देश बन्दैछ

७७ औं जिल्ला पनि जोडियो सडकले

७७ औं जिल्ला पनि जोडियो सडकले

हुम्लाको खार्पुनाथ–५ स्थित चुवाखोला कर्णाली नदीमा बेलिब्रिज निर्माण भएपछि सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडियो । उक्त पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार औपचारिक उद्घाटन गर्दैछन् । नेपाली सेनाले झन्डै ४ करोड बजेटमा उक्त बेलिब्रिज ३५ दिनमा निर्माण गरेको हो ।

वीरेन्द्रनगर :
रेलको बाटो पुग्दैछ रे,
तिमी बस्ने सहरैमा  ।

हुम्ला कहिले मोटर आउला,
बस्याको छु रहरैमा  ।।

चार वर्षअघि मात्रै यो गीत सार्वजनिक हुँदा हुम्लावासीका लागि मोटर चढ्ने रहरै थियो । घरआँगनबाटै मोटर चढेर सरर यात्रा गर्ने कुरा केवल सपना झैँ लाग्थ्यो । विश्वले विज्ञान र प्रविधिको क्षेत्रमा चमत्कार गरिसक्दा हुम्लावासीका लागि गाडी चढ्ने कुरा नै ठूलो थियो ।

त्यसैकारण लेखराज गिरीले हुम्लाको कठिन जनजीवन र विकटतालाई शब्दमा उतारे, सुरज पण्डितले मनै छुने लय र स्वर दिए अनि हुम्लामा गाडी नपुगेको कथा र व्यथा गीत–संगीतमार्फत पनि प्रस्फुटित भयो । अब भने, स्थिति फेरिएको छ, गाडी चढ्ने हुम्लावासीको सपना पनि यथार्थमा परिणत हुँदैछ । ७७ वटै जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएको खुसियालीमा देश रम्दैछ ।  

नेपाली सेनाले दु्रत गतिमा सडक निर्माण गर्‍यो, हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडियो । मुलुकमा लोकतन्त्र आएको दुई दशकपछि हुम्ला सदरमुकाममा पनि गाडी पुग्यो । हुम्लावासीका लागि राजधानी काठमाडौं पनि अब टाढा रहेन । घरआँगन नै गाडी चढेर स्वदेशी माटो चुम्दै काठमाडौं आवतजावत गर्ने अवस्था सिर्जना भयो । हुम्ला सदरमुकाम पनि सडक सञ्जालमा जोडिएपछि भारत, नेपाल र चीन गरी तीनवटै देशको यात्रा सहज रूपमा गर्न पाइने अवस्था पनि सिर्जना भएको छ । 

बेलिब्रिजले जोडियो, त्रिदेशीय यात्रा सहज बन्यो 
हुम्लाको खार्पुनाथ–५ स्थित चुवाखोला कर्णाली नदीमा बेलिब्रिज निर्माण भएपछि सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडियो । उक्त पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार औपचारिक उद्घाटन गर्दैछन् । नेपाली सेनाले झन्डै ४ करोड बजेटमा उक्त बेलिब्रिज ३५ दिनमा निर्माण गरेको हो ।nullकर्णाली करिडोरको हुम्ला खण्डमा सडकको स्तरोन्नति हुँदै ।

खार्पुमा पुल बनेसँगै भारतीय सहर रूपेडिहाबाट चीनको सीमास्थित हिल्सासम्म एउटै गाडीमा यात्रा गर्न सकिने भएको छ । कर्णाली करिडोर दक्षिण खण्डका आयोजना प्रमुख इन्जिनियर तुलाराम शर्माले भने,‘अब भारतको रूपेडियाबाट कर्णाली करिडोर हुँदै चीनको सिमाना हिल्सासम्म एउटै गाडीमा सहज यात्रा गर्न सकिने भएको छ । जसबाट कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रुका साथै अन्य यात्रुलाई समेत राहत हुने भएको छ ।’

भारतीय सहर रूपेडियाबाट चीनको सीमा हिल्सासम्मको दूरी करिब ५ सय १८ किलोमिटर छ । कालीकोटको खुलालुबाट सुरु हुने कर्णाली करिडोरले बाजुरा र हुम्लालाई समेत जोडेको छ । जुन खण्ड २ सय ७१ किलोमिटर छ ।

