काठमाडौंका दुई ठाउँमा भेटिए शंकास्पद् गाडी, चालक नियन्त्रणमा
काठमाडौं : सडकमा कुदिरहेका स्विफ्ट ब्राण्डको कार हेर्दा केही पुरानो देखिन्थ्यो। तर, त्यसमा टाँसिएको नम्बर प्लेट नयाँ थियो। यी गाडीको विषयमा उपत्यका ट्राफिक कार्यालयलाई केही समय अगाडि नै सूचना आएको थियो। सूचनालाई पछ्याउँदै शंकास्पद कारहरूको निगरानी गरिएको थियो।
यसै क्रममा नक्कली नम्बर प्लेट राखेर कुदाएको अवस्थामा चोरीको दुईवटा कार प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंका दुई ठाउँमा शंकास्पद् अवस्थामा भेटिएका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले कागेश्वरी मनोहराको शिव चोक र बौद्धमा शुक्रबार शंकास्पद अवस्थामा कार फेला पारेको थियो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार कागेश्वरी शिवचोकमा फेला परेको कार बा१६च ३१३१ नम्बरको छ भने बौद्धमा फेला परेको कार बा१६च ४०१७ नम्बरको छ। तर, यी दुवै नम्बरहरू भने नक्कली हुन्। यातायात कार्यालयमा यी नम्बरका अन्य गाडी दर्ता भएका छन्।
चालकहरू जोरपाटी बस्ने ४० वर्षीय धनबहादुर तामाङ र सिन्धुलीका ३९ वर्षीय मोहन लामा कारसँगै पक्राउ परेका छन्। उनीहरूसँग रहेको कारको कागजपत्र र कारको नम्बरप्लेट र च्यासिर नम्बर फरक-फरक छ। कारबारे यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अभिलेखमा जाँच गर्दा कुनै विवरण भेटिएको छैन।
ट्राफिक प्रहरी कार्यालय प्रमुख अधिकारी भन्छन्, 'प्रहरीसँगको बयानका क्रममा चालकहरूले यी गाडी बजार मूल्यभन्दा निकै सस्तोमा किनेको बताएका छन्। नेपालको अभिलेखमा नभेटिएकाले भारतबाट चोरी गरेर ल्याएको हुनसक्ने अनुमान गरेका छौं। त्यसैले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जानकारी दियो।
नक्कली कारको शंकामा नियन्त्रणमा लिइएको कारबारे थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !