आफ्नै कमाइले पक्कीघर बनाइन्, छाउगोठमा बस्दा ज्यान गुमाइन्

आफ्नै कमाइले पक्कीघर बनाइन्, छाउगोठमा बस्दा ज्यान गुमाइन्
कमला, उनको पक्कीघर र छेउमै रहेको छाउगोठ । तस्बिर सौजन्य : प्रेरणा पाण्डेय
सुन्नुहोस्

महेन्द्रनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिका—१ स्थित निगालीकी २८ वर्षीया कमला आउजी तीन महिनाअघि भारतबाट नेपाल फर्किएकी थिइन् ।

उनको परिवार रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारतमा बस्दै आएको थियो । भारतमा रोजगारी गरेर उनले निगालीमा पक्कीघरसमेत बनाएकी थिइन् । तीन महिनाअघि छोरालाई पढाउन भारतबाट फर्किएकी कमलाको शनिबार छाउगोठमा सर्पले डसेर मृत्यु भयो । स्थानीयका अनुसार उनलाई छाउगोठमा सुतेकै अवस्थामा सर्पले बायाँ गालामा डसेको थियो । सर्पले डसेको थाहा पाएपछि उनले छरछिमेकीलाई खबर गरिन् । स्थानीयले करेत सर्प उनको बिस्तरानजिकै हिँडिरहेको अवस्थामा भेटिएको भिडियोसमेत बनाएका थिए ।

स्थानीयका अनुसार उनका १५, ९ र ६ वर्षका तीन छोरा छन् । पक्कीघर बनाएकी कमलाले घरमै बसे देउता रिसाउने अन्धविश्वासका कारण महिनावारी भएका बेला बस्न घरको छेउमै छाउगोठसमेत बनाइन् । उनी महिनावारी भएको बेला उक्त छाउगोठमा बस्दै आएकी थिइन् ।

त्यही परम्पराअनुसार यसपटक पनि महिनावारी भएका बेला कमला छाउगोठमा बसिन् र सुतेकै बेला उनलाई सर्पले डस्यो । सर्पले डसेको थाहा पाएपछि स्थानीयको सहयोगमा उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहीँ उपचारका क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा शनिबार साँझ उपचारका क्रममा कमलाको मृत्यु भएको हो ।

वडा सदस्य रत्नादेवी बोहराले वडा कार्यालयले दुई वर्ष अघिदेखि निरन्तर छाउपडी प्रथाविरुद्ध अभियान चलाए पनि सार्थक नभएको बताइन् । ‘हामीले टोलटोलमा गएर पटकपटक सम्झाइबुझाइ गरेका छौं । तर उहाँहरू देउता रिसाउँछन् भनेर छाउगोठ छोड्न मान्नुहुन्न’, उनले भनिन्, ‘धामीझाँक्री र आमा समूहहरू सबैसँग बसेर छलफल गर्दासमेत मानेनन् ।’ उनका अनुसार देउता रिसाउने कारणले स्थानीय महिला घर छेउमै छाउगोठ बनाएर महिनावारीको समय बस्ने गरेका छन् ।

पहाडी जिल्ला अछामबाट बसाइँ सरेर आएका चार सय घर परिवारले अझै पनि छाउपडी प्रथा मान्दै आएका छन् । कृष्णपुर नगरपालिका— १ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले उक्त वडामा अछामबाट बसाइसरी आएका करिब चार सय घरधुरीको समुदायमा मात्रै यो समस्या रहेको बताए । उनले वडा कार्यालयले छाउगोठ भत्काउने अभियान नै चलाइराखेको बेला उक्त घटना भएको बताए । ‘धेरै छाउगोठ त हामीले भत्कायौं । त्यो बेला अनेकौं गाली, झगडासमेत भयो । हामीले भत्काएर आएपछि पुनः छाउगोठ बनाइहाले’, उनले भने, ‘देउता रिसाउने अन्धविश्वासकै कारण यहाँ महिला महिनावारी भएको बेला छाउगोठमा बस्ने गरेका छन् ।’

उनका अनुसार अहिले ५०/६० परिवारले छाउगोठ छोडे पनि अन्यले छाउगोठ कायमै राखेका छन् । ‘छाउगोठ सानो छाप्रो हुन्छ । न त्यहाँ बिजुली हुन्छ न त सुत्नलाई राम्रो ठाउँ नै । कालकोठरीजस्तो घर छेउमै बनाएको हुन्छ’, अध्यक्ष बस्नेतले भने, ‘हामीले सम्झाउँदा झगडा गर्न आउनुहुन्छ ।’ घटनापछि कृष्णपुर नगरपालिकाले १५ दिनभित्र छाउगोठ नभत्काए १० हजार जरिवाना गर्ने उर्दी जारी गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले १५ दिनभित्र छाउगोठ नभत्काए १० हजार जरिवाना गर्ने बताए । ‘सबै वडा कार्यालयलाई वडामा छाउगोठ निरीक्षण गरी १५ दिनभित्र भत्काउन भनेका छौं’, उनले भने, ‘छाउगोठ नभत्काए १० हजार जरिवाना हुन्छ ।’ अन्धविश्वासका कारण यहाँका महिलाले अकालमा ज्यान गुमाउँदै आएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.