अमेरिका र रुसको तुलनामा चीनसँग कति परमाणु हतियार छन् ?
चीन : चीन आफ्नो परमाणु हतियार भण्डार र त्यससम्बन्धी रणनीतिबारे लामो समयदेखि निकै गोपनीय रहँदै आएको छ । चीनको आधिकारिक धारणा अनुसार उसको परमाणु नीति मुख्यतः आत्मरक्षामा आधारित छ । उसले निरन्तर ‘नो फर्स्ट युज अर्थात् ‘पहिले परमाणु हतियार प्रयोग नगर्ने’ नीतिमा जोड दिँदै आएको छ । तर, अर्कोतर्फ चीनले अमेरिका र रुससँग त्रिपक्षीय परमाणु हतियार नियन्त्रण वार्तामा सहभागी हुनुपर्ने मागलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।
पश्चिमी देशका विशेषज्ञहरूका अनुसार पछिल्ला केही वर्षमा चीनले आफ्नो परमाणु क्षमता तीव्र गतिमा आधुनिकीकरण गरेको छ । उनीहरूको अनुमानअनुसार सन् २०२३ देखि २०२५ सम्म चीनले हरेक वर्ष करिब १०० वटा नयाँ परमाणु वारहेड (परमाणु बम बोक्ने विस्फोटक भाग) थपेको थियो । तर पछिल्लो एक वर्षमा यो वृद्धि घटेर करिब २० वटा मात्र भएको बताइन्छ । यो चीनको परमाणु रणनीतिबारे तयार गरिएको दुई भागको शृङ्खलाको पहिलो भाग हो ।
मिसाइल साइलो प्रणाली पनि बलियो
चीनले आफ्नो परमाणु शक्ति प्रदर्शन गर्न पनि पछिल्ला वर्षहरूमा हिच्किचाएको छैन । सन् २०२४ मा उसले बिना परमाणु वारहेड भएको एउटा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रशान्त महासागरतर्फ प्रक्षेपण गरेको थियो । त्यसै गरी सन् २०२५ मा दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवमा आयोजित सैन्य परेडमा चीनले पहिलो पटक आफ्नो ‘न्यूक्लियर ट्रायड’ सार्वजनिक रूपमा प्रदर्शन गरेको थियो । न्यूक्लियर ट्रायड भन्नाले जमिन, समुद्र र हावाबाट परमाणु हतियार प्रहार गर्न सक्ने तीन वटै प्रणालीलाई जनाइन्छ ।
चीन आफ्नो परमाणु नीतिबारे के भन्छ ?
बेइजिङले आफ्नो परमाणु हतियारको वास्तविक संख्या सार्वजनिक गर्दैन । चीनको आधिकारिक भनाइअनुसार उसको परमाणु नीति ‘स्थिर, सुसंगत र व्यावहारिक’ छ र यो पूर्ण रूपमा आत्मरक्षाका लागि मात्र हो । चीनले आफ्नो परमाणु भण्डार राष्ट्रिय सुरक्षाका लागि आवश्यक न्यूनतमस्तरमै सीमित राखिएको दाबी गर्दै आएको छ ।
साथै उसले आफूले कहिल्यै परमाणु हतियारको होडमा भाग नलिएको र विश्वव्यापी रणनीतिक सन्तुलन कायम राख्न योगदान पुर्याएको दाबी पनि गर्छ । चीनले आफू तीव्र रूपमा परमाणु हतियार विस्तार गरिरहेको भन्ने आरोपलाई ‘आधारहीन अड्कलबाजी र प्रचार’ मात्र भएको बताउँदै अस्वीकार गरेको छ । उसले ‘नो फर्स्ट युज’ नीति निरन्तर प्रचार गर्दै आएको छ । सन् २०२४ मा चीनले परमाणु हतियार प्रयोगमा ‘नो फर्स्ट युज’ सम्बन्धी नयाँ पहल पनि प्रस्तुत गरेको थियो । यसलाई उसले परमाणु अप्रसार सन्धि कार्यान्वयनतर्फको व्यावहारिक कदम भनेको थियो ।
चीनले अन्य परमाणु सम्पन्न राष्ट्रहरूलाई पनि यही नीति अपनाउन आग्रह गरेको छ । साथै, परमाणु हतियार नभएका देशविरुद्ध यस्ता हतियार प्रयोग नगर्ने तथा प्रयोगको धम्कीसमेत नदिने अन्तर्राष्ट्रिय सम्झौताको प्रस्ताव राखेको छ । यद्यपि, अमेरिकाले चीनलाई अमेरिका–रुससँग त्रिपक्षीय हतियार नियन्त्रण वार्तामा सहभागी हुन दिएको प्रस्तावलाई बेइजिङले पटक–पटक अस्वीकार गर्दै आएको छ ।
विशेष गरी अमेरिका र रुसबीचको ‘न्यू स्ट्राटेजिक आम्र्स रिडक्सन ट्रीटी समाप्त भएपछि यस्तो दबाब अझ बढेको थियो । चीनका अधिकारीहरूले यसलाई ‘अनुचित, अनावश्यक र अव्यावहारिक’ माग भनेका छन् । उनीहरूका अनुसार विश्वका अधिकांश परमाणु हतियार अमेरिका र रुससँग भएकाले निशस्त्रीकरणको मुख्य जिम्मेवारी पनि ती दुई देशकै हो ।
पश्चिमी प्रतिवेदनले के भन्छ ?
