सिरियामा इजरायली आक्रमणपछि अमेरिकाले के भन्यो ?
काठमाडौं : इजरायली सेनाले बुधबार सिरियाली राजधानी दमास्कसमा रहेको रक्षा मन्त्रालय र दक्षिणी सिरियामा रहेको सरकारी सेनामाथि आक्रमण गरेको छ।
यसैबीच ड्रुज बहुल प्रान्तमा चौथो दिन पनि साम्प्रदायिक हिंसा जारी छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने,‘हामी हाम्रा ड्रुज दाजुभाइको सुरक्षा गर्न र सिरियामा सशस्त्र गिरोहलाई ध्वस्त पार्न काम गरिरहेका छौँ।’
सिरियाली विदेश मन्त्रालयले इजरायललाई छलपूर्ण आक्रमण गरेको आरोप लगाएको छ।
आदिवासी बेदुइन र ड्रुज मिलिशियाबीचको द्वन्द्वमा हालसम्म ३०० जनाले ज्यान गुमाएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिणी सिरियामा भइरहेको हिंसाप्रति धेरै चिन्तित रहेको बताए। तर उनले हिंसा चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे।
उनले सामाजिक सञ्जालमा लेखे,‘हामी केही कदममा सहमत भएका छौँ। यी कदमले आज राति यो विचलित पार्ने र डरलाग्दो अवस्थाको अन्त्य गर्नेछन्।’
सिरियाको विदेश मन्त्रालयले वर्तमान संकटको शान्तिपूर्ण समाधान खोज्ने अमेरिकी प्रयासको स्वागत गर्ने बताएको छ।
हालसम्म इजरायलले यसबारे कुनै टिप्पणी गरेको छैन।
प्रतिक्रिया दिनुहोस !