ठेकेदारको लापरबाहीपछि सेनालाई जिम्मा 

०५४ सालमा हुम्लामा खाद्यान्न अभावको स्थायी समाधानका लागि तत्कालीन जिल्ला विकास समितिले चीनसँग सडक जोड्ने योजना बनाएको थियो । ०५७ सालमा जिविसको आन्तरिक स्रोतको प्रयोग गरी सिमकोट–हिल्सा सडक खन्न सुरु गरियो । त्यसपछि कालीकोटदेखि बाजुरा–हुम्ला खण्डमा विभिन्न समयमा करोडौं बजेट खर्च गरियो । ठेकेदारमार्फत निर्माण थालिएको उक्त सडकमा करौडौं बजेट खर्च भयो । तर, सडक निर्माणको गति भने सुस्त भयो ।

निर्माण व्यवसायीको ढिलासुस्तीकै कारण ०७१ चैत ५ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले कर्णाली करिडोरको निर्माणको जिम्मा नेपाली सेनालाई दियो । ०७१ साल चैत ९ गतेबाट नेपाली सेनाले निर्माणको काम सुरु गरेपछि ०७४ सालमै कालीकोटबाट बाजुरासम्म सडकको ट्याक खोलेर गाडी गुडे । त्यसपछि क्रमशः बाजुरा र हुम्लासम्म गाडी पुग्यो । हुम्लाको ६ किलोमिटर चट्टानी भाग छारे भीरमा सडक निर्माण गर्न बढी समय लाग्यो । 

कर्णाली करिडोर सडक आयोजनाका अनुसार कर्णाली करिडोरमा ०८१ सालबाट उत्तर र दक्षिण गरेर दुईवटा आयोजना कार्यालय छन् । जसको उत्तर आयोजनामा १ सय ४८ किलोमिटर सडक छ । दक्षिणतर्फ १ सय २३ किलोमिटर सडक पर्छ । दक्षिणतर्फको खण्डमा १४ अर्ब बजेट छ । जसको १० प्रतिशत खर्च भएको छ । जहाँ बेलिब्रिज ६ वटा, ७ वटा पक्की पुलका साथै ५० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । कर्णाली करिडोरको उत्तर खण्डमा जम्मा २१ अर्ब बजेट छ । जसको १० प्रतिशत खर्च भएको छ । जहाँ बेलिब्रिज एउटा, पक्की पुल २ वटाका साथै अरू सडक स्तोरोन्नतिको काम भइरहेको छ । 

कर्णालीको भाग्यरेखा करिडोर 
कर्णाली करिडोर कर्णाली प्रदेशको समृद्धिको आधार हो । यो करिडोर भारतको सीमाबाट सुरु भई तिब्बतको सीमासम्म जोडिन्छ । जसले त्रिदेशीय (नेपाल, भारत र चीन) व्यापार र यातायातलाई सहज बनाउने सम्भावना बोकेको छ । हुम्लामा पहिलोपटक गाडी पुग्नु कर्णाली करिडोरको विकासमा एक ऐतिहासिक उपलब्धि हो । नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको ‘नर्थ साउथ ग्रोथ एक्सिस’ कर्णाली करिडोरकोमा गाडी गुड्न थालेपछि अब यसले कर्णालीवासीको जीवन स्तरमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

 हुम्लाका पर्यटन व्यवसायी विजय लामाले कर्णाली करिडोरलाई हुम्लावासीका साथै समग्र कर्णालीको आर्थिक करिडोरका रूपमा लिन सकिने बताए । उनले भने, ‘यो सडकले कर्णाली प्रदेशका विकट क्षेत्रहरूमा यातायातको पहुँच विस्तार गर्नुका साथै आर्थिक, सामाजिक र पर्यटकीय विकासलाई प्रोत्साहन दिने लक्ष्य राखेको छ । अब भारतको रुपेडियाबाट कर्णाली प्रदेश हुँदै कर्णाली करिडोरबाट कैलाश मानसरोवर जाने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्नेछ । जसले कर्णालीमा आर्थिक गतिविधि बढ्नुका साथै आर्थिक समृद्धि हुनेछ ।’

विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन् । ‘साउथ एन्ड नर्थ एक्सिस गोर्थ’का रूपमा लिइएको कर्णाली करिडोरले नेपाल, चीन र भारत जोड्ने छ । कर्णाली प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री दल रावलले भने, ‘कर्णाली करिडोर कर्णालीका साथै देशकै आर्थिक समृद्धिको आधार हो ।

