सम्पादकीय

सुक्खा मधेस, खाद्य सुरक्षामा चुनौती

सुक्खा मधेस, खाद्य सुरक्षामा चुनौती
सुन्नुहोस्

नेपालको अन्न भण्डारका रूपमा परिचित मधेस प्रदेश जलवायु परिवर्तनको भीषण मारमा परेको छ । सतह सिँचाइको संकट, वर्षा चक्रको अस्थिरता, भूमिगत जलको तीव्र गिरावट र राज्यको लापरबाहीले गर्दा यो क्षेत्र आज सुक्खाग्रस्तको गम्भीर अवस्थामा पुगेको छ । यो केवल मधेसकै संकट होइन, देशकै खाद्य सुरक्षालाई चुनौती दिने राष्ट्रिय संकट हो ।

‘न भात आफ्नै भयो, न पानी नै’ भन्ने किसानहरूको कथनले जलवायु संकट र शासनको असफलतालाई सरल तर गहिरो रूपमा उजागर गर्छ । एकातर्फ चुरे क्षेत्रको वन विनाशले पानीको स्रोत सुकाउँदै लगेको छ भने अर्काेतर्फ भूमिगत जलको अत्यधिक र अनियन्त्रित दोहनले इनार, चापाकल र बोरिङका पानीका स्रोतहरू रित्तिँदै छन् । यस्तो अवस्थामा सिँचाइ असम्भव बन्दै जाँदा धान, गहुँ, मकैदेखि मौसमी तरकारी उत्पादनसम्म खस्किएको छ ।
अन्न भण्डारणको परम्परा हराउँदै गएको छ, विवाह, भोज, श्राद्धमा प्रयोग हुने बासमती, कतरनीजस्ता प्रजातिका चामल परदेशी बजारको प्याकिङमा सीमित बनेका छन् । यो केवल खाद्यान्नको ह्रास होइन, सांस्कृतिक पहिचानको विनाश पनि हो ।

गएको असार मसान्तसम्ममा मधेस प्रदेशमा प्रमुख कृषि उपज (खाद्य तथा अन्यबाली, तरकारी तथा बागवानी, फलफूल र मसला) ले ढाकेको भू–क्षेत्रफलमा चार दशमलव शून्य प्रतिशतले वृद्धि भई १० लाख ४४ हजार ७ सय ४५ हेक्टर पुगेको तथ्यांकले देखाउँछ । तर, क्षेत्रफल बढे पनि उत्पादनमा भने ह्रास आएको छ । कुल उत्पादनमा शून्य दशमलव ३१ प्रतिशतले ह्रास आई ५९ लाख ९४ हजार ३ सय २८ मेटिकटन पुगेको छ । अघिल्लो वर्षमा समग्र कृषि बालीहरूको कुल उत्पादन ६० लाख १२ हजार ७ सय ९९ मेटन थियो । यसलाई नै खतराको सूचक मानेर समाधानको बाटो अवलम्बन गर्न आवश्यक छ ।

प्रदेश सरकारले सुक्खाग्रस्त घोषणासम्म मात्र सीमित भई राहत प्याकेजका नाममा संघीय सरकारसँग गुहार मागेको छ तर दीर्घकालीन समाधानका लागि कुनै ठोस नीति देखिएको छैन । ‘खेत–खेतमा पानी’ जस्ता कार्यक्रम घोषणासम्म सीमित छन्, बजेट फ्रिज भएका छन् । समस्या बहुआयामिक छ, एकातर्फ चुरे विनाश र जलवायु असन्तुलन, अर्काेतर्फ जलस्रोतको असीमित दोहन र सरकारको असक्षमता । जल पुनर्भरण प्रणालीको निर्माण, चुरे संरक्षण, सिँचाइ संरचनाको विस्तार, वर्षा पानी संकलन प्रणाली, तथा कृषि उत्पादनमा जलवायु अनुकूल प्रविधिको प्रयोग अनिवार्य छ ।

आज यदि मधेस डुब्छ वा सुक्छ भने, त्यसको प्रत्यक्ष असर सम्पूर्ण देशको भोकमरीमा देखा पर्नेछ । हामी अहिले पनि नचेत्ने हो भने अन्न निर्यात गर्ने इतिहास बोकेको मुलुक निकट भविष्यमै अन्न याचना गर्ने राष्ट्र बन्न सक्छ । जल संकट समाधान र कृषिको पुनरुत्थानबिना आर्थिक समृद्धि र खाद्य सुरक्षाको सपना अधुरो रहन्छ । यही चेतनाले सबै—नीति निर्माता, नागरिक र कृषि क्षेत्रका सरोकारवालाहरूलाई संयुक्त र दीर्घकालीन रणनीतितर्फ अग्रसर हुन बाध्य बनाउँछ ।

मधेसको सुक्खापनको निरूपण मधेसले मात्रै गर्न सक्ने विषय हैन । पहाड र हिमाली क्षेत्रको प्राकृतिक विनाश र अनियन्त्रित दोहनलाई रोक्नुपर्छ । तीन तहकै सरकारले तदारुकता देखाएमात्रै यो सम्भव छ । गौतमबुद्धले भनेजस्तै प्रकृति प्रति करुणाभाव राखेर अघि बढ्यो भने भावी पुस्तका लागि पनि यो धर्ती जस्ताको तस्तै सुम्पिन सकिनेमा गाम्भीर्यता हुन जरुरी छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.