हुम्लाको खार्पुनाथ–५ स्थित चुवाखोला कर्णाली नदीमा बेलिब्रिज निर्माण भएपछि सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडियो । उक्त पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार औपचारिक उद्घाटन गर्दैछन् । नेपाली सेनाले झन्डै ४ करोड बजेटमा उक्त बेलिब्रिज ३५ दिनमा निर्माण गरेको हो ।
वीरेन्द्रनगर :
रेलको बाटो पुग्दैछ रे,
तिमी बस्ने सहरैमा ।
हुम्ला कहिले मोटर आउला,
बस्याको छु रहरैमा ।।
चार वर्षअघि मात्रै यो गीत सार्वजनिक हुँदा हुम्लावासीका लागि मोटर चढ्ने रहरै थियो । घरआँगनबाटै मोटर चढेर सरर यात्रा गर्ने कुरा केवल सपना झैँ लाग्थ्यो । विश्वले विज्ञान र प्रविधिको क्षेत्रमा चमत्कार गरिसक्दा हुम्लावासीका लागि गाडी चढ्ने कुरा नै ठूलो थियो ।
त्यसैकारण लेखराज गिरीले हुम्लाको कठिन जनजीवन र विकटतालाई शब्दमा उतारे, सुरज पण्डितले मनै छुने लय र स्वर दिए अनि हुम्लामा गाडी नपुगेको कथा र व्यथा गीत–संगीतमार्फत पनि प्रस्फुटित भयो । अब भने, स्थिति फेरिएको छ, गाडी चढ्ने हुम्लावासीको सपना पनि यथार्थमा परिणत हुँदैछ । ७७ वटै जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएको खुसियालीमा देश रम्दैछ ।
नेपाली सेनाले दु्रत गतिमा सडक निर्माण गर्यो, हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडियो । मुलुकमा लोकतन्त्र आएको दुई दशकपछि हुम्ला सदरमुकाममा पनि गाडी पुग्यो । हुम्लावासीका लागि राजधानी काठमाडौं पनि अब टाढा रहेन । घरआँगन नै गाडी चढेर स्वदेशी माटो चुम्दै काठमाडौं आवतजावत गर्ने अवस्था सिर्जना भयो । हुम्ला सदरमुकाम पनि सडक सञ्जालमा जोडिएपछि भारत, नेपाल र चीन गरी तीनवटै देशको यात्रा सहज रूपमा गर्न पाइने अवस्था पनि सिर्जना भएको छ ।
बेलिब्रिजले जोडियो, त्रिदेशीय यात्रा सहज बन्यो
हुम्लाको खार्पुनाथ–५ स्थित चुवाखोला कर्णाली नदीमा बेलिब्रिज निर्माण भएपछि सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडियो । उक्त पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार औपचारिक उद्घाटन गर्दैछन् । नेपाली सेनाले झन्डै ४ करोड बजेटमा उक्त बेलिब्रिज ३५ दिनमा निर्माण गरेको हो ।
कर्णाली करिडोरको हुम्ला खण्डमा सडकको स्तरोन्नति हुँदै ।
खार्पुमा पुल बनेसँगै भारतीय सहर रूपेडिहाबाट चीनको सीमास्थित हिल्सासम्म एउटै गाडीमा यात्रा गर्न सकिने भएको छ । कर्णाली करिडोर दक्षिण खण्डका आयोजना प्रमुख इन्जिनियर तुलाराम शर्माले भने,‘अब भारतको रूपेडियाबाट कर्णाली करिडोर हुँदै चीनको सिमाना हिल्सासम्म एउटै गाडीमा सहज यात्रा गर्न सकिने भएको छ । जसबाट कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रुका साथै अन्य यात्रुलाई समेत राहत हुने भएको छ ।’
भारतीय सहर रूपेडियाबाट चीनको सीमा हिल्सासम्मको दूरी करिब ५ सय १८ किलोमिटर छ । कालीकोटको खुलालुबाट सुरु हुने कर्णाली करिडोरले बाजुरा र हुम्लालाई समेत जोडेको छ । जुन खण्ड २ सय ७१ किलोमिटर छ ।
ठेकेदारको लापरबाहीपछि सेनालाई जिम्मा
