अब नयाँ पुस्ता, नयाँ मानक
सहज हुँदैन पुरानोलाई प्रतिस्थापन गर्न तर पुनस्र्थापित भएरै छोड्छन् एक दिन नयाँ विचार र मानकहरू ।
चलनचल्तीको भन्दा पृथक् गतिविधि, सोच्ने तरिका, अप्रश्नीय भनिएकाहरूलाई प्रश्न गर्ने हिम्मत समाजविरोधी मानिन्छ । जे अगाडि देख्यो, त्यो नै आखिरी सत्य हो भनिएको समाजमा सत्य अर्काे पनि हुन सक्छ है भन्ने खोज अपराध र कर्म र निक्रिष्ट हर्कतको रूपमा दरिन सक्छ । हरेक कालखण्डमा नवीन पुस्ताको सोच, शैली, अवधारणा र तरिका अनैतिक, अव्यावहारिक र आलोकाँचो ठान्छ, हत्तपत्त रुचाउँदैन पुरानो पुस्ताले ।
नयाँ विचार दण्डित हुने परम्परा मानव समाजमा नौलो मानिन्न, चाहे त्यो आधुनिक विश्वको वैज्ञानिक सभ्यता होस् या अन्धविश्वासी समाजको पुरानत सभ्यता प्रत्येक नयाँ पुस्ता पुरानो पुस्ताको हैरानी, ताडना र कोपभाजनबाट अभिशप्त छ । विश्व इतिहासमा यस्तै दृष्टान्त पाइन्छ । नयाँ विचारको भ्रूण हुर्काउनु पाल्नु र समाजमा स्थापित गर्नु सुगम कर्ममा दरिन्न । नयाँ विचार भ्रूणमा नै हत्या हुने खतरादेखि पुष्पित र पल्लवित हुँदा हरपल खतराको सामना गर्दै हुर्केको हुन्छ । नयाँ आगोमा टेक्ने आँधीमा उभिने, हिउँपानी र घाम ओस सबै सहने पचाउने ल्याकत राख्दै खारिनु पर्छ ।
चेप्टो भनिएको सूर्य गोलो छ भनेर २५ सय वर्षपहिले अनुमान गर्ने र प्रमाणित गर्ने ग्रिक गणितज्ञ पाइथगोरस र दार्शनिक एरिस्टोटलाई आफ्नो निष्कर्ष सुनाउन र बुझाउन हम्मेहम्मे परेको थियो । समाजले सहजै पत्याएन, बहुला कुरा भन्यो । आकाशको सूर्य हेरेर समयको अनुमान गर्ने समयमा पोप सिल्भेस्टरले सन् ९६६ मा घडीको आविष्कार गरेर समय व्यवस्थापन गर्न सजिलो बनाइदिँदा पनि चर्काे विरोध गरेर समाजको लय भत्काउने अवाञ्छित गतिविधि भनिएको इतिहास पढ्न पाइन्छ ।
ईश्वर नै आदि र अन्तिम सत्य भनिएको बेला ईश्वरमाथिको हमला र वज्रपात असामान्य हिम्मतको कुरा थियो । पापी हठी अपराधी र अधर्मी देखिने चुनौती थियो । ईश्वरीय विधि र विधानका विरुद्ध आजको मान्छेको क्रियाकलाप केन्द्रित छ । आविष्कार, चिकित्सा अन्तरिक्षको खोज, विज्ञानको अनेकौं चमत्कार ईश्वर प्रतिकूल अवधारणाहरू हुन् । ईश्वरसँगको निर्भरता छोड्ने प्रथम कदम नै ईश्वरसँग मान्छेको विद्रोह र प्रगतिको यात्रा थियो । दार्शनिक फ्रेडरिक नित्सेले ईश्वर मरेको घोषणा गरे त्यो हिम्मत आजपर्यन्त गर्न मुस्किल छ । विश्वका ८ अर्ब मानिसमा १५ प्रतिशत मान्छे मात्र भौतिकवादी छन् भनिन्छ । ईश्वर एकमात्र सत्य मानिने समयमा ईश्वर मरेको घोषणालाई कति अराजकको मानियो होला ?
