पौडी खेल्ने गएका दुई किशोरको डुबेर मृत्यु
दाङ : दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ। दाङको पश्चिम क्षेत्र बबै गाउँपालिकाको बबै नदीमा डुबेर दुई जनाको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ। सोमबार दिउँसो केही युवाहरू पौडी खेल्न भनेर पुगेका थिए।
नदीमा डुबेर ज्यान गुमाउनेहरूमा तुलसीपुर उपमहानगरपालिका–७ का १७ वर्षीय विधान केसी र उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर रहेका छन्। इलाका प्रहरी कार्यालय खितलपुरका इन्स्पेक्टर खिम बहादुर खड्काका अनुसार उनीहरू ६ जनाको समूहमा घुमफिरका लागि पुरन्धारा छहरा पुगेका थिए।
सोही क्रममा दिउँसो करिब २ बजेतिर विधान नदीमा नुहाउन पसेका थिए। पानीको बहाव तेज भएका कारण उनी बग्न थालेपछि साथीलाई बचाउन कुशल पनि नदीमा हाम फालेका थिए। तर, दुवै जना डुबेर बेपत्ता भए। खोजीपछि उनीहरूको शव घटनास्थलदेखि केही मिटर तल फेला परेको प्रहरीले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !