अझै रोकिएन अध्यागमनबाट मानव तस्करी, डेस्क सेटिङबाट समिति बनाउने तयारी

अझै रोकिएन अध्यागमनबाट मानव तस्करी, डेस्क सेटिङबाट समिति बनाउने तयारी
एआई सिर्जित तस्बिर

काठमाडौं : मानव तस्करीको मुद्दाले देश नै अक्रान्त बनेको छ। भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीको मुद्दा संसदमा पनि पेचिलो बन्दै गएको छ। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अहिले पनि मानव तस्करी रोकिएको छैन। 

अध्यागमनका कर्मचारीहरूले विभिन्न सेटिङमार्फत् मानव तस्करी गरिरहेको स्रोतको दाबी छ। उच्च स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भयानक 'डेस्क सेटिङ' भइरहेको छ। डेस्कमा बस्ने अधिकृतहरूले म्यानपावर व्यवसायी र ट्राभल एजेन्सीहरूको सेटिङमा धमाधम मानव तस्करी गरिरहेका छन्। डेस्क सेटिङबाट अब समिति बनाएरै सेटिङ गर्ने तयारीमा त्यहाँका अधिकृतहरू रहेको स्रोतको दाबी छ। विगतमा पनि त्यहाँ प्रत्येक समूहको पैसा बाँडफाँडका लागि समिति बनाइएको थियो। तर, अख्तियारले अनुसन्धान थालेपछि भंग भएको उक्त समिति बनाउन फेरि अध्यागमन अधिकृतहरू सक्रिय भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाबारे छानबिन गरिरहेका बेला अध्यागमनका अधिकारीहरूले भने मानव तस्करीको सेटिङ चलाइरहेका छन्। विशेषगरी खाडी मुलुक, युरोपेली मुलुकमा सेटिङ भइरहेको छ।

गृहमन्त्री रमेश लेखकले सेटिङ अन्त्य गर्ने घोषणा गरे पनि अध्यागमनबाट हुने सेटिङ ज्युँकात्युँ छन्। अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले समेत सेटिङ तोड्न सकेका छैनन्। सेटिङ जारी भएसँगै उल्टै अध्यागमनको छबि दिनानुदिन धुमलिरहेको छ। कार्यालय प्रमुख कोइरालाले मिडिया खपतका लागि केही राम्रो काम गर्न खोजे पनि सेटिङ तोड्न भने नसकेको त्यहाँका एक अधिकृतले अन्नपूर्णलाई बताए।

गत २५ असारको घटना त्यसको ज्वलन्त उदाहरण पनि हो। नेपालबाट क्रोएसिया उडेका ११ जना नेपालीको भिसा शंकास्पद् देखिएको थियो। २१ असारमा क्रोएसिया उडेका उनीहरूको भिसा नै नक्कली भएपछि त्यहाँको अध्यागमनले चार दिन अनुसन्धान गरेर विमानस्थलबाटै फर्काइदिएको थियो। तर, उनीहरूलाई यहाँको अध्यागमनले सहजै प्रस्थान अनुमति दिएको थियो। 

'अध्यागमनकै कर्मचारीहरूको सेटिङमा उनीहरू क्रोएसिया उडेका थिए। क्रोएसिया पुगेपछि मात्रै उनीहरूले आफ्नो भिसा नक्कली भएको थाहा पाएका थिए,' स्रोतले अन्नपूर्णसँग भन्यो। नक्कली भिसामा उनीहरू कसरी अध्यागमन हुँदै क्रोएसिया उडे भन्ने गम्भीर प्रश्न उत्पन्न भएको छ। 

भिजिट भिसामा खाडी मुलुकसम्म पुर्‍याउने ठेक्कामा अध्यागमनका कर्मचारीहरू नै संलग्न रहेको ती स्रोतको भनाइ छ। अध्यागमनले भिजिट भिसामा स्पेन गएका व्यक्तिहरूलाई समेत रोक्न सकेन। ट्राभल हिस्ट्री नभएका र सामान्य अंग्रेजी बोल्नसमेत नजान्नेहरूलाई स्पेनको भिजिट भिसामा अध्यागमन अधिकृतले प्रस्थान अनुमति दिएका छन्। कतिपय उनीहरू अहिलेसम्म फर्किएका पनि छैनन्।

यो पनि पढ्नुस्: अकर्मण्य अध्यागमन

स्रोतले भन्यो, 'प्रधानमन्त्रीज्यूलाई बदनाम गर्नेगरी अध्यागमनका अधिकृतहरूले स्पेनको भिजिट भिसामा प्रस्थान अनुमति दियो। अध्यागमनका अधिकारीहरूले उनीहरूलाई रोक्न सक्थे। उल्टै सरकारको बेइज्जत गराएन मात्र, प्रधानमन्त्री केपी शर्मा ओलीको बदनामसमेत गराए।'

गत पुसमा अध्यागमनसँग सेटिङ मिलाएर मानव तस्करी गर्ने ट्राभल एजेन्सीका सञ्चालक पक्राउ परेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धमा रहेको एड्भिका टुर्स एण्ड ट्राभलका सञ्चालक ३२ वर्षीय बुद्ध लामा र सेटिङमा संलग्न रहेका २६ वर्षीय कमलराज हमाललाई पक्राउ गरेको थियो। उनीहरूले अध्यागमनलाई ४० हजारदेखि ५५ हजारसम्म र एयरलायन्सलाई प्रतिव्यक्ति १० हजार दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

मानव तस्करीमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अध्यागमनका कर्मचारीहरूलाई नियन्त्रणमै लिएर अनुसन्धान गरेको थियो। गृह मन्त्रालयले पनि स्पेन प्रकरणमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एसएसीपी होविन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति नै गठन गरेको छ। समितिमा मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी रुगम कुँवरसहित ६ सदस्यीय रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.