कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला, हत्यारा १७ वर्षपछि पक्राउ
विराटनगर : विराटनगरमा भएको वीभत्स हत्याको घटनामा दोषी ठहर भएका व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन्।
घटना भएको र अदालतले दोषी ठहर गरेको धेरै भइसक्दा पनि हत्यारा पक्राउ गर्न प्रहरीलाई समय लागेको हो। खोजी तीव्र पारेको प्रहरीले हत्यारा भारतमा लुकेर बसेका कारण पक्राउ गर्न सकिरहेको थिएन। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले १७ वर्षअघिको हत्यामा संलग्न विराटनगर महानगरपालिका–१५ घर भइ विराटनगर–१६ मा बस्दै आएका अन्दाजी ३५ वर्षीय राजकुमार सहनीलाई पक्राउ गरिएको जानकारी दिइन्।
उनका अनुसार २०६५ साउन २६ गते विराटनगर–१५ का १७ वर्षीय शम्भुकुमार सहनीको हत्या भएको थियो। धारिलो हतियारले प्रहार गरेर हत्या गरेपछि २ टुक्रा पारेर विराटनगर–१६ स्थित नहरमा फालेको अवस्थामा २०६५ साउन २८ गते शम्भुको शव फेला परेको थियो। त्यतिबेला हत्या गरेपछि बोरामा पोको पारेर फालेको क्षतविक्षत अवस्थाको शव नहरमा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीको अनुसन्धानबाट हत्यामा राजकुमार सहनी लगायतको संलग्नता पुष्टि भएको थियो। ‘राजकुमारलगायतका व्यक्तिहरुले मृतक शम्भुलाई घरबाटै बोलाएर लगेका रहेछन्। बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा २ दिनपछि शव भेटिएको हो। हत्यामा संलग्नहरु लामो समयदेखि फरार थिए,’ प्रहरी स्रोतले भन्यो। हत्यामा संलग्नमध्ये राजकुमार बल्ल पक्राउ परेका हुन्।
घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत मोरङले २०७७ माघ २० गते उनलाई जन्मकैदको फैसला सुनाएको थियो। अदालतको फैसला अनुसार राजकुमारले २० वर्ष कैद बस्नुपर्ने हुन्छ। अदालतले दोषी ठहर गदै जन्मकैदको सजाय सुनाएको भए पनि उनी लामो समयदेखि भागिरहेका थिए। सजाय भुक्तान नगरिकन फरार बनेका राजकुमारलाई प्रहरीले बल्ल पक्राउ गरेको हो।
राजकुमार नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ परेको डीएसपी चुँडालले बताइन्। इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई र इलाका प्रहरी कार्यालय रानी सीमाबाट खटिएको सई सुवास अधिकारीसहितको टोलीले शुक्रबार साँझ ६ बजेतिर उनलाई पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार शम्भुको हत्या गरेपछि राजकुमार लामो समयसम्म भारतमा लुकेर बसेको पाइएको छ। प्रहरीले उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङमा बुझाउने तयारी गरेको छ। अदालतले कामतलाई सजाय भुक्तानका लागि कारागार चलान गर्ने छ।
प्रतिक्रिया दिनुहोस !