कुहिएको शव भेटिएकी युवतीको पहिचान खुलेन, बलात्कारपछि हत्या गरिएको आशंका
विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–६ को कोयलपुरमा कुहिएको अवस्थामा शव फेला परेकी युवतीको पहिचान खुल्न सकिरहेको छैन। यद्यपि, प्रहरीले भने बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका गरेको छ।
गत शनिबार अपरान्ह ४ बजेतिर सडेर दुर्गन्धित भएको अवस्थामा नग्न शव फेला परेको थियो। सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीमा फेला परेको शवको अवस्था र घटनास्थलका प्रमाणले बलात्कारपछि युवतीको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।
अनुहार र शरीरका विभिन्न भागहरूमा किरा परेको तथा शरीर कुहिएको अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। उनका अनुसार शव नै किरा परेर र कुहिएर दुर्गन्धित अवस्थामा भेटिएकाले पहिचान गर्न कठिन भइरहेको हो। ‘अनुहार निक्कै बिग्रिएको छ। अनुहारलगायत शरीरभरि किरा परिसकेको थियो। यसले शव पहिचान गर्न गाह्रो परेको छ। तर, पहिचानको प्रयास भइरहेको छ। अनुसन्धान पनि तीव्र गतिमा अगाडि बढाइएको छ,’ चुँडालले भनिन्।
शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको छ। पोस्टमार्टम गर्न बाँकी छ। मृतकको उमेर २० वर्षभन्दा कम हुनसक्ने प्रहरीको अनुमान छ। घटनास्थलमा भेटिएका कपडाको आधारमा शव महिला भएको पुष्टि गरिएको थियो। कम्मरदेखि तलका सबै वस्त्र खोलिएको अवस्थामा शव भेटिएको र माथिल्लो भागमा भित्री कपडा मात्र रहेको अवस्थामा शव भेटिएको हो।
घटनास्थलमा मृतकका चप्पल, चिम्टी र पाइन्टजस्ता लुगा पनि अलग्गै राखिएको अवस्थामा भेटिएको थियो। शव नग्न अवस्थामा भेटिएकोले घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको प्रहरी स्रोतले बतायो। तर, यसलाई पुष्टि गर्ने मजवुत प्रमाण फेला परिसकेको छैन।
डीएसपी चुँडालका अनुसार मृतक धेरै टाढाको नभइ स्थानीय वा छेउछाउकै हो भन्ने अनुमान गरिएको छ। उनले भनिन्, ‘शवको वस्त्र र चप्पल हेर्दा टाढाको हो जस्तो लाग्दैन। बरु डेरामा बस्ने वा काम गर्ने युवती हुनसक्छ भन्ने अनुमान गरिएको छ। तर, अहिलेसम्म युवती हराएको भनेर कोही पनि प्रहरीसमक्ष आएका छैनन्।’
घटनाको गम्भीरताका कारण प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई अगाडि बढाएको छ। घटनास्थलको म्यापिङ, भेटिएका सामग्रीको परीक्षण र विभिन्न हिसाबले अध्ययनजस्ता प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ। ‘कुनै पनि आपराधिक घटना प्रमाण संकलनबाट पुष्टि गर्नुपर्छ। अहिलेलाई देखिएको प्रकृति गम्भीर छ। तर, पुष्टि हुन वैज्ञानिक र कानुनी आधारको आवश्यक छ,’ स्रोतले भन्यो।
प्रहरीले हालसम्म कुनै शंका लागेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छैन। हुन त हत्या हो कि हैन भनेर नै यकिन भइसकेको छैन। मृतकको पहिचान खुलाउन आसपासका वडाहरू, छेउछाउका डेरा, होटल र उद्योगहरूमा कार्यरत महिला श्रमिकको जानकारी लिने काम प्रहरीले गरिरहेको छ। त्यस्तै, हराइरहेका व्यक्तिहरूको तथ्यांक पनि संकलन भइरहेको प्रहरीले जनाएको छ।
घटना निकै शंकास्पद, रहस्यमय र गम्भीर प्रकृतिको देखिएको भन्दै मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेका छन्। अनुसन्धान गर्न र घटनाको वास्तविकता पत्ता लगाउन चिमरियाले विशेष टोली परिचालन गरेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट पनि टोली खटाइएको छ।
अनुसन्धान पूरा नभएसम्म घटनाका बारेमा अन्तिम निष्कर्ष निकाल्न नसकिने एसपी चिमरिया बताउँछन्। कुनै जानकारी वा सुराकी भएमा प्रहरी कार्यालयमा सम्पर्क गर्न उनले सबैलाई अनुरोध गरेका छन्। ‘विभिन्न कोणबाट गम्भीर ढंगले अनुसन्धान भइरहेको छ। शवको पहिचानका लागि प्रयासरत छौं,’ उनी भन्छन्।
प्रतिक्रिया दिनुहोस !