०५४ सालमा हुम्लामा खाद्यान्न अभावको स्थायी समाधानका लागि तत्कालीन जिल्ला विकास समितिले चीनसँग सडक जोड्ने योजना बनाएको थियो । ०५७ सालमा जिविसको आन्तरिक स्रोतको प्रयोग गरी सिमकोट–हिल्सा सडक खन्न सुरु गरियो । त्यसपछि कालीकोटदेखि बाजुरा–हुम्ला खण्डमा विभिन्न समयमा करोडौं बजेट खर्च गरियो । ठेकेदारमार्फत निर्माण थालिएको उक्त सडकमा करौडौं बजेट खर्च भयो । तर, सडक निर्माणको गति भने सुस्त भयो ।
निर्माण व्यवसायीको ढिलासुस्तीकै कारण ०७१ चैत ५ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले कर्णाली करिडोरको निर्माणको जिम्मा नेपाली सेनालाई दियो । ०७१ साल चैत ९ गतेबाट नेपाली सेनाले निर्माणको काम सुरु गरेपछि ०७४ सालमै कालीकोटबाट बाजुरासम्म सडकको ट्याक खोलेर गाडी गुडे । त्यसपछि क्रमशः बाजुरा र हुम्लासम्म गाडी पुग्यो । हुम्लाको ६ किलोमिटर चट्टानी भाग छारे भीरमा सडक निर्माण गर्न बढी समय लाग्यो ।
कर्णाली करिडोर सडक आयोजनाका अनुसार कर्णाली करिडोरमा ०८१ सालबाट उत्तर र दक्षिण गरेर दुईवटा आयोजना कार्यालय छन् । जसको उत्तर आयोजनामा १ सय ४८ किलोमिटर सडक छ । दक्षिणतर्फ १ सय २३ किलोमिटर सडक पर्छ । दक्षिणतर्फको खण्डमा १४ अर्ब बजेट छ । जसको १० प्रतिशत खर्च भएको छ । जहाँ बेलिब्रिज ६ वटा, ७ वटा पक्की पुलका साथै ५० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । कर्णाली करिडोरको उत्तर खण्डमा जम्मा २१ अर्ब बजेट छ । जसको १० प्रतिशत खर्च भएको छ । जहाँ बेलिब्रिज एउटा, पक्की पुल २ वटाका साथै अरू सडक स्तोरोन्नतिको काम भइरहेको छ ।
कर्णालीको भाग्यरेखा करिडोर
कर्णाली करिडोर कर्णाली प्रदेशको समृद्धिको आधार हो । यो करिडोर भारतको सीमाबाट सुरु भई तिब्बतको सीमासम्म जोडिन्छ । जसले त्रिदेशीय (नेपाल, भारत र चीन) व्यापार र यातायातलाई सहज बनाउने सम्भावना बोकेको छ । हुम्लामा पहिलोपटक गाडी पुग्नु कर्णाली करिडोरको विकासमा एक ऐतिहासिक उपलब्धि हो । नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको ‘नर्थ साउथ ग्रोथ एक्सिस’ कर्णाली करिडोरकोमा गाडी गुड्न थालेपछि अब यसले कर्णालीवासीको जीवन स्तरमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
हुम्लाका पर्यटन व्यवसायी विजय लामाले कर्णाली करिडोरलाई हुम्लावासीका साथै समग्र कर्णालीको आर्थिक करिडोरका रूपमा लिन सकिने बताए । उनले भने, ‘यो सडकले कर्णाली प्रदेशका विकट क्षेत्रहरूमा यातायातको पहुँच विस्तार गर्नुका साथै आर्थिक, सामाजिक र पर्यटकीय विकासलाई प्रोत्साहन दिने लक्ष्य राखेको छ । अब भारतको रुपेडियाबाट कर्णाली प्रदेश हुँदै कर्णाली करिडोरबाट कैलाश मानसरोवर जाने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्नेछ । जसले कर्णालीमा आर्थिक गतिविधि बढ्नुका साथै आर्थिक समृद्धि हुनेछ ।’
विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन् । ‘साउथ एन्ड नर्थ एक्सिस गोर्थ’का रूपमा लिइएको कर्णाली करिडोरले नेपाल, चीन र भारत जोड्ने छ । कर्णाली प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री दल रावलले भने, ‘कर्णाली करिडोर कर्णालीका साथै देशकै आर्थिक समृद्धिको आधार हो ।
