मिसन–८४ सफल पार्न अध्यक्ष ओलीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको मिसन–८४ सफल पार्न निर्देशन दिएका छन्। जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको जबजका ३ दशक विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनले मिसन–८४ सफल पार्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले एमालेले मार्क्सवादी चिन्तन र बहुदलीय जनवादलाई आत्मसात् गरेकाले निकै बलियो रहेको बताए। उनले आफूहरूले पछिल्ला तीन दशकमा जबजका सिद्धान्त अगाडि बढाउँदै कार्यान्वयन गर्दै आएको बताए।
प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीलाई आफूहरूले छलफल र विश्लेषणसहित पार्टीको महासचिव बनाएको पनि बताए। उनले भने,‘जबजको पृष्ठभूमि र त्यसको आधारका विचार तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो। मदन भण्डारी महासचिव बन्ने कुरामा हाम्रो अगुवाइ थियो। मदन भण्डारीलाई हामीले महासचिव बनाएका थियौँ।’
प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीले राष्ट्रिय राजनीतिमा पुर्याएको योगदान र गरेको दिशानिर्देश नेपालको राजनीतिक विकास क्रमको इतिहासमा एउटा विशेष कालखण्ड भएको बताए। उनले पछिल्लो समय मुलुक तीव्र गतिमा विकासका बाटोमा अघि बढेको बताए।
प्रतिक्रिया दिनुहोस !