यसले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग मात्र जोडेन् । नेपाल–भारत–चीनसँगको व्यापार विस्तार पनि गरेको छ । यसबाट देशले नै आर्थिक लाभ लिनेछ ।’ उनका अनुसार यो सडकले कालीकोट, बाजुरा र हुम्लावासीलाई यातायातको पहुँच पुर्‍याउनुका साथै बजार, शिक्षा, स्वास्थ्य र अन्य सुविधाको पहुँच सहज भएको छ । यसअघि सामान ढुवानीका लागि हवाइमार्ग वा पैदलयात्रामा निर्भर हुनुपथ्र्यो । 

स्तरोन्नति बाँकी नै 
कर्णाली करिडोरको पूर्ण निर्माण र स्तरोन्नति अझै बाँकी छ । करिडोरको पूर्ण विकासका लागि संघीय र प्रदेश सरकारको थप लगानी, प्रभावकारी योजना र नियमित मर्मत आवश्यक छ । यसले कर्णाली क्षेत्रको समग्र विकासमा ठूलो योगदान पुर्‍याउनेछ । मुलुकमा केही पनि भएको छैन भन्ने गलत भाष्यलाई पनि करिडोरले बदेलेको छ । २६ वर्षदेखि हुम्लाबाट गाडी चढ्ने हुम्लीको सपना पूरा भएको छ ।

कर्णाली करिडोरमा पूर्णरूपमा यातायात सञ्चालनसँगै समग्र कर्णाली प्रदेशको विकासले गति लिने निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव बमले बताए । उनका अनुसार सडक बनेसँगै चीनको हिल्सादेखि कर्णालीका अधिकांश जिल्लाको सम्बन्ध भारतको रुपेडियासम्म जोडिएको छ । अब चीन र भारतसँग सम्बन्ध स्थापित गरी व्यावसायिक फाइदा लिन सकिन्छ । यसले कर्णालीमा अन्य विकासका पूर्वाधार निर्माणमा पनि सहज हुन्छ । यहाँ स्थानीय रोजगारीका साथै अन्य आर्थिक कारोबार बढ्ने अवस्था छ । 

nullकर्णाली करिडोरको कालीकोट खण्डमा गाडी गुड्दै । तस्बिर : बिस्नप्रसाद न्यौपाने 

कर्णालीको पर्यटन, पूर्वाधार निर्माण, रोजगारी र आर्थिक विकासका हिसाबले यो सडकको महत्व रहेको कर्णाली प्रदेश योजना आयोगका पूर्वसदस्य डा.दीपेन्द्र रोकायाले बताए । उनका अनुसार सरकारले कूटनीतिक रूपमा पहल गरेर यो सडकलाई व्यापारिक मार्गको रूपमा विकास गर्न जरुरी छ । कर्णाली करिडोरले कर्णालीको स्थानीय उत्पादनको बजारीकरणका साथै बेरागारीको समस्या समाधान गर्न ठूलो सहयोग पुग्नेछ । 

कडा चट्टान, स्तरोन्नतिमा तीव्रता  
कर्णाली करिडोरअन्तर्गत अहिले दुई योजना कार्यालयमार्फत सडक स्तरोन्नतिको काम भइरहेको छ । दक्षिण खण्ड (खुलालु—सलीसल्ला) मा १ सय २३ र उत्तर खण्डअन्तर्गत सलीसल्ला—हिल्सा सडक योजनामा १ सय ४८ किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको हो । आयोजना कार्यालयका अनुसार पिलिचौर—तुम्च, तुम्कोट—हिल्सा, एलबाङ—छ्याछडा, छ्याछडा—हेक्पाखोला, कुवाडी—तुम्च गरी ५ खण्डमा सडक चौडा बनाउने, टेवा पर्खाल लगाउने, ग्राभेल र कालोपत्रेसम्मका काम भइरहेका छन् । 

तुम्कोट—हिल्सा खण्डको ३५ मिटर सडकमा नालासहित साढे सात मिटर चौडाइको सडक निर्माणका लागि गजुरमुखी÷शिवशक्ति जेभीले आर्थिक वर्ष २०७९/८० मा ठेक्का लिएको थियो । कम्पनीले २ पल्ट म्याद थप गरेकोमा अन्तिम पल्टका लागि साउनसम्म म्याद कायम रहेको छ । आयोजना कार्यालयका अनुसार एलबाङ—छ्याछडा खण्डअन्तर्गत १७ किलोमिटरमा सडक स्तरोन्नति गर्न आशिष कन्स्ट्रक्सनले २ वर्षअघि ठेक्का लिएको थियो । उसको म्याद चैत मसान्तसम्म छ ।

त्यस्तै, छ्याछडा—हेक्पाखोला खण्डको १० किलोमिटरमा सडक स्तरोन्नतिको काम भइरहेको छ । आर्थिक वर्ष २०७९÷८० मा ठेक्का दिइएको उक्त सडकमा साउनसम्म काम सक्ने गरी एक वर्षका लागि म्याद थपिएको थियो । यी दुई खण्डमा झन्डै १० करोड रुपैयाँको बजेटबाट स्तरोन्नतिको काम भइरहेको हो । उत्तरी खण्डमा सडक स्तरोन्नतिका लागि यो वर्ष ३३ करोड रुपैयाँको बजेट छुट्याइएकामा आगामी वर्षका लागि ४० करोड बजेट विनियोजन भएको छ । यो खण्डमा ४ वटा पुल निर्माणको काम सकिएको छ । 

दक्षिण खण्डको खुलालु—सल्लीसल्ला सडकअन्तर्गत ११ किलोमिटरमा ट्याक निर्माणको काम भइरहेको छ । अहिले वैकल्पिक सडकमार्फत यातायातका साधन सञ्चालन भइरहेकाले नेपाली सेनाले उक्त खण्डमा ट्याक निर्माणको काम गरिरहेको हो । नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार ११ किलोमिटर खण्डमध्ये यो वर्ष साढे ७ किलोमिटर सडकमा ट्याक खोल्ने काम भइरहेको छ । जसका लागि सरकारले १० करोड रुपैयाँ छुट्याएको छ । सेनाले बोक्चेगौडा, भीइगौडा र याङ्चु भीरमा सडक स्तरोन्नतिको कामसमेत गरिरहेको छ । कडा चट्टान भएका भीरहरू फोडेर सडक चौडा बनाउने र ग्रेड मिलाउने काम भइरहेको छ । कडा चट्टान भएकाले विस्फोटक पदार्थ प्रयोग गरी सडक स्तरोन्नतिको काम भइरहेको सेनाले जनाएको छ ।

खुलालु—सल्लीसल्ला खण्डको ५० किलोमिटरमा अहिले कालोपत्रेसहित सडक स्तरोन्नतिको काम भइरहेको सडक निर्माण आयोजनाका इन्जिनियर तुलाराम शर्माले बताए । उनका अनुसार पिलिचौर—तुम्च खण्डको झन्डै २३ किलोमिटर सडकमा कालोपत्रका लागि पीएस कन्स्ट्रक्सनले १ अर्ब १० करोड रुपैयाँमा ठेक्का लिएको छ । उसले ३ वर्षभित्र साढे सात मिटर चौडाइको सडकसहित नाला निर्माण, ग्रेड र लेभल मिलानसहित कालोपत्रे गर्न असार १५ गते सम्झौता गरिसकेको छ । योजना कार्यालयका अनुसार यो वर्ष ३५ करोड बजेट रहेको यो खण्डका लागि आगामी वर्ष एक अर्ब रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै, कुवाडी—तुम्च खण्डको २७ किलोमिटर सडकमा पनि स्तरोन्नतिसहित कालोपत्रे गर्न कन्टेक सिंह एन्ड ब्रदर्श जेभीले १ अर्ब १८ करोड रुपैयाँमा ठेक्का लिएको छ । उसले पनि ३ वर्षभित्र निर्माणको काम सक्ने गरी स्तरोन्नतिको जिम्मा लिएको योजना प्रमुख शर्माले बताए । यी दुई खण्डको कालोपत्रे सकिएपछि कर्णाली करिडोरको पहिलो खण्ड कालोपत्रे हुन्छ । कालीकोट खण्डमा पनि कालोपत्रे गर्ने गरी फाइल अगाडि बढाइएको छ । आगामी आर्थिक वर्षदेखि आवश्यक प्रक्रिया सुरु हुन्छ ।

कर्णाली करिडोर कर्णालीका साथै देशकै आर्थिक समृद्धिको आधार हो । कर्णाली करिडोरबाट कैलाश मानसरोवर जाने आन्तरिक तथा बाह्य पर्यटकको घुंइचो लाग्नेछ । 
दल रावल,पूर्वसामाजिक विकासमन्त्री कर्णाली प्रदेश

कर्णालीमा अन्य विकासका पूर्वाधार बनाउन पनि अब सहज हुनेछ । स्थानीय रोजगारीका साथै अन्य आर्थिक कारोबार बढ्ने विश्वास गरेका छौं ।
मानव बम, निर्माण व्यवसायी महासंघ, कर्णाली

अब कर्णाली प्रदेशका विकट क्षेत्रहरूमा यातायातको पहुँच विस्तार भई आर्थिक, सामाजिक र पर्यटकीय विकासलाई प्रोत्साहन पुग्नेछ । 
विजय लामा, पर्यटन व्यवसायी

भारतको रूपेडियाबाट कर्णाली करिडोर हुँदै चीनको सिमाना हिल्सासम्म एउटै गाडीमा सहज यात्रा गर्न सकिने भएको छ ।
तुलाराम शर्मा, इञ्जिनियर

८ वटा पुल बन्दै 
कर्णाली करिडोरअन्तर्गत दक्षिण खण्डमा ६ र उत्तर खण्डमा ४ गरी १० खोला तथा कर्णाली नदीमा बेलिब्रिज निर्माण भएका छन् । ८ वटा पुल निर्माणको काम बाँकी छ । दक्षिण खण्डमा खुलालु, सान्नीगाड, जिट्टीखोला, बड्डीगाड, कुवाडी र सल्लीसल्लामा बेलिब्रिज निर्माणको काम सकिएको छ । ती खोलाहरूमा बेलिब्रिज विस्थापन गरी पक्की पुल निर्माण गर्न प्रक्रिया अघि बढिसकेको र ठेक्का प्रक्रियामा रहेको योजना प्रमुख शर्माले बताए ।

त्यस्तै, उत्तर खण्डमा चुवाखोला, सल्लीखोला, ताग्रुखोला र हेक्पाखोलामा पुल निर्माणको काम सकिए पनि सर्केगाड, न्यासीखोला र स्याम्नेखोलामा पुल निर्माण गर्न बाँकी रहेको छ । सडकको स्तरोन्नति सकेसँगै सबै ठाउँमा पुल निर्माणको काम पनि सकिएपछि बाह्रै महिना यातायातका साधन हिल्सासम्मै सञ्चालन हुनेछन् ।

कर्णाली करिडोर नामकरण गरी ट्याक खोल्न थालेको २१ वर्ष भएको छ । कर्णाली करिडोरको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुँदै हुम्लाको सिमकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दूरी ६५ सय १८ किलोमिटर छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म ४ सय १० किलोमिटर मात्रै रहेको छ । कर्णालीवासीको आशाको केन्द्रका रूपमा रहेको कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं. ८ खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेना जिम्मा १ सय ९६ किलोमिटर सडकको ट्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खोलिसकेको छ । चीनको सिमाना हुम्लाको हिल्सादेखि सलिसल्लासम्मको १ सय ४८ किलोमिटर हिल्सा–हुम्ला सडक आयोजनाले कामको जिम्मा लिएको छ । त्यो सडकखण्डको काम पनि तीव्र रूपमा भइरहेको छ । 

करिडोरमा आर्थिक चहलपहल   
कर्णाली करिडोरमा सवारीसाधन चल्न थालेपछि आर्थिक चहलपहल बढ्न थालेको छ । करिडोर क्षेत्रका आसपासमा बजार हुन सक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक गतिविधि बढेको हो । कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म दर्जनौं ठाउँहरू नयाँ बजारका रूपमा विस्तार भएका छन् ।

कर्णाली प्रदेशसभा सदस्य दक्षिणा शाहीले भनिन्, ‘कर्णाली करिडोरसँगै गाउँहरू पनि बजारीकरण भएका छन् । जसबाट कालीकोट, बाजुरा र हुम्लाका स्थानीय नागरिकहरू आर्थिक गतिविधिसँग जोडिएका छन् । यसले स्थानीयको आर्थिक अवस्थामा पनि परिवर्तन ल्याउन थालेको छ ।’ कर्णाली करिडोरको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सवारीसाधन चल्दै आएका थिए । अब सिमकोटसम्मै सवारीसाधन चल्ने भएका छन् । अहिले यो सडकखण्डका दर्जनौं ठाउँ बजारका रूपमा विकास भएका छन् । 