यसले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग मात्र जोडेन् । नेपाल–भारत–चीनसँगको व्यापार विस्तार पनि गरेको छ । यसबाट देशले नै आर्थिक लाभ लिनेछ ।’ उनका अनुसार यो सडकले कालीकोट, बाजुरा र हुम्लावासीलाई यातायातको पहुँच पुर्याउनुका साथै बजार, शिक्षा, स्वास्थ्य र अन्य सुविधाको पहुँच सहज भएको छ । यसअघि सामान ढुवानीका लागि हवाइमार्ग वा पैदलयात्रामा निर्भर हुनुपथ्र्यो ।
स्तरोन्नति बाँकी नै
कर्णाली करिडोरको पूर्ण निर्माण र स्तरोन्नति अझै बाँकी छ । करिडोरको पूर्ण विकासका लागि संघीय र प्रदेश सरकारको थप लगानी, प्रभावकारी योजना र नियमित मर्मत आवश्यक छ । यसले कर्णाली क्षेत्रको समग्र विकासमा ठूलो योगदान पुर्याउनेछ । मुलुकमा केही पनि भएको छैन भन्ने गलत भाष्यलाई पनि करिडोरले बदेलेको छ । २६ वर्षदेखि हुम्लाबाट गाडी चढ्ने हुम्लीको सपना पूरा भएको छ ।
कर्णाली करिडोरमा पूर्णरूपमा यातायात सञ्चालनसँगै समग्र कर्णाली प्रदेशको विकासले गति लिने निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव बमले बताए । उनका अनुसार सडक बनेसँगै चीनको हिल्सादेखि कर्णालीका अधिकांश जिल्लाको सम्बन्ध भारतको रुपेडियासम्म जोडिएको छ । अब चीन र भारतसँग सम्बन्ध स्थापित गरी व्यावसायिक फाइदा लिन सकिन्छ । यसले कर्णालीमा अन्य विकासका पूर्वाधार निर्माणमा पनि सहज हुन्छ । यहाँ स्थानीय रोजगारीका साथै अन्य आर्थिक कारोबार बढ्ने अवस्था छ ।
कर्णाली करिडोरको कालीकोट खण्डमा गाडी गुड्दै । तस्बिर : बिस्नप्रसाद न्यौपाने
कर्णालीको पर्यटन, पूर्वाधार निर्माण, रोजगारी र आर्थिक विकासका हिसाबले यो सडकको महत्व रहेको कर्णाली प्रदेश योजना आयोगका पूर्वसदस्य डा.दीपेन्द्र रोकायाले बताए । उनका अनुसार सरकारले कूटनीतिक रूपमा पहल गरेर यो सडकलाई व्यापारिक मार्गको रूपमा विकास गर्न जरुरी छ । कर्णाली करिडोरले कर्णालीको स्थानीय उत्पादनको बजारीकरणका साथै बेरागारीको समस्या समाधान गर्न ठूलो सहयोग पुग्नेछ ।
कडा चट्टान, स्तरोन्नतिमा तीव्रता
कर्णाली करिडोरअन्तर्गत अहिले दुई योजना कार्यालयमार्फत सडक स्तरोन्नतिको काम भइरहेको छ । दक्षिण खण्ड (खुलालु—सलीसल्ला) मा १ सय २३ र उत्तर खण्डअन्तर्गत सलीसल्ला—हिल्सा सडक योजनामा १ सय ४८ किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको हो । आयोजना कार्यालयका अनुसार पिलिचौर—तुम्च, तुम्कोट—हिल्सा, एलबाङ—छ्याछडा, छ्याछडा—हेक्पाखोला, कुवाडी—तुम्च गरी ५ खण्डमा सडक चौडा बनाउने, टेवा पर्खाल लगाउने, ग्राभेल र कालोपत्रेसम्मका काम भइरहेका छन् ।
तुम्कोट—हिल्सा खण्डको ३५ मिटर सडकमा नालासहित साढे सात मिटर चौडाइको सडक निर्माणका लागि गजुरमुखी÷शिवशक्ति जेभीले आर्थिक वर्ष २०७९/८० मा ठेक्का लिएको थियो । कम्पनीले २ पल्ट म्याद थप गरेकोमा अन्तिम पल्टका लागि साउनसम्म म्याद कायम रहेको छ । आयोजना कार्यालयका अनुसार एलबाङ—छ्याछडा खण्डअन्तर्गत १७ किलोमिटरमा सडक स्तरोन्नति गर्न आशिष कन्स्ट्रक्सनले २ वर्षअघि ठेक्का लिएको थियो । उसको म्याद चैत मसान्तसम्म छ ।
