प्रश्न सोध्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनी : ‘तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ छौं र ?’

प्रश्न सोध्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनी : ‘तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ छौं र ?’

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेरको आरोप लगाउने विपक्षी सांसदलाई उल्टै चेतावनी दिएका छन्। अर्थमन्त्री वाग्लेले करका दर हेरफेर गरेर व्यापारी पोस्ने काम गरेको भन्दै विपक्षी दलका सांसदहरूले आरोप लगाएका थिए। प्रतिनिधिसभा बैठकमा बजेटमाथि उठेका प्रश्नको बिहीबार जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो चेतावनी दिएका हुन्।

‘यो नैतिक आँट र उचाइ मप्रति औंला ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ,’ अर्थमन्त्री वाग्लेले चेतावनी दिँदै भने, ‘तपाईंहरूको काण्डबारे हामी अनभिज्ञ छौं र ? ’ उनले आफूमाथि औंला ठड्याउने सांसदहरूलाई कारबाहीको चेतावनीसमेत दिए।

आफूमाथि लागेको करका दर हेरफेरको आरोपको प्रतिवाद गर्दै उनले अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने घोषणा पनि गरे। विपक्षी दलका सांसदहरूले करका दर हेरफेर गर्नु ‘राजद्रोह’ को अपराध भन्दै अर्थमन्त्री वाग्लेको राजीनामा मागेका थिए। यद्यपि, अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभादेखि सार्वजनिक लेखा समितिसम्म विपक्षी सांसदका आरोपको प्रतिवाद गरे।

‘मैले सार्वजनिक लेखा समितिमा पनि भनें– एक–दुईवटा खोस्टाहरूले २ अर्बको आशंका इत्यादि भनेर लेखे। तर, २ अर्ब होइन, २ रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने मन्त्री पद त्यागिदिन्छु,’ उनले भने, ‘सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु।’

वाग्लेले विपक्षी दलका सांसदहरूले आफूबारे अफवाह फैलाएर आफ्नो र सदनको ओज घटाउने काम गरेको आरोप पनि लगाए। उनले प्रश्न गर्दै भने, ‘स्वर्णिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर करका दर चलाएर व्यापारी पोस्यो भन्ने पनि सुनियो। सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनप्रतिको कठोर प्रतिबद्धतालाई जनताले अनुमोदन गरेको दुई महिनामै हामी जनतालाई धोका दिन सक्छौं र ?’ अर्थमन्त्रीले आफूहरूले अस्थिरतालाई चिर्न खोजेको बताए। ‘नयाँ दिशा लिन खोजेका हौं,’ उनले भने, ‘बजेट सर्वस्व होइन। २१ खर्बले बीउ रोप्ने मात्रै हो।’
‘त्रुटि कर्मचारीको, अपनत्व मेरो’अर्कातर्फ, अर्थमन्त्री वाग्लेले सार्वजनिक लेखा समितिको बैठकमा करका दर हेरफेर विवादमा कर्मचारीको कमजोरी रहेको बताए। कर्मचारीको कमजोरीका कारण केही छुट हुन पुगेको उनले स्पष्ट पारे। १५ गते संसद्मा पेस गरेको आर्थिक विधेयकमा एक ठाउँमा करका दर र अर्को ठाउँमा शुल्क हेरफेर भएको उनले स्वीकार गरे।

अर्थमन्त्री वाग्लेले सांसदहरूले प्राप्त गरेको करसम्बन्धी प्रतिवेदनमा एक पाना आफूले सच्याएको बताउँदै सच्याएको कुरा बाहिर आउनुपर्ने उल्लेख गरे। उनले उक्त कुरा आफूले लेखेर दिएपछि मात्र दुनियाँले थाहा पाएको दाबी गरे। कर्मचारीको कमजोरी औंल्याउँदै उनले भने, ‘पिजन होलमा सच्याएको कुरा आउनुपथ्र्यो, आएनछ।’ कर्मचारीले काम गर्ने क्रममा सच्याएको कुरा छुटाएको भए पनि आफू अर्थमन्त्री भएको हैसियतले त्यसको अपनत्व लिने उनले बताए।