ईशापूर्व करिब ६०० को समयमा पूर्वीय भूमिमा वेदको निन्दा (ब्रह्म सत्य जगत् मिथ्या) गरेर भौतिक तत्वलाई (अग्नि, जल, तेज, वायु र आकाश) मात्र सृष्टिको आदितŒव र चेतनालाई विशिष्ट गुण मान्ने चार्वाक मत सम्भवतः पहिलो भौतिकवादी विचार तत्कालीन समाजका लागि विवर्जित विषय थियो । २५ सय वर्षअघि गौतम बुद्धले अवलम्बन गरेको शान्तिको मार्ग पनि कम कठिन थिएन । यसर्थ नयाँ विचार आविष्कार र नयाँ अध्याय जहिल्यै र जुनसुकै समाजले हानिकारक भनिदिन्छ । आजसम्म नयाँ पुस्ता र दस्तालाई सहजै ठाउँ छोडेको, बाटो खोलिदिएको इतिहास विरलै होला । नयाँले हामीलाई चौतर्फी घेराबन्दी गरे भन्ने गुनासो इतिहासको अध्ययनको कमीमा आएको धारणा हो । घेराबन्दी तोड्ने संकल्प र हिम्मतमात्र जायज हो । कुनै पनि विचार निरन्तर टिक्न त्यसमा खिया लाग्नु हुँदैन । विचारहरू पनि समयक्रमममा भुत्ते हुन्छन्, जसलाई निरन्तर धार लाउने र खिया झार्ने, आरन र खलाँती आवश्यक हुन्छ ।
हवाईजहाज बनाउने राइट दाजुभाइको परिकल्पना सन् १९०३ को सफल परीक्षण र लगातार परीक्षणपश्चात् मात्रै मान्यता पाएको वैज्ञानिक आविष्कारले नै आज आवाजभन्दा छिटो उड्ने सुपर सोनिक हवाईजहाज बन्नेसम्मको यात्रातय भएको मानिन्छ । समाजले हरेक नयाँ परिकल्पनालाई पागलपनको संज्ञा दिन्छ । सुप्रसिद्ध दार्शनिक, राजनीतिक, अर्थशास्त्री, इतिहासकार, माक्र्सवादका प्रणेता, समाजशास्त्री कार्ल माक्र्स विचार र दर्शनको दुनियाँमा सन् १९४८ मा ‘कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेयता सबैभन्दा बढी पढिएका विरोध गरिएका विचार हुन् । विचारको सत्तामा माक्र्स जहिल्यै केन्द्रमा छन् । उनका विचारको विरुद्ध होस् या समर्थनमा विचारहरू घर्षणमा छन्, विचारकहरू घोत्लिएका घोत्लिएकै छन् । माक्र्स पनि तत्कालीन समाजको लागि अराजक नै हुन् । सर्वहारा, मजदुर, भूमिहीन र किसानका हितको कुरा गर्ने माक्र्स व्यवस्था विरोधी समाज विरोधी र सामाजिक मूल्य विरोधी मानिन्छन् । परम्परागत समाजले मूल्य दिएका मानक भत्काएर नयाँ मानवीय मानक सिर्जना गर्ने माक्र्सको दृष्टिकोण शक्ति र सत्ताको हालीमुहालीमा एकछत्र राज गरेर बस्नेको नजरमा बिझाइरह्यो, अझै सयौं वर्ष बिझाइरह्न्छ ।
१९९७ सालमा मारिएका चार सपूत जसले राणाशाहीका विरुद्ध प्रजातन्त्रको बिगुल फुकेको परिणाम मारिनु प¥यो । २००७ सालको परिवेशमा राजनीतिमा क्रियाशील दलहरू, प्रजापरिषद् नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी समाजविरोधी अराजक र अनैतिक गतिविधिका वाहक शक्ति थिए । व्यवस्था परिवर्तनको पक्षमा क्रान्ति र आन्दोलनको पक्षमा थिए । त्यसैले उनीहरू तत्कालीन सत्ताको नजरमा आँखी हुने नै भए । २०१६ सालमा बीपी कोइरालाको मन्त्रिमण्डलमा महिला द्वारिकादेवी ठकुरानीको नियुक्ति आजको स्विट्जरल्यान्डमा महिलालाई मताधिकार दिनुभन्दा १२ वर्ष पहिलेको घटना थियो । त्यो घटना नेपाली समाजको चेतभन्दा धेरैअघि भएको कारण सहजै ग्राह्य विषय थिएन ।
राजा महेन्द्रको २०१७ सालको राजनीतिक कुपछि पनि नेपाली कांग्रेस नेकपालगायतका राजनीतिक शक्तिहरू अराष्ट्रिय तत्व भनेर प्रतिबन्धित थिए । त्यसैले २०४६ सालको परिवर्तन नआएसम्म दण्डका भागीदार बनेर, जेल गए निर्वासन गए, भूमिगत बने । २००६ सालमा लमजुङमा हलो जोत्ने अगुवाइ गरेका हरिभक्त शेषकान्त र तोयानाथहरूको (२७ बाहुनहरू) गरेको प्रतीकात्मक विद्रोह, समतावादी चेत वैषम्य समाजले पचाउन सकेन । त्यसैले परिवर्तन र विद्रोहको चेतलाई गीतमार्फत व्यंग्य गरियो । ‘शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित, हलो जोती बिग्रे’ बाहुनले पनि हलो जोत्न हुन्छ, कुनै पनि जात कामको आधारमा निषेध र अयोग्य हुँदैनन् भन्ने अभिप्राय हलो जोत्नेहरूको देखिन्छ ।
