करोडौंको कभर्ड हल जीर्ण बन्दै
महोत्तरी : गौशालामा निर्मित कभर्ड हल जीर्ण बन्दै गएको छ। भवनको भित्री भाग जीर्ण भई भत्किँदा समेत सम्बन्धित पक्षले चासो देखाएको छैन।
गौशाला उद्योग वाणिज्य संघको मातहतमा रहेको यो भवनको रेखदेख अनि उचित संरक्षणतर्फ भने कसैले ध्यान नदिँदा करोडौंको लागतमा निर्मित भवन क्रमिक रुपमा अस्तित्व विहीन बन्दै गएको स्थानीय रिंकी श्रेष्ठले बताइन्। उनले भनिन्, ‘सार्वजनिक सम्पतिको संरक्षणका निम्ति देशमा तीन तहका सरकारका प्रतिनिधि भए तापनि यसतर्फ कसैको ध्यान नजानु दुःखद रहेको छ। भवन निर्मित भएपछि स्थानीयहरू हर्षित भएपनि पछिल्लो समयमा आएर भवन जीर्ण भएको खबरले हरेकको मन खिन्न बनेको छ।’
यस क्षेत्रमा विवाह, उत्सव, सभा सम्मेलन तथा खेलाडीहरूले खेलकुदको प्रायोजनले उपयोगमा ल्याउने यस भवनभित्र जाँदा जो कोही पनि सरोकारवालाप्रति प्रश्न उठाउँदै आएको गौशाला १ का राजकुमार कुशवाहाले बताए। उनले थपे, ‘अत्याधुनिक सुविधा भवनले चिनेका भवन अहिले बेवारिसे र अलपत्र भएका छन्। यसप्रति हरेक नागरिकले कर्तव्यवोध हुने किसिमको भूमिका आउनुपर्ने अहिलेको आवश्यक्ता रहेको छ। जुन पछिल्लो समयमा आएर हरेकले बिर्सिँदा करोडौको भवन अहिले जीर्ण बनेको छ।’
महोत्तरीको गौशालामा ४ करोडको लागतमा बहुउद्देश्यीय भवन (कभर्ड हल) को निर्माण हुने भएको छ। महोत्तरी क्षेत्र नम्बर १ ख बाट निर्वाचित नेकपाका प्रदेश सांसद भरतप्रसाद साहले संसदीय विकास कोषमार्फत प्राप्त भएको रकमबाट गौशालास्थित जीरोमाइलमा अत्याधुनिक पूर्वाधारसहितको कभर्ड हल निर्माण हुन लागेको हो।
महोत्तरी क्षेत्र नम्बर १ ख का प्रदेश सांसद भरतप्रसाद साहको संसदीय विकास कोषमार्फत पौने ४ करोडको लागतमा सो अत्याधुनिक सुविधासम्पन्न कभर्ड हलको निर्माण भएको छ। जुन अहिले व्यवस्थापनको जिम्मेवारी गौशाला उद्योग वाणिज्य संघको मातहतमा रहेको छ।
प्रतिक्रिया दिनुहोस !