चीनले गोपनीयता कायम राखे पनि पश्चिमी विश्लेषकहरूले पछिल्ला वर्षहरूमा उसको परमाणु क्षमता तीव्र रूपमा विस्तार भएको बताएका छन् । अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्था ( एसआइपीआरआइ) को सन् २०२६ को प्रतिवेदनअनुसार जनवरी २०२६ सम्म चीनसँग करिब ६२० वटा परमाणु वारहेड थिए। अघिल्लो वर्ष यो संख्या ६०० थियो । उसका अनुसार सन् २०२३–२०२४ बीच चीनले ९० वटा र २०२४–२०२५ बीच थप १०० वटा वारहेड आफ्नो भण्डारमा थपेको थियो ।
यो पछिल्लो एक दशककै सबैभन्दा तीव्र वृद्धि मानिएको छ । यद्यपि हाल यसको गति केही सुस्त भएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालयको सन् २०२४ को प्रतिवेदनले सन् २०३० सम्म चीनसँग एक हजारभन्दा बढी परमाणु वारहेड हुन सक्ने अनुमान गरेको थियो । सन् २०२२ को प्रतिवेदनमा २०३५ सम्म यो संख्या १,५०० पुग्ने अनुमान गरिएको भए पनि २०२४ को प्रतिवेदनमा उक्त अनुमान समावेश गरिएको छैन ।
अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थाले सन् २०३० सम्म चीनसँग एक हजारभन्दा बढी वारहेड भए पनि त्यो अमेरिका र रुसको हालको परमाणु भण्डारको करिब एक चौथाइ मात्र हुने जनाएको छ । यद्यपि प्रतिवेदनले चीनले उत्तरी क्षेत्रमा तीन वटा विशाल मिसाइल साइलो क्षेत्रमा सयौं मिसाइल तैनाथ गरेको तथा पूर्वी पहाडी क्षेत्रमा थप करिब ३० वटा नयाँ साइलो निर्माण भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
मे महिनामा प्रकाशित रोयटर्सको प्रतिवेदनअनुसार चीनको उत्तरपश्चिमी सिन्जियाङ मरुभूमिमा ८० भन्दा बढी प्रक्षेपण स्थल, सुदृढ बंकर तथा अष्टकोणीय कमाण्ड सेन्टर निर्माण गरिएको छ । यी संरचनाहरू साइलो आधारित तथा मोबाइल दुवै प्रकारका मिसाइल सञ्चालनका लागि तयार गरिएको मानिन्छ, जसले चीनको जवाफी परमाणु आक्रमण क्षमता उल्लेखनीय रूपमा सुदृढ बनाएको संकेत गर्छ ।
परमाणु शक्ति प्रदर्शन
यद्यपि चीनको सरकारी सञ्चारमाध्यमले पश्चिमी अनुमानमाथि धेरै टिप्पणी गर्दैन, तर पछिल्ला वर्षहरूमा बेइजिङले आफ्नो परमाणु क्षमता खुला रूपमा प्रदर्शन गर्न थालेको छ । सन् २०२४ मा चीनले १९८० यताकै पहिलो पटक बिना परमाणु वारहेड भएको अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रशान्त महासागरतर्फ प्रक्षेपण गरेको थियो ।
रक्षा मन्त्रालयले यसबारे सीमित जानकारी दिएको भए पनि चिनियाँ सञ्चारमाध्यमका अनुसार डीएफ– ३१ एजी मिसाइलले हवाई द्वीपसमूहबाट दक्षिणपूर्वतर्फ करिब २,००० किलोमिटर टाढाको लक्ष्यमा प्रहार गरेको थियो । यसले करिब १२ हजार किलोमिटर दूरी पार गरेको बताइएको छ । रिपोर्टहरूका अनुसार यसको मारक क्षमता दक्षिणी ध्रुव, सम्पूर्ण युरोप तथा अमेरिकाको पश्चिमी तटका प्रमुख सहरसम्म पुग्न सक्नेछ ।
चिनियाँ सैन्य विशेषज्ञ डु वेनलोङका अनुसार यो परीक्षण रणनीतिक सन्देश दिन गरिएको थियो, जसबाट चीनको उच्चस्तरीय रसद र लक्ष्य निर्धारण क्षमता प्रदर्शन गरिएको हो । उनले चीनका मिसाइलहरूले कुनै पनि हवाई प्रतिरक्षा तथा एन्टी–मिसाइल प्रणालीलाई छल्न सक्ने विश्वास व्यक्त गरेका छन् । तर ताइवानका सैन्य विश्लेषकहरूले भने यो परीक्षण चीनको रकेट फोर्सभित्र भ्रष्टाचारविरुद्धको अभियान र वरिष्ठ अधिकारीहरूको हटाइसँग जोडेर हेरेका छन् ।
सन् २०२५ मा जापानमाथिको विजयको ८०औँ वार्षिकोत्सवका अवसरमा आयोजित सैन्य परेडमा चीनले पहिलो पटक आफ्नो ‘न्यूक्लियर ट्रायड’ सार्वजनिक रूपमा प्रदर्शन गर्यो । चिनियाँ सञ्चारमाध्यमले यसलाई ‘रणनीतिक शक्तिको सबैभन्दा प्रभावशाली हतियार’ भनेका छन् । यसमा जेएल शृङ्खलाका पनडुब्बीबाट प्रक्षेपण गरिने अन्तरमहादेशीय मिसाइल, डीएफ– ३१ तथा डीएफ–६१ जस्ता स्थलआधारित मिसाइलहरू समावेश थिए । साथै डीएफ–५ सी नामक नयाँ तरल इन्धन प्रयोग गर्ने अन्तरमहादेशीय परमाणु मिसाइल पनि प्रदर्शन गरिएको थियो, जसको मारक क्षमता विश्वको जुनसुकै स्थानसम्म पुग्न सक्ने दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !