सन्धिखर्कको प्राथमिकतामा कृषि, पशुपालन र पर्यटन

सन्धिखर्कको प्राथमिकतामा कृषि, पशुपालन र पर्यटन

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब ११ करोड १४ लाख रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

१८ औं नगरसभा तथा अधिवेशनको उद्घाटन नगरप्रमुख एवं सभाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले गरेका थिए। नगरसभामा उपाध्यक्ष मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत तथा सचिव खिमानन्द भुसाल, वडाध्यक्षहरू, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरू तथा विभिन्न शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सभामा नगर प्रमुख श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नगर प्रमुख श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसहमतिले पास गरिएको छ। जसमा कृषि, पशुपालन र पर्यटन प्राथमिकतामा छ।

नगर उपप्रमुख मि श्रा आचार्यले १ अर्ब ११ करोड १४ लाख रुपैयाँको बजेट पेस गरेकी थिइन्। प्रस्तावित बजेटमा पुँजीगततर्फ ३२ करोड ३८ लाख ६७ हजार र चालुतर्फ ५६ करोड ७५ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ। अन्य रकम सामाजिक सुरक्षामा गरेर १ अर्ब ११ करोड १४ लाख रुपैयाँको बजेट रहेको छ। 

नगर प्रमुख श्रेष्ठले ‘सेवाको वरिपरि जनता होइन, जनताको वरिपरि सेवा’ भन्ने अवधारणा कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाएका छन्। नगरवासीको जीवनस्तर सुधार र सहज सेवाप्रवाह सुनिश्चित गर्न नागरिक आवश्यकतालाई केन्द्रमा राखेर योजना निर्माण गरिने उनको भनाइ छ।
सभामा प्रस्तुत नीति तथा कार्यक्रममा सामाजिक न्याय, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ। विशेषगरी नगरका तीन प्रमुख धार्मिक तथा पर्यटकीय स्थल—सुपा देउराली, नरपानी र अर्घाको पर्यटन प्रवर्धनका लागि विशेष पहल गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

कृषि क्षेत्रको सशक्तिकरणलाई नीति कार्यक्रममा केन्द्रमा राखिएको छ। नगरभित्र व्यावसायिक खेती विकास र रैथाने बालीको संरक्षणलाई प्राथमिकता दिइने बताइएको छ। त्यसैगरी, हल गोरु पाल्ने किसानहरूलाई प्रोत्साहनस्वरूप विशेष कार्यक्रम सञ्चालन गरिने योजना पनि नीति कार्यक्रममा उल्लेख छ।

उद्योग, व्यापार तथा स्वरोजगार सिर्जनामा टेवा पुर्‍याउने उद्देश्यले ‘सुलभ कर्जा’ कार्यक्रमअन्तर्गत प्रस्ताव मूल्यांकनको आधारमा ५ लाख रुपैयाँसम्मको बिनाधितो ऋण उपलब्ध गराइने व्यवस्था गरिएको छ प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए। यसले स्वरोजगारको अवसर सिर्जना गर्नुका साथै साना उद्यमीहरूलाई आर्थिक उकासो दिन सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक विद्यालयहरूमा संस्थागत सुधार अभियान सञ्चालन गरिने बताइएको छ। नगरभित्रको पाणिनी बहुमुखी क्याम्पसमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि १३ लाख रुपैयाँको विशेष विनियोजन गरिएको छ। यसले उच्च शिक्षामा पहुँच विस्तार र गुणस्तरीय शिक्षा प्रवर्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको नगरपालिकाका सूचना अधिकारी मञ्जु खनालले जानकारी दिइन्।

स्वास्थ्य क्षेत्रलाई जनमुखी बनाउने गरी विभिन्न कार्यक्रमहरू अघि सारिएका छन्। स्वास्थ्य शिविर सञ्चालन, विशेषज्ञ चिकित्सकको सेवा विस्तार, अस्पतालमा आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापनजस्ता कार्यक्रममार्फत नगरवासीको स्वास्थ्य सेवा पहुँच विस्तार गरिने योजना नीति कार्यक्रममा समावेश गरिएका छन्।

स्थानीय पर्यटन स्रोतको पहिचान, प्रवर्धन र पूर्वाधार विकासका लागि विशेष प्राथमिकता दिइएको छ। सुपा देउराली, नरपानी र अर्घाका धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्धनमार्फत नगरलाई पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको नगरपालिकाका योजना अधिकृत दिलीपकुमार केसीले जानकारी दिए।

उद्योगको सन्दर्भमा लघु तथा घरेलु उद्योगको प्रोत्साहन, सीपमूलक तालिम, उत्पादकत्व वृद्धिका लागि प्रविधिको प्रयोग र बजार व्यवस्थापन जस्ता विषयवस्तुमा नीति कार्यक्रम केन्द्रित छ। यसमार्फत स्थानीय स्तरमै रोजगारी सृजना र आर्थिक समृद्धिको लक्ष्य राखिएको नगरपालिकाका राजस्व शाखा प्रमुख मुक्ति खनालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.