रसुवागढी नाका बन्द हुँदा केरुङमा नेपाली अलपत्र, रसुवाका प्रजिअ भन्छन्-उद्धारको पहल हुँदैछ
काठमाडौं : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्द हुँदा चीनको केरुङमा नेपाली अलपत्र परेका छन्। यहाँ ६० जनाभन्दा बढी चालक तथा अन्य व्यक्तिहरू अलपत्र परेका हुन्। कतिको संख्यामा अलपत्र परेका छन् भन्ने एकिन तथ्यांक छैन।
मंगलबार आएको बाढीले मितेरी पुल बगाएपछि दुई देश बीचको सडक सम्पर्क विच्छेद भएको छ। नाकामा चिनियाँ पक्षले आफ्नो तर्फ काम सुरु गरेको भए तापनि केरुङमा रहेका नेपाली फर्कन सक्ने अवस्था अझै बनिसकेको छैन। सीमा पारी रहेकाहरूले मंगलबार चिनियाँ टोलीले उद्धार गरेर केरुङ पुर्याएको थियो।
केरुङमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार त्यहाँ रहेका नेपालीलाई उद्धार नगर्दा समस्या उत्पन्न भएको छ। ‘सीमित पैसा बोकेर केही दिनमै फर्केने आशाका आएका चालकहरूलाई समस्या परेको छ। कतिपयको नियमित खाने औषधि सकिएको छ। एक दुई दिन घुम्ने भनेर आएका पर्यटकलाई झन ठूलो समस्या परेको छ।
रसुवावासीले चीन प्रवेशका लागि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) पाउने गरेका छन्। तर यसको सीमा छ। चाइना पास भएका रसुवावासीले चीनको पाङसिङसम्म यात्रा गर्न पाउँछन्। जसले गर्दा रसुवाका सवारी चालकले केरुङबाट रसुवागढीसम्म सामग्री ल्याउँदै आएका छन्।
अन्य जिल्लाका सवारी चालकले यस नाकामा सो सुविधा पाएका छैनन्। तर, अहिले रसुवागढी नाका बन्द छ। नाका नखुल्दासम्म सडक मार्गबाट सामग्री आयात गर्ने हो भने अब केरुङबाट सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै सामग्री ल्याउनुको विकल्प छैन। तर रसुवाका सवारी चालकले उक्त मार्ग प्रयोग गर्न पाउँदैनन्। व्यवसायी पौडेलले भने, ‘ यहाँबाट तातोपानी नाका जानका लागि भिसा लगाउनुपर्छ। जति नै विपत्ति आए तापनि अरू क्षेत्रबाट प्रवेश गर्न नपाइने रहेछ। यहाँ भएका नेपालीलाई तत्काल उद्धार गर्ने व्यवस्था गर्नुपर्छ।’
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले केरुङमा रहेका नेपालीको उद्धारका लागि पहल गरिरहेको बताए। ‘हामीले चिनियाँ स्थानीय अधिकारीहरूसँग उद्धारका लागि पहल गरिरहेका छौं। स्थानीय अधिकारीले स्थिति सहज बनेपछि नेपाल फर्काउने बताएका छन्।’ उनले त्यहाँ नेपालीहरू अप्ठ्यारो अवस्थामा रहेको कुरा वास्तविक भएको बताए। ‘चिनियाँ पक्षले उद्धार गरेर लगेका नेपालीलाई खान बस्नको व्यवस्था गरेको छ। अन्य नेपालीलाई अप्ठ्यारो परेको कुरा साँचो हो। यसको समस्याको समाधान चाडै हुन्छ।’
रसुवागढी नाकापारी फसेका गाडीमध्ये २६ वटा चिनियाँ पक्षले सुरक्षित स्थानमा सारिसकेको उनले बताए। चिनियाँ टोलीले अन्य सवारी साधन पनि सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेको उनको भनाइ छ। नाकामा मितेरी पुल निर्माणका लागि चिनियाँ पक्षसँग पहल गर्ने सरकारले निर्णय गरिसकेको छ। ‘नाकासम्म पुग्ने बाटो निर्माण पनि चिनियाँ पक्षले नै गर्ने छ। तर अस्थायी रूपमा सडक सञ्चालनका लागि हाम्रो सडक विभागले काम गरिरहेको छ।’
मंगलबार गएको बाढीमा परेर २० जना बेपत्ता भएका थिए। बाढीले ६४ वटा सवारी साधन बगाउनुका रसुवागढी लगायतका जलविद्युत आयोजनामा भौतिक क्षति गरेको थियो।
प्रतिक्रिया दिनुहोस !