‘१५ गते बिहान धेरै कर्मचारी साथीहरू सुत्नु पनि भएको थिएन, बिहान ४–५ बजेसम्म आर्थिक विधेयकको तयारीका लागि जुटिरहनुभएको थियो। १६ गते बिदा भयो, १७ गते हतारहतारमा काम गर्दा केही सामान्य त्रुटिहरू भएको पत्ता लागेपछि उहाँहरू मकहाँ आउनुभयो। कर्मचारीहरूले आफैंले पत्ता लगाएर मन्त्रीकहाँ आउनुभयो र भन्नुभयो– मन्त्रीज्यू, केही त्रुटिहरू भएका रहेछन्, यसलाई सच्याऔं,’ अर्थमन्त्री वाग्लेले भने। उनले आर्थिक विधेयकमा कर्मचारी तहबाट भएका केही त्रुटिहरूलाई विधिसम्मत तरिकाले सच्याएको र यसमा कुनै छलछाम नभएको प्रस्टीकरण 
दिएका छन्।

बुधबार भएको अर्थ समितिको बैठकमा पनि अर्थमन्त्री वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको बताएका थिए। ‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभामा अवरोध गरेर मविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘म त्यसको जवाफ दिन नै संसदीय समितिमा आएको हुँ।’

अर्थमन्त्रीको जवाफपछि सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप

अर्थमन्त्री वाग्लेले सदनमा दिएको जवाफपछि सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप चलेको थियो। प्रतिपक्ष दलले वाग्लेको जवाफप्रति आपत्ति जनाएका छन् भने सत्तापक्षले समर्थन गरेका छन्। प्रतिपक्षी दल एमालेकी सांसद साजिदा सिद्दीकीले वाग्लेले बोलेलगत्तै नियमापत्ति जनाइन्। उनले भनिन्, ‘उहाँले भन्दै जाँदा यो कम्युनिस्टको बजेट होइन, यो हाम्रो बजेट हो भन्नुभयो। कम्युनिस्टको बजेटमा के त्यस्तो थियो र उहाँले कम्युनिस्टको बजेट भनेर प्रश्न गर्नुभयो ? मलाई लाग्छ हिजोका शासनहरू हेर्दै आउँदा हिजो कम्युनिस्ट सरकार हुँदा देश र जनताले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अधिकारलाई लिएर अगाडि बढेको थियो।’ सांसद सिद्दीकीले आफूहरू गँवार नभएको भन्दै आँखा जुधाएर बोल्न चुनौती दिएकी थिइन्। ‘मन्त्रीज्यू ! तपाईंको आफ्नो टिमतिर मात्र आँखा जुधाउने होइन, सक्नुहुन्छ भने यता पनि फर्केर बोल्ने गर्नुस्। के हामी अनभिज्ञ छौं र ? ’ उनले भनिन्, ‘हामी यति अनपढ गँवार भएर सदनमा आएका होइनौं। उहाँले सम्मान गर्न पनि सिक्नुपर्छ।’

सिद्दीकीले अर्थमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएपछि रास्वपाकी सांसद रञ्जु दर्शनाले प्रश्न उठाइन्। रञ्जु दर्शनाले सिद्दीकीको भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरिन्। ‘कम्युनिस्टको बजेट होइन’ भन्ने अर्थमन्त्रीको जवाफ आपत्तिजनक नभएको उनले बताइन्।

प्रमुख प्रतिपक्षी कांग्रेसका सचेतक निश्कल राईले अर्थमन्त्री वाग्लेले बारम्बार करका दरमा हेरफेर गरेको आरोप लगाए। राईले प्रश्न गरे, ‘यहाँ अर्थमन्त्री पनि हुनुहुन्छ, करका दरमा बारम्बार हेरफेर गर्नुभयो। उहाँले संसद्को अधिकारमा कैँची चलाउनुभएको हो कि आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो ? ’

राईले सदनमा पेस भइसकेको आर्थिक विधेयकमा भएको हेरफेर अक्षम्य गल्ती भएको बताए। उनले भने, ‘यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो ? सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र ? कुन स्वार्थमा करका दर आफूखुसी परिवर्तन 
भयो ?’ सदनमा पेस भएको विधेयकलाई सरकारले आफूखुसी सच्याउन नपाउने भन्दै उनले थपे, ‘अर्थमन्त्री संविधानभन्दा माथि हुनुहुन्न, अर्थमन्त्रीको कदम उहाँ प्रतिपक्षमा हुँदाको भाषामा राजद्रोहसरह छ। यसमा छानबिन हुनुपर्छ।’ उनले करका दर हेरफेर सामान्य त्रुटि 
नभएको जिकिर गरे।

