रास्वपाको हस्ताक्षर अभियान अदालतको अवहेलना : राजेन्द्र बजगाईँ
काठमाडौं : नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सरकारका मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बजगाईँले देशमा ९७ अर्ब नयाँ ऋण थपिएको र श्रम पलायन तीव्र हुँदा धेरै मन्त्रीहरू भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएको बताएका थिए।
उनले मुलुकका लागि केहि गर्न अघि बढ्ने प्रयास गर्दा भ्रष्टाचार,घुस र ठगीको प्रणालीमा नाचिरहेको देखिने गरेको जिकिर गरे । सांसद बजगाईँले अहिलेको राजनीतिक परिदृश्यमा पुराना वा नयाँ दलहरूबीच राष्ट्रिय हितका साझा एजेन्डामा सहकार्यको स्पष्ट अभाव देखिरहेको धारणा राखे।
त्यस्तै, उनले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा पोखराको जुलुसदेखि हस्ताक्षर अभियानसम्म सबै गैरकानुनी र अदालतको अवहेलना भएको तर्क गरे।
उनले आपराधिक मुद्दामा जेलमा रहेका बेला समेत रवि लामिछाने पार्टीको अध्यक्षमा कायमै रहेको भन्दै सुधारको कुरा गर्ने पार्टीले आधारभूत जवाफदेहिता बेवास्ता गर्नु दुःखद भएको धारणा राखे।
प्रतिक्रिया दिनुहोस !