त्यस्तै, छ्याछडा—हेक्पाखोला खण्डको १० किलोमिटरमा सडक स्तरोन्नतिको काम भइरहेको छ । आर्थिक वर्ष २०७९÷८० मा ठेक्का दिइएको उक्त सडकमा साउनसम्म काम सक्ने गरी एक वर्षका लागि म्याद थपिएको थियो । यी दुई खण्डमा झन्डै १० करोड रुपैयाँको बजेटबाट स्तरोन्नतिको काम भइरहेको हो । उत्तरी खण्डमा सडक स्तरोन्नतिका लागि यो वर्ष ३३ करोड रुपैयाँको बजेट छुट्याइएकामा आगामी वर्षका लागि ४० करोड बजेट विनियोजन भएको छ । यो खण्डमा ४ वटा पुल निर्माणको काम सकिएको छ ।
दक्षिण खण्डको खुलालु—सल्लीसल्ला सडकअन्तर्गत ११ किलोमिटरमा ट्याक निर्माणको काम भइरहेको छ । अहिले वैकल्पिक सडकमार्फत यातायातका साधन सञ्चालन भइरहेकाले नेपाली सेनाले उक्त खण्डमा ट्याक निर्माणको काम गरिरहेको हो । नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार ११ किलोमिटर खण्डमध्ये यो वर्ष साढे ७ किलोमिटर सडकमा ट्याक खोल्ने काम भइरहेको छ । जसका लागि सरकारले १० करोड रुपैयाँ छुट्याएको छ । सेनाले बोक्चेगौडा, भीइगौडा र याङ्चु भीरमा सडक स्तरोन्नतिको कामसमेत गरिरहेको छ । कडा चट्टान भएका भीरहरू फोडेर सडक चौडा बनाउने र ग्रेड मिलाउने काम भइरहेको छ । कडा चट्टान भएकाले विस्फोटक पदार्थ प्रयोग गरी सडक स्तरोन्नतिको काम भइरहेको सेनाले जनाएको छ ।
खुलालु—सल्लीसल्ला खण्डको ५० किलोमिटरमा अहिले कालोपत्रेसहित सडक स्तरोन्नतिको काम भइरहेको सडक निर्माण आयोजनाका इन्जिनियर तुलाराम शर्माले बताए । उनका अनुसार पिलिचौर—तुम्च खण्डको झन्डै २३ किलोमिटर सडकमा कालोपत्रका लागि पीएस कन्स्ट्रक्सनले १ अर्ब १० करोड रुपैयाँमा ठेक्का लिएको छ । उसले ३ वर्षभित्र साढे सात मिटर चौडाइको सडकसहित नाला निर्माण, ग्रेड र लेभल मिलानसहित कालोपत्रे गर्न असार १५ गते सम्झौता गरिसकेको छ । योजना कार्यालयका अनुसार यो वर्ष ३५ करोड बजेट रहेको यो खण्डका लागि आगामी वर्ष एक अर्ब रुपैयाँ विनियोजन भएको छ ।
त्यस्तै, कुवाडी—तुम्च खण्डको २७ किलोमिटर सडकमा पनि स्तरोन्नतिसहित कालोपत्रे गर्न कन्टेक सिंह एन्ड ब्रदर्श जेभीले १ अर्ब १८ करोड रुपैयाँमा ठेक्का लिएको छ । उसले पनि ३ वर्षभित्र निर्माणको काम सक्ने गरी स्तरोन्नतिको जिम्मा लिएको योजना प्रमुख शर्माले बताए । यी दुई खण्डको कालोपत्रे सकिएपछि कर्णाली करिडोरको पहिलो खण्ड कालोपत्रे हुन्छ । कालीकोट खण्डमा पनि कालोपत्रे गर्ने गरी फाइल अगाडि बढाइएको छ । आगामी आर्थिक वर्षदेखि आवश्यक प्रक्रिया सुरु हुन्छ ।
कर्णाली करिडोर कर्णालीका साथै देशकै आर्थिक समृद्धिको आधार हो । कर्णाली करिडोरबाट कैलाश मानसरोवर जाने आन्तरिक तथा बाह्य पर्यटकको घुंइचो लाग्नेछ ।
दल रावल,पूर्वसामाजिक विकासमन्त्री कर्णाली प्रदेशकर्णालीमा अन्य विकासका पूर्वाधार बनाउन पनि अब सहज हुनेछ । स्थानीय रोजगारीका साथै अन्य आर्थिक कारोबार बढ्ने विश्वास गरेका छौं ।
मानव बम, निर्माण व्यवसायी महासंघ, कर्णालीअब कर्णाली प्रदेशका विकट क्षेत्रहरूमा यातायातको पहुँच विस्तार भई आर्थिक, सामाजिक र पर्यटकीय विकासलाई प्रोत्साहन पुग्नेछ ।