  •     अर्थमन्त्री वाग्लेले कर हेरफेर आरोप लगाउने सांसदलाई सदनमै चेतावनी दिए।
  •     ‘२ रुपैयाँको बदमासी प्रमाणित भए पद छाड्छु’ भन्दै चुनौती प्रस्तुत गरे।
  •     आर्थिक विधेयकमा केही त्रुटि कर्मचारीबाट भएको स्वीकार्दै त्यसको अपनत्व आफूले लिएको बताए।
  •     बजेटमाथिको बहसमा सत्ताारूढ सांसद अमरेश सिंहले समेत आफ्नै सरकारको बजेटप्रति असन्तुष्टि जनाए।

    बजेटप्रति सत्तारूढ सांसद सिंहको असन्तुष्टि

सत्तारूढ सांसद अमरेशकुमार सिंहले आफ्नै सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बजेटको सैद्धान्तिक पक्षमा बोल्दै सांसद सिंहले अहिलेको सरकारले ल्याएको बजेटबाट नेपालका कति प्रतिशत जनता खुसी भएका छन् ? भन्दै प्रश्न गरेका छन्। उनले बैंकर खुसी भएको भए किन बैंकमा निक्षेप किन जम्मा भएको छ ? किन कोही ऋण लिन तयार भइरहेका छैनन् ? भन्दै सरकारलाई प्रश्न गरेका छन्।

सांसद सिंहले नेपालमा अहिले व्यापार व्यवसाय गर्ने वातावरण नभएको समेत बताएका छन्। उनले अहिले डरको माहोल रहेको बताउँदै भने, ‘डरले शासन चल्ला तर डरले परिवर्तन आउँदैन।’ शिक्षा, स्वास्थ्य र संविधानको कुरा गरिनु पर्ने बताउँदै सांसद सिंहले संविधानमा शिक्षा, स्वास्थ्य मौलिक अधिकार भएको बताए। सांसद सिंहले मौलिक अधिकारमा कर लगाउने त्यसमा पनि निजी शिक्षा र अस्पतालमा कर नलागेको बताउँदै सर्वसाधारण नागरिकका छोराछोरी पढ्ने विद्यालयमा लगाइएको बताए। उनले बूढानीलकण्ठ स्कुल पढेका अर्थमन्त्रीको ठूलो नेटवर्क रहेको दाबी गर्दै सांसद सिंहले आफूले ७ प्रदेशमै अर्को बूढानीलकण्ठ जस्तै स्कुल बन्ने विश्वास लिएको तर, त्यस्तो नभएको गुनासो गरे। आफ्नो क्षेत्र किसान र गरिबको मात्र भएको र त्यहाँ कुनै बजार नभएको बताउँदै सांसद सिंहले आफ्नो क्षेत्रका किसानले ५ रुपैयाँमा तरकारी बेच्ने तर, काठमाडौंका उपभोक्ताले ५० रुपैयाँमा किनेर खाने गरेको बताए। उनीहरूले २०–३० रुपैयाँमा बेच्न पाउने वातावरण बनाउने कि नबनाउने ?’

जेन–जी आन्दोलन युवाको आन्दोलन भएको र यसको माग युवालाई रोजगारी समेत रहेको सांसद सिंहले बताए। उनले अहिलेको बजेटबाट कर्मचारीले त केही पाए, गरिब जनताले के पाए भन्दै सरकारलाई प्रश्न गरेका छन्। उनले आफ्नो ध्यान मुसहर र चेपाङ बस्तीमा रहेको बताए। साउथ एसियाका जीडीपीको ३२–३३ प्रतिशतको बजेट बनाउने कुनै देश नभएको बताउँदै सांसद सिंहले भने, ‘फुकेको बेलुन लामो समयसम्म टिक्दैन। बजेट कार्यान्वयन हुन्छ भन्ने मलाई विश्वास छैन, अरू साथीहरूलाई के छ ? ’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.