थाई एयर एसियाले भैरहवाबाट फेरि उडान भर्ने
भैरहवा : थाई एयर एसिया भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः व्यावसायिक उडान गर्ने भएको छ। गत कात्तिक १८ गतेदेखि यस विमानस्थलबाट व्यावसायिक उडान थालेको कम्पनीले विभिन्न कारण देखाउँदै बीचमा उडान स्थगित गरेको थियो।
केही समय अघि कम्पनीले भैरहवा विमानस्थलबाट उडान अनुमतिको माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा पेश गरेको निवेदन सहितको ‘विन्टर सेड्युल’ स्वीकृत भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए।
उनले थाई एयर एसियाले अगामी कार्तिक ९ गते देखि साताको दुई दिन आइतबार र बुधबार उडान गर्ने तालिका रहेको बताए। विमान कम्पनीले विगत जस्तै बैंकक–भैरहवा–बैंकक सिधा उडानको अनुमति पाएको छ।
हाल विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान छैन। सरकारले अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई भैरहवाबाट सेवा प्रदान गर्दा विभिन्न सहुलियत दिने भए पनि उनीहरू उडानका लागि आएका छैनन्।
नेपाल एयरलाइन्सले समेत यस विमानस्थललाई छाडेर काठमाडौं केन्द्रित मात्र सेवा प्रदान गर्दा सरकारको आलोचना हुँदै आएको छ। विगतमा भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्सका साथै कतार एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया र जजिरा एयरवेजले उडान गरेका थिए।
प्रतिक्रिया दिनुहोस !