२६ वर्षपछि नेपाललाई एसियन कपको ढोका खोल्ने अवसर
काठमाडौं : नेपाली महिला फुटबल टिम २६ वर्षपछि एसियन कप खेल्ने अवसरको खोजीमा छ। पहिलो पटक प्रो लाइसेन्स प्रशिक्षक प्याट्रिक डे वाइल्डको साथमा नेपाली टोलीले एसियन कप छनोट खेल्दैछ। नेपाली टोलीले यसै दौरा १०० अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पनि पार गर्नेछ।
हालको टोलीमा प्रायः पुरानै खेलाडी छन्। एकजना नयाँ अनुहारले टिममा मौका बनाएकी छिन्। एपीएफ टिमकी डिफेन्डर प्रतिक्षा चौधरीले पहिलो पटक सिनियर टिममा मौका बनाएकी हुन्। नेपाली टिमले अन्तिम पटक सन् १९९९ मा एसियन कप खेलेको थियो। समग्रमा नेपाल चौथो पटक एसियन कप खेल्ने लक्ष्यसहित मंगलबार राति साढे ११ बजे उज्वेकिस्तान प्रस्थान गर्नेछ।
धरातलमा आधारित भएर जित्नका लागि प्रयासरत हुने नेपाली टिम
नेपाली महिला टिमका प्रशिक्षक प्याट्रिकले महिला टिमलाई प्रशिक्षण गरेको ३ हप्तामा उनी यो टिम लिएर एसियन कप छनोटको लागि उड्दैछन्। उनले नेपाली टिमको मानसिकताको तारिफ गर्दै गर्दा, नतिजा भने धरातलमा आधारित भएर अपेक्षा गर्न अनुरोध समेत गरे।
नेपाली महिला टिम जितको लागि र एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान जाँदै गर्दा नेपाली टोलीको धरातल भने हालसम्म दक्षिण एसियाली स्तरमा नै १३ पटक फाइनलमा उपविजेतामा सीमित हुन पुगेको छ। प्रशिक्षक प्याट्रिक भन्छन्, ‘हामीले अभ्यास जितको लागि गरेका हौं। हामीले यसो भन्दै गर्दा यो टिमले अन्तिम चार खेलहरू हेर्ने हो भने जित्न सकेको छैन। हामीले धरातल बिर्सन हुँदैन।’ उनले सोमबार बिदाइ कार्यक्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै भने।
३० वर्ष लामो फुटबल प्रशिक्षकको अनुभव सँगालेका प्याट्रिक भन्छन्, ‘मैले ३० वर्षसम्म प्रशिक्षकको रुपमा काम गरेको छु। विभिन्न राष्ट्रिय टिममा पनि रहें। यो टिम निकै राम्रो छ। हामीले यसपटक सकारात्मक सोच र तरिकाले यो टिमलाई अगाडि सार्ने छौं।’
हामी राम्रो टिम छौं। यसो भन्दै गर्दा खेलाडीलाई प्रेसर नदिनु,हाम्रो टिम राम्रो छ। हामी अन्तिमसम्म जित्नका लागि खेल्नेछौं।
कप्तान एञ्जिला तुम्बापो सुब्बा भन्छिन्, ‘तयारी राम्रो भएको छ। साम्बा हाम्रो उत्कृष्ट टिम एकदमै राम्रो छ। क्वालिफायर्स खेल्न गइरहेका छौं। अब आउँदो ४ वर्षमा हामीले खेल्न पाउँछौं कि पाउँदैनौं। यो हाम्रो लागि निकै राम्रो अवसर हो। त्यही भएर त्यो अवसर हामीले गुमाउनु हुँदैन। राम्रो हुन्छ भन्ने आशा छ।’
४ दशकमा १००औं खेल खेल्ने अवसर
नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको ४० वर्षमा बल्ल १००औं खेल खेल्ने अवसर पाउँदैछ। सन् १९८६ यता महिला एसियन कपबाट अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपालले हालसम्म ९९ वटा अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ। तर यो ४० वर्षमा ९९ वटा खेल खेल्दा हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन। त्यो नेपाली महिला फुटबलको अर्को तीतो सत्य हो। नेपाली महिला टिमले थाइल्यान्डसँग खेलेको मैत्रीपूर्ण फुटबल नेपाली टिमले खेलेको ९९औं अन्तर्राष्ट्रिय खेल हो।
नेपालले एएफसी एसियन कप छनोटको दौरान लाओससाग खेल्ने खेल नेपाली महिला फुटबलको १००औं अन्तर्राष्ट्रिय खेल हुनेछ नेपाली महिला फुटबल टिमले ४० वर्षमा जम्मा १०० खेल खेल्नु भनेको निकै कम अवसर पाएको कप्तान एञ्जिला र राष्ट्रिय टिमकी उच्च गोलकर्ता सावित्रा भण्डारीले भने।
एञ्जिला भन्छिन्, ‘४० वर्षमा १०० वटा खेल भनेको निकै कम खेल हो। हामीले १० वर्षमा ५० खेल खेलेको छु। ४० वर्षमा १०० खेल खेल्नु भनेको निकै कम हो। विस्तारै हामीले एक्सपोजर बनाइरहेका छौं। भोलिका दिनमा अझै धेरै एक्स।पोजर पाउनेछौं होला!’
नेपाली महिला फुटबल टिमको लागि हालसम्म उच्च गोलकर्ताको रूपमा चम्किएकी फर्वाड सावित्रा भन्छिन्, ‘खेलाडीको लागि १००औं खेल्न पाउने निकै राम्रो कुरा हो। सकारात्मक नतिजा दिने क्षण हो। हाम्रो लागि यो निकै विशेष हुनेछ।’ यसमै जोड्दै १०० खेल नेपाली महिला फुटबलको विकासमा निकै कम भएको उनले बताइन्, ‘यो निकै कम खेलहरू हो । नेपाली महिला फुटबललाई विकास गर्न अझै धेरै खेलहरू हुनुपर्छ। हामी १०० होइन ५०० खेल खेल्न तयार छौं। ’
प्रतिक्रिया दिनुहोस !