पटनाको अस्पतालमा उपचाररत कैदीको गोली हानी हत्या
काठमाडौं : बिहारको राजधानी पटनामा रहेको पारस अस्पतालमा अपराधीहरूले प्रवेश गरी उपचाररत एक कैदीको गोली हानी हत्या गरेका छन्। पारस अस्पताल पटनाको राजा बजारमा अवस्थित छ। यो सहरको मुख्य अस्पतालहरू मध्ये एक हो। कैदी चन्द्रन मिश्रमाथि हत्याको आरोप छ।
घटनास्थलमा उपस्थित पटनाका एसएसपी कार्तिकेय शर्माले मिश्रको विपक्षी समूह अस्पताल प्रवेश गरी गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। उनका अनुसार धेरै गोली चलाएको भन्ने छ, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै के कति गोली चलाइएको थियो भन्ने खुल्नेछ।
पारस अस्पतालमा आफ्नो परिवारको सदस्यको उपचार गराइरहेका अमित कुमारले भने, 'हामी अस्पताल बाहिर उभिरहेका थियौं। त्यसपछि हामीले केही मानिसहरू भित्र पसेको देख्यौं। पछि गोली चलेको भनेर हल्ला भयो। त्यसपछि अराजकता मच्चियो। केही समयपछि प्रहरी र मिडिया त्यहाँ पुगे।'
घटनापछि बिहारका पूर्वउपमुख्यमन्त्री तथा आरजेडी नेता तेजस्वी यादवले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् ,'अपराधीहरूले आईसीयूमा प्रवेश गरेर अस्पतालमा भर्ना भएका एक बिरामीलाई गोली हाने। बिहारमा कतै पनि कोही सुरक्षित छैन। ?
केही दिनअघि मात्र पटनाका व्यापारी गोपाल खेमकाको गान्धी मैदान नजिकै हत्या भएको थियो। उनी काम सकेर राति अबेर घर फर्किंदै थिए। आफ्नो घर नजिकै कार पार्क गरेर बाहिर निस्कने बित्तिकै पहिलेदेखि लुकेर बसेका हतियारधारीले आक्रमण गरेका थिए।
प्रतिक्रिया दिनुहोस !