अमेरिका र इजरायललाई हैरान बनाइरहेको इरानको फोर्डो आणविक भट्टी
काठमाडौं : इरानको दक्षिण भागमा रहेको पहाडी क्षेत्रको गहिराइमा लुकेको फोर्डो आणविक भट्टी अहिले चर्चाको विषय बनेको छ। इजरायल र इरान युद्ध तीव्र बनिरहेका बेला फोर्डो आणविक भट्टीको चर्चा चल्न थालिएको हो।
फोर्डो आणविक भट्टी प्लान्टलाई अत्यन्त गोप्यरूपमा निर्माण गरिएको मानिन्छ। बीबीसीको एक रिपोर्टअनुसार यसको गहिराइ बेलायत र फ्रान्सलाई जोड्ने टनेलभन्दा पनि तल रहेको बताइएको छ।
इरानी अधिकारीहरूले फोर्डोलाई 'नागरिक उद्देश्यका लागि मात्र प्रयोग हुने' बताएका छन्। तर, इजरायलले यस स्थललाई इरानको आणविक महत्वाकांक्षाको केन्द्र भन्दै त्यसको अस्तित्वलाई खतराको रूपमा लिँदै आएको छ। इजरायली रणनीतिक दृष्टिले यो स्थल इरानको आणविक हतियार विकास रोक्ने प्रयासमा महत्वपूर्ण लक्ष्यका रूपमा देखिन्छ।
सुरक्षा विशेषज्ञहरूका अनुसार इजरायलको हतियार क्षमताले फोर्डो आणविक भट्टीलाई नष्ट गर्न सक्दैन। यसलाई नष्ट गर्नसक्ने हतियार केवल अमेरिकासँग मात्र रहेको छ। यसैबीच अनुसन्धानकर्ताहरूको एक टोलीले फोर्डो आणविक भट्टी रहेको स्थानको दृश्य सार्वजनिक गरेको छ। पहाडभित्र लुकेको यो प्लान्ट र यसको सम्भावित आन्तरिक संरचनाबारे दृश्यमा देखाइएको छ।
त्यस्तै इजरायलले इरानको आणविक कार्यक्रमलाई लक्षित गर्दै हवाई आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले बिहीबार घोषणा गरेअनुसार उनीहरूका लडाकु विमानहरूले इरानका दर्जनौं सैन्य क्याम्पमा प्रहार गरेका छन्। जसमा अराक आणविक भट्टी पनि रहेको दाबी गरिएको छ। उक्त आक्रमण आणविक हतियार विकासका लागि यसको सम्भावित प्रयोगलाई रोक्ने प्रयास भएको इजरायलको दाबी छ।
प्रतिक्रिया दिनुहोस !