्रणालीले मिसाइललाई परास्त गरेपछि मात्रै बाहिर निस्किने अनुमति दिइन्छ,' उनले भने। इजरायलको सुरक्षा निकायले कम्तीमा २५-३० मिनेट पहिले नै साइरन बजाउने गरेको उनले खुलाए।

नेपालीलाई फर्काउन सरकार तयारी अवस्थामा बस्नुपर्छ
कट्टेलले नेपाल सरकार र इजरायलस्थित दूतावास नेपालीहरूलाई फर्काउन तयारी अवस्थामा रहनुपर्नेमा जोड दिएका छन्। उनले भने, 'इजरायल एक क्षमतावान् देश हो र उसले विदेशी नागरिकलाई पनि राम्रो सुरक्षा दिएको छ, समयमै सूचना प्रवाह गरेको छ। तर, दुई देशबीचको द्वन्द्वलाई कम आँक्नु हुँदैन। नेपाल सरकार जुनसुकै बेला नेपालीहरूलाई फर्काउन तयारी अवस्थामा बस्नुपर्छ।'

द्वन्द्वका बेला इजरायलमा रहेका नेपालीहरूका विभिन्न संघसंस्थाहरूले 'च्याटग्रुप' बनाएर कुराकानी गर्ने गरेको कट्टेलले बताए, जसले थोरै भए पनि राहत महसुस भएको उनको भनाइ छ।

उनले तत्कालै नेपाल फर्किनुपर्ने र सरकारले उद्धार गरिहाल्नुपर्ने स्थिति भने नरहेको बताए। 'नेपालीहरूसँग बुझ्दा नेपाल फर्किनुपर्ने वा सरकारले उद्धार गर्नुपर्ने जस्तो छैन। तर, सरकारले यकिन तथ्यांक निकालेर समन्वयचाहिँ गर्नुपर्छ। यसमा अन्य देश संलग्न भएमा स्थिति पक्कै सामान्य हुँदैन। भोलि जुनसुकै अवस्थामा उद्धार गर्न सरकार तयारी अवस्थामा रह्यो भने यहाँका नेपालीहरू पनि ढुक्क हुन्छन्,' उनले भने।

सामाजिक सञ्जालमा भिडियो नबनाउन आग्रह
कट्टेलले इजरायलमा रहेका नेपालीहरूलाई जथाभाबी भिडियो बनाएर सामाजिक सञ्जालमा नराख्न आग्रह गरेका छन्। इजरायलले यस्ता गतिविधिहरूलाई गैरकानुनी मानेको र नगर्न सुझाव दिएको उनको भनाइ छ।

'यहाँ रहेका धेरै नेपालीहरूले बमबारी, तनाव वा साइरन बजेका बेला भिडियो लाइभ गर्ने, सामाजिक सञ्जालमा भिडियो, तस्बिर हाल्ने काम गरिरहनुभएको छ। त्यो गैरकानुनी हो। यहाँको सरकारले पनि त्यसो नगर्न भनिरहेको छ। त्यस्तो नगरिदिन म नेपालीहरूलाई आग्रह गर्न चाहन्छु। यसले नेपालमा रहेका घरपरिवारमा पनि असर पार्न सक्छ," उनले थपे। यस्ता गतिविधिले आफैँलाई असर गर्ने भएकाले त्यसो नगर्न उनको आग्रह छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.