समाजले बिग्रेको, बहुलाएको जात फालेको, अपसकुनको काम गरेको भनेर चित्रण गरेर परिवर्तनकारी चेतनालाई खिज्याएर जेल कोचेको थियो । समाजमा नयाँ विचारहरू अपच हुन्छन् । यो हरेक समयको, हरेक समाज र देशको विडम्बनायुक्त परिस्थिति हो । नयाँलाई निषेध, प्रतिरोध, हतोत्साहित पार्न सत्ताले अनेकन हथकण्डा प्रयोग गर्छ । समाजमै प्रतिकारको भाष्य निर्मित गरेर लडाउन र सामाजिक अस्वीकृतिका लागि ज्यादती गर्छ । दमन र उत्पीडनको सहारा लिन्छ । प्रतिकूल परिस्थिति निर्माण गरिदिन्छ ।
लक्ष्मीप्रसाद देवकोटाले साहित्यमा नयाँ लहर ल्याइदिए तर शासकहरू उनको चेतविरुद्ध थिए र उनी पनि बहुला बनाइए । बालकृष्ण समले आधुनिक नेपाली महाकाव्यमा परम्परगत महाकाव्य लेखनको केन्द्र कुलीन र सम्भ्रान्त नायक बनाउने चलन विस्थापन गर्दै ‘चिसो चुलो’ महाकाव्य २०१५ सालमा लेखे । जसमा अछुत भनिएको एक सामान्य दमाईलाई नायक बनाएर नयाँ नायकको प्रस्तावना गरेर एउटा क्रमभंग गरिदिए । यो साहित्यिक कर्मको पनि शास्त्रीयतावादीहरूले व्यापक र धुवाँदार विरोध गरे । २०६२ सालमा ‘विषे नगर्चीको बयानमा’ कवि श्रवण मुकारुङले पृथ्वीनारायण शाहको समकक्षता प्रदान गरेकोमा पनि विमति राखियो । शाहलाई नेपाल एकीकरणको एकलौटी जस दिएको पढेको समाजले विषेले यो राज्य मेरो पनि हो यसमा मेरा पुर्खा र सबै नेपालीको इतिहास रक्षा र इतिहास परिवर्तनको हिस्सा मागेको कविता लेख्दा अपच ठानियो ।
नयाँ विचार बोक्दैमा नयाँ हुँदैमा सबै टिक्दैनन् । कति कति नयाँ विचार नयाँ मान्छे र सोचको विलुपीकरण भएको छ । नेपालको राजनीतिक इतिहासमा प्रजा परिषद् एकादेशको कथा बन्यो । नयाँ भन्नेबित्तिकै राम्रो भन्ने भाष्य गलत छ । नयाँलाई परिक्षित नहुन्जेल शंकाको लाभ प्राप्त हुन्छ । आजसम्म यो युगमा नयाँ पुस्ताले जुन र जे जस्ता चिन्तन अघि सारेर समाजमा तरंग पैदा गरे ती सब तत्कालीन समयका लागि अराजक, अनैतिक र अयुगीन विचार थिए । त्यसैले विचारहरू उत्पादन हुन्छन्, विमर्शमा जान्छन्, ज्ञान बन्छन् र समाजमा वितरित हुन्छन् । सहज हुँदैन पुरानोलाई प्रतिस्थापन गर्न तर पुनस्र्थापित भएरै छोड्छन्, नयाँ विचार र मानकहरू । सामान्य मान्छेले परिकल्पना गरेकोभन्दा पृथक् परिकल्पना नै समाज रूपान्तरण र परिवर्तनको आजको अवस्थाको निरन्तरता हो ।
कुनै समय छाता ओढ्नेहरू दलितले छोएको खाने र सबै मान्छे समान हुन् भन्नेहरू, पत्रपत्रिका पढ्नेहरू, फिल्म हेर्ने र खेल्नेहरू रेडियो सुन्नेहरू, लभ म्यारिज गर्नेहरू, स्कुल खोल्नेहरू, आधुनिक गीत, संगीत सुन्ने र गाउनेहरू, ¥याप गाउनेहरू, कविता लेख्नेहरू, प्रेमपत्र कोर्नेहरू, क्लब जानेहरू, डिस्को छिर्नेहरू, चर्पी बनाउनेहरू झन् घरभित्रै चर्पी बनाउनेहरू समाज भँडुवा मानिन्थे । आज पनि नयाँ पार्टी खोल्नेहरू, नयाँ चिन्तन र विचारमा काम गर्नेहरू विचार नभएका लाग्छन् । पुरानो पुस्ता नयाँ पुस्तामा जहिल्यै खोट देख्छ, पुस्तान्तरणमा भाँजो हाल्छ तर पनि सब बाधा व्यवधानलाई पन्छाउँदै नयाँ पुस्ता र दस्ता अघि जान्छ । यो समाज विज्ञानको नियम नै हो । नयाँ विचारले नैतिकता, धर्म, ईश्वर, परम्परा र संस्कृतिको पुनरावलोकन गर्दै पुनर्निर्माण र विनिर्माण गर्नुपर्छ भन्ने मत राख्छ । शास्त्रीय नैतिकता र अनैतिकताको परिभाषा बदल्न खोज्छ ।
प्रतिक्रिया दिनुहोस !