आफ्नालाई बचाउने र विपक्षीलाई फसाउनेमा यो सरकारले विश्व रेकर्ड बनाएको छ : प्रचण्ड
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले एउटै मुद्दामा आफ्नालाई बचाउने र विपक्षीलाई फसाउन उद्यत भएको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विपक्षीमाथि प्रतिशोध साँध्नेमा यो सरकारले विश्व रेकर्ड कायम गरेको आरोप लगाए।
उनले जनताका सबाल र सुशासन पनि यो सरकारलाई घाँडो भएको बताए। 'जनजीविकाका सबाल, सुशासनका मुद्दा आर्थिक समृद्धि तपाईँहरूका लागि घाँडो जस्तो भएको छ। एउटै मुद्दामा आफ्नाहरूलाई बचाउने र विपक्षीहरूलाई राजनीतिक प्रतिशोधसहित फसाउने कुरामा त तपाईँहरूको सरकारको विश्व रेकर्ड बनेको छ। दुनियाले हेरिराखेका छन्। गिनिज बुकमा नाम लेख्ने हो भने यो सरकार त्यसमा चाहिँ रेकर्ड बनाएकै छ,' उनले भने।
उनले आर्थिक वर्ष २०८२-८३ को बजेटको पनि विरोध गरे। दुई दलीय सत्ताको अहंकार बजेट बनेको उनको आरोप छ। उनले बजेटका नाममा जनताको सपना होइन, स्वार्थ समूहको सौदाबाजी भएको दाबी गर्दै भने, 'जब बजेट नै सहभागिताहीन, जब नीतिगत निर्णय नै प्रतिशोधको आधारमा लिइन्छ, तब जनता के अपेक्षा गर्ने?'
प्रचण्डले विगत वर्ष प्रस्ताव गरिएको 'रेमिट्यान्स उद्यमशीलता कार्यक्रम'अन्तर्गत १ लाख रिटर्नी प्रवासी युवालाई उद्यमशीलतामा जोड्ने कार्यक्रम र सहीद मार्गजस्तो पर्यटकीय महत्वको २२० किलोमिटर लामो परियोजनामाथि सरकारको प्रतिशोध देखिएको बताए। उनले दलित समुदायमाथि बजेटमै छुवाछुत गरिएको गम्भीर आरोप लगाउँदै भने, 'अधिकारसम्पन्न दलित विकास प्राधिकरण स्थापना गर्ने क्रान्तिकारी सोचको हत्या गरियो। समाजमा मात्र होइन, तपाईंहरूको बजेटमै दलितमाथि विभेद देखिन्छ।'
उनले 'स्टार्टअप उद्यमशीलता कार्यक्रम'को बजेट झण्डै एकतिहाईले कटौती गरिएको तथ्य प्रस्तुत गर्दै, सरकार उद्यमशीलता र नवाचारभन्दा पनि दलालहरूको स्वार्थतर्फ उन्मुख भएको संकेत गरे।
प्रतिक्रिया दिनुहोस !