विजय लामा, पर्यटन व्यवसायीभारतको रूपेडियाबाट कर्णाली करिडोर हुँदै चीनको सिमाना हिल्सासम्म एउटै गाडीमा सहज यात्रा गर्न सकिने भएको छ ।
तुलाराम शर्मा, इञ्जिनियर
८ वटा पुल बन्दै
कर्णाली करिडोरअन्तर्गत दक्षिण खण्डमा ६ र उत्तर खण्डमा ४ गरी १० खोला तथा कर्णाली नदीमा बेलिब्रिज निर्माण भएका छन् । ८ वटा पुल निर्माणको काम बाँकी छ । दक्षिण खण्डमा खुलालु, सान्नीगाड, जिट्टीखोला, बड्डीगाड, कुवाडी र सल्लीसल्लामा बेलिब्रिज निर्माणको काम सकिएको छ । ती खोलाहरूमा बेलिब्रिज विस्थापन गरी पक्की पुल निर्माण गर्न प्रक्रिया अघि बढिसकेको र ठेक्का प्रक्रियामा रहेको योजना प्रमुख शर्माले बताए ।
त्यस्तै, उत्तर खण्डमा चुवाखोला, सल्लीखोला, ताग्रुखोला र हेक्पाखोलामा पुल निर्माणको काम सकिए पनि सर्केगाड, न्यासीखोला र स्याम्नेखोलामा पुल निर्माण गर्न बाँकी रहेको छ । सडकको स्तरोन्नति सकेसँगै सबै ठाउँमा पुल निर्माणको काम पनि सकिएपछि बाह्रै महिना यातायातका साधन हिल्सासम्मै सञ्चालन हुनेछन् ।
कर्णाली करिडोर नामकरण गरी ट्याक खोल्न थालेको २१ वर्ष भएको छ । कर्णाली करिडोरको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुँदै हुम्लाको सिमकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दूरी ६५ सय १८ किलोमिटर छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म ४ सय १० किलोमिटर मात्रै रहेको छ । कर्णालीवासीको आशाको केन्द्रका रूपमा रहेको कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं. ८ खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेना जिम्मा १ सय ९६ किलोमिटर सडकको ट्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खोलिसकेको छ । चीनको सिमाना हुम्लाको हिल्सादेखि सलिसल्लासम्मको १ सय ४८ किलोमिटर हिल्सा–हुम्ला सडक आयोजनाले कामको जिम्मा लिएको छ । त्यो सडकखण्डको काम पनि तीव्र रूपमा भइरहेको छ ।
करिडोरमा आर्थिक चहलपहल
कर्णाली करिडोरमा सवारीसाधन चल्न थालेपछि आर्थिक चहलपहल बढ्न थालेको छ । करिडोर क्षेत्रका आसपासमा बजार हुन सक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक गतिविधि बढेको हो । कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म दर्जनौं ठाउँहरू नयाँ बजारका रूपमा विस्तार भएका छन् ।
कर्णाली प्रदेशसभा सदस्य दक्षिणा शाहीले भनिन्, ‘कर्णाली करिडोरसँगै गाउँहरू पनि बजारीकरण भएका छन् । जसबाट कालीकोट, बाजुरा र हुम्लाका स्थानीय नागरिकहरू आर्थिक गतिविधिसँग जोडिएका छन् । यसले स्थानीयको आर्थिक अवस्थामा पनि परिवर्तन ल्याउन थालेको छ ।’ कर्णाली करिडोरको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सवारीसाधन चल्दै आएका थिए । अब सिमकोटसम्मै सवारीसाधन चल्ने भएका छन् । अहिले यो सडकखण्डका दर्जनौं ठाउँ बजारका रूपमा विकास भएका छन् ।