कालीकोटको खुलालु, लालिघाट, रेगिल, शान्तिघाट, भुराबगर, भात्तडी, जारकोट, घाटपारीचौर, बाजुराको कोल्टी पिलिचौर, हिमाली गाउँपालिकाको धुलाचौरलगायत क्षेत्र अहिले बजारका रूपमा विकसित भएका छन् । यी बजारमा अहिले व्यापारी केन्द्रका रूपमा स्थापित हुन थालेका छन् । कालीकोटको पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही अग्निले भने, ‘विगतमा यहाँ कर्णाली किनारमा रहेका फाँटहरूमा बालुवा मात्र देखिन्थ्यो । अहिले बजार झल्किरहेको छ । मानिसहरूको आउजाउका साथै व्यपारीक केन्द्रका रूपमा विकास भएका छन् । करिडोरकै कारण पहिलेका गाउँबस्तीहरू अहिले बजार बन्दै गएका छन् ।’ 

तरकारी खेती विस्तार
कर्णाली करिडोरमा सवारीसाधन चल्न थालेपछि आसपासका मानिस तरकारी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा रोजगारको केही उपाय नहुँदा भारतमा रोजगारी गर्न जानेहरू अहिले तरकारी खेती गर्न थालेका छन् । गाउँगाउँमा नै बजार बनेका कारणले बारीमा लगाएको तरकारी कता लगेर बेच्ने भन्ने समस्या नभएको रास्कोट नगरपालिका–६ भात्तडीका किसान नरप्रसाद बरालले बताए । विगतमा बारीमा तरकारी लगायो भने कसरी कहाँ बेच्ने भन्ने चिन्ता हुन्थ्यो उनले भने, ‘बारी छेउमा नै बजार बनेको छ । बजारको बीचबाट कर्णाली करिडोरमा गाडी चलिरहेका छन् । आफूले उत्पादन गरेको तरकारी कता बिक्री गर्ने भन्ने चिन्ता छैन । त्यसैले मैले पनि विगत ४–५ वर्ष अगाडिदेखि व्यावसायिक तरकारी खेती गरिरहेको छ । जसबाट वार्षिक रूपमा ३ लाखभन्दा बढी कमाइरहेको छु । 

कर्णाली करिडोर क्षेत्रमा उत्पादन भएको वस्तुहरू हिमाली जिल्ला र तराईका जिल्लामा पठाउन सजिलो भएकाले अहिले धेरैजसो मानिस कृषि पेसामा संग्लन रहेको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । उनका अनुसार हामीले कृषि क्षेत्रमा लगानी गर्नेलाई प्रोत्साहन दिने गरेका छौं । अहिले कर्णाली करिडोर सञ्चालनमा आएपछि यहाँ उत्पादन गरिएका कृषिउपजका वस्तुहरूको बजारीकरण गर्न सजिलो भएको छ । जसका कारण सडक आसपासका मानिसले कृषि पेसामा व्यावसायिक रूपमा लागिरहेका छन् । यसले एक प्रकारको सकारात्मक प्रभाव पारिरहेको छ । 

बाजुरा जिल्लाको स्वामीकार्तिक–खापर गाउँपालिकामा उत्पादन हुने गरेको स्याउ विगतमा बिक्री नहुँदा गाई भैंसीलाई खुवाउनुपर्ने अवस्था थियो । अहिले सडक सञ्चालनमा आएपछि बजारीकरण गर्न कुनै समस्या नभएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए । उनका अनुसार यहाँका किसानले उत्पादन गरेको स्याउ सुर्खेत–कोहलपुर हुँदै स्याउ धनगढी पुगेको छ । बजार विस्तार हुँदा स्याउले राम्रो मूल्य पनि पाएको स्वामीकार्तिक–खापर गाउँपालिका स्वाफ्युचर स्याउ कृषक समूह अध्यक्ष धनबहादुर रावलको भनाइ छ । 

अहिले यहाँ उत्पादन गरिएको स्याउ बजारीकरणमा समस्या छैन । विगतमा परिवार पाल्न खेती किसानमा मात्र सीमित रहेका करिडोर क्षेत्रका स्थानीयवासीले अहिले विभिन्न पेसा व्यवसायमार्फत आम्दानी लिन थालेका छन् । विगतमा कुनै आयस्रोत नभएका मानिसले पनि अहिले बजार क्षेत्रमा होटेल व्यवसाय सुरु गरेका छन् । अहिले करिडोर क्षेत्रमा होटेललगायत अन्य व्यापार व्यवसायको वृद्धि भएको छ । मानिसले अहिले राम्रो आम्दानी लिन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.