नेपाली क्रिकेटमा आशा जगाएको जुनियर पुस्ता
काठमाडौं : नेपाली यु-१६ पुरुष क्रिकेट टिम हालः मलेसियामा इस्ट जोन कप खेलिरहेको छ। साविक विजेताको छबि बोकेको नेपालका लागि यो साख जोगाउने चुनौतीसँग कप्तान विपिन प्रसाद शर्माको पुस्ताले फाइनलमा स्थान बनाइसकेको छ।
नेपालले फाइनलमा सिंगापुरसाग खेल्नेछ। समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो। समूह चरणअन्तर्गतको पहिलो खेलमा सिंगापुरलाई नेपालले हराएको हो। नेपालले फाइनल खेल शनिबार मलेसियाको वाइएसडी-युकेएम ओभलमा खेल्दैछ।
नेपालले समूह चरणको खेलमा सिंगापुरमाथि ६ विकेट, जापानलाई ९ विकेट, इन्डोनेसियामाथि ३७० रन र भुटानलाई २९८ रनको फराकिलो जितहरू निकालेको थियो।
सेमिफाइनलमा नेपालले समूह बीको उपविजेता मलेसियालाई ९ विकेटले हराउँदै फाइनल सुरक्षित गरेको थियो। साविक विजेताको गर्विलो छबि बोकेको नेपालको टिमले प्रदर्शनले खेलसँगै नेपाली क्रिकेटमा निकै आश लाग्दो पुस्ताको रूपमा उदय भएको छ।
यसअघि पनि इस्ट जोन कपमा नेपालको छबि राम्रो छ। विपिन प्रसाद शर्माको कप्तानीमा रहेको यो टिमले प्रतियोगिताको व्यक्तिगत विधातर्फ पनि एकतर्फी राज गरिरहेको छ।
व्यक्तिगत विधामा नेपाली बलर र ब्याटरको वर्चस्व
नेपालका लागि रौनक श्रीवास्तवले सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा रहेका छन्। कप्तान विपिन शर्मा बलिङतर्फ सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका छन्। सर्वाधिक स्ट्राइक रेटमा नेपालका परिमार्जन यादवको नाम छ।
रौनकले भुटानविरुद्ध १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको शतकीय पारी खेले। उनले प्रतियोगितामा एकै इनिङ्समा सर्वाधिक रन बनाउनले सिंगापुरका अहान वुथानदमको १४८ रनको रेकर्ड तोडेका हुन्। उनी हालः प्रतियोगिताको सर्वाधिक रनकर्ताको शीर्षस्थानमा छन्। उनले ५ खेलमा ३ इनिङ्स खेल्दै १ शतक र १ अर्धशतकसहित २९६ रन बनाएका छन्।
बलिङतर्फ पहिलो सिजनको नेपाल प्रिमियर लिग(एनपीएल)मा उदयीमान खेलाडीको रूपमा नेपाली क्रिकेटमा आएका विपिन शीर्ष स्थानमा छन्। उनले नेपाली यु-१६ टिमको नेतृत्व गर्दै नेपाललाई फाइनलसम्म पुर्याए। उनले ५ खेलमा ९० रन खर्चे १६ विकेट लिएका छन्। ४४.१ ओभर बलिङ गर्दै उनले १२ ओभर मेडन फालेका छन्।
प्रतियोगिताको सर्वाधिक स्ट्राइक रेटमा पनि नेपालका खेलाडीकै चर्चा छ। नेपालका ओपनर ब्याटर परिमार्जन यादवले १९७.०१ को स्ट्राइक रेटमा खेलेका छन्। उनले ३ खेल खेल्दै २ अर्धशतक प्रहार गरेका छन्। उनले ६७ बलमा १३ चौका र २ छक्कासहित कुल १३२ रन बनाएका छन्।
नेपाली खेलाडीले इष्ट जोन कपमा गरेको प्रदर्शनले नेपाली क्रिकेटको भविष्य उज्जवल देखाएको प्रशिक्षक सामसंग जंग थापाले बताए। उनले अन्नपूर्ण पोष्ट्सँग भने, ‘हामी अहिले क्रिकेटिङ राष्ट्र भइसक्यौं। हाम्रो राम्रो देखिइरहेको छ।’
नेपालका खेलाडीले सानै उमेरमा राम्रो प्रदर्शन गरेको देख्दा नेपाली क्रिकेटको भविष्य उज्वल रहेको उनको भनाइ छ। ‘यी खेलाडीहरू आशा लाग्दा छन्। लामो फर्म्याटको खेलमा बेस राम्रो भएको छ। यी खेलाडीले सानै उमेरमा क्रिजमा देखाएको परिपक्वताले नेपाल क्रिकेटको भविष्य राम्रो देखिएको छ,’ उनले भने।
नेपाली क्रिकेटको युवा खेलाडी उत्पादनमा र प्रशिक्षणमा लामो समय बिताएका राष्ट्रिय टिमका पूर्व प्रशिक्षक जगत टमटा पनि यो यु-१६ ब्याच निकै लामो भविष्य बोकेको पुस्ता रहेको बताउँछन्। उनले भने, ‘पहिलो पटक २ जना खेलाडीले शतक प्रहार गरेका छन्। ४ सय माथि रन बनाएका छन्। बलिङमा पनि यो पुस्तामा स्पिनर, तीव्र गतिका बलर दुवै निकै राम्रो देखिएका छन्।’
उनले आफ्नो प्रशिक्षण करिअरको अनुभव अनुसार यो पुस्ता नेपाली यु-१९ र सिनियरमा समेत निकै राम्रो सम्भावना बोकेको बताए। ‘यी खेलाडीहरूलाई राम्रो एकेडेमीमा प्रशिक्षण दिएर हुर्काउने हो भने देशका लागि यु-१९ र पछि सिनियर टिममा पनि राम्रो गर्ने सम्भावना छ। यसका लागि क्यानले पनि सोच्नुपर्छ,’ प्रशिक्षक टमटाले भने।
समग्रमा यो टिम सन्तुलित देखिएको छ। यो टिममा कप्तान विपिनले जुन समझदारीले बलरलाई पिचको मागअनुसार चलाइरहेका छन्, उनले उमेर समूहमा राम्रो कप्तानको परिचय पनि बनाएका छन्। ‘यो टिमले निकै राम्रो भविष्य देखाइरहेको छ,’ टमटा थप्छन्।
प्रतिक्रिया दिनुहोस !