कालीकोटको खुलालु, लालिघाट, रेगिल, शान्तिघाट, भुराबगर, भात्तडी, जारकोट, घाटपारीचौर, बाजुराको कोल्टी पिलिचौर, हिमाली गाउँपालिकाको धुलाचौरलगायत क्षेत्र अहिले बजारका रूपमा विकसित भएका छन् । यी बजारमा अहिले व्यापारी केन्द्रका रूपमा स्थापित हुन थालेका छन् । कालीकोटको पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही अग्निले भने, ‘विगतमा यहाँ कर्णाली किनारमा रहेका फाँटहरूमा बालुवा मात्र देखिन्थ्यो । अहिले बजार झल्किरहेको छ । मानिसहरूको आउजाउका साथै व्यपारीक केन्द्रका रूपमा विकास भएका छन् । करिडोरकै कारण पहिलेका गाउँबस्तीहरू अहिले बजार बन्दै गएका छन् ।’
तरकारी खेती विस्तार
कर्णाली करिडोरमा सवारीसाधन चल्न थालेपछि आसपासका मानिस तरकारी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा रोजगारको केही उपाय नहुँदा भारतमा रोजगारी गर्न जानेहरू अहिले तरकारी खेती गर्न थालेका छन् । गाउँगाउँमा नै बजार बनेका कारणले बारीमा लगाएको तरकारी कता लगेर बेच्ने भन्ने समस्या नभएको रास्कोट नगरपालिका–६ भात्तडीका किसान नरप्रसाद बरालले बताए । विगतमा बारीमा तरकारी लगायो भने कसरी कहाँ बेच्ने भन्ने चिन्ता हुन्थ्यो उनले भने, ‘बारी छेउमा नै बजार बनेको छ । बजारको बीचबाट कर्णाली करिडोरमा गाडी चलिरहेका छन् । आफूले उत्पादन गरेको तरकारी कता बिक्री गर्ने भन्ने चिन्ता छैन । त्यसैले मैले पनि विगत ४–५ वर्ष अगाडिदेखि व्यावसायिक तरकारी खेती गरिरहेको छ । जसबाट वार्षिक रूपमा ३ लाखभन्दा बढी कमाइरहेको छु ।
कर्णाली करिडोर क्षेत्रमा उत्पादन भएको वस्तुहरू हिमाली जिल्ला र तराईका जिल्लामा पठाउन सजिलो भएकाले अहिले धेरैजसो मानिस कृषि पेसामा संग्लन रहेको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । उनका अनुसार हामीले कृषि क्षेत्रमा लगानी गर्नेलाई प्रोत्साहन दिने गरेका छौं । अहिले कर्णाली करिडोर सञ्चालनमा आएपछि यहाँ उत्पादन गरिएका कृषिउपजका वस्तुहरूको बजारीकरण गर्न सजिलो भएको छ । जसका कारण सडक आसपासका मानिसले कृषि पेसामा व्यावसायिक रूपमा लागिरहेका छन् । यसले एक प्रकारको सकारात्मक प्रभाव पारिरहेको छ ।
बाजुरा जिल्लाको स्वामीकार्तिक–खापर गाउँपालिकामा उत्पादन हुने गरेको स्याउ विगतमा बिक्री नहुँदा गाई भैंसीलाई खुवाउनुपर्ने अवस्था थियो । अहिले सडक सञ्चालनमा आएपछि बजारीकरण गर्न कुनै समस्या नभएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए । उनका अनुसार यहाँका किसानले उत्पादन गरेको स्याउ सुर्खेत–कोहलपुर हुँदै स्याउ धनगढी पुगेको छ । बजार विस्तार हुँदा स्याउले राम्रो मूल्य पनि पाएको स्वामीकार्तिक–खापर गाउँपालिका स्वाफ्युचर स्याउ कृषक समूह अध्यक्ष धनबहादुर रावलको भनाइ छ ।
अहिले यहाँ उत्पादन गरिएको स्याउ बजारीकरणमा समस्या छैन । विगतमा परिवार पाल्न खेती किसानमा मात्र सीमित रहेका करिडोर क्षेत्रका स्थानीयवासीले अहिले विभिन्न पेसा व्यवसायमार्फत आम्दानी लिन थालेका छन् । विगतमा कुनै आयस्रोत नभएका मानिसले पनि अहिले बजार क्षेत्रमा होटेल व्यवसाय सुरु गरेका छन् । अहिले करिडोर क्षेत्रमा होटेललगायत अन्य व्यापार व्यवसायको वृद्धि भएको छ । मानिसले अहिले राम्रो आम्दानी लिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस !