रास्वपाको पार्टीको नाम र चुनाव चिन्ह संशोधनको निवेदन निर्वाचन आयोगमा दर्ता
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। सामाजिक अभियन्ता युवराज सफलले राष्ट्रिय पहिचान र धार्मिक आस्था भएको घण्टीलाई कुनै पनि रुपमा चुनाव चिन्ह बनाउन नमिल्ने र स्वतन्त्र शब्दले उम्मेदवारहरूलाई समेत असर पार्ने भएकाले संशोधनको माग गर्दै आयोगमा निवेदन दिएका हुन्।
'राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो नाममा जोडेको स्वतन्त्र भन्ने शब्दले स्वतन्त्र उम्मेदवारहरुको स्वतन्त्र भएर चुनाव लड्न पाउने कानुनी अधिकार र पहिचानलाई समेत मेटाएको स्वन्तन्त्र भन्ने शब्दको चिर हरण भएको आम जनतलाई भ्रम छर्न र आफूहरु स्वतन्त्र हो भनी भोट बटुल्ने जनता र मतदाताको आँखामा छारो हालेर आफ्नो निहित स्वार्थ पुरा गर्न खोजेको साथै कुनै पनि राजनीतिक दल गठन हुन निश्चित विचार सिद्धान्त उद्देश्य नीति,कार्यक्रमहरूको आवश्यकता पर्ने गर्दछ अत राजनीतिक दल केही नभएको स्वतन्त्र हुन सक्दैन । पार्टी स्वतन्त्र हुन सक्दैन पार्टीले आफ्ना कार्यक्रमहरू स्वतन्त्र तरिकाले गर्न सक्छ तर पार्टी आफैँ स्वतन्त्र समेत हुन सक्दैन अत तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीको स्वतन्त्र भन्ने शब्द सच्याई सो शब्द पार्टीको नामबाट हटाउनु अनुरोध गर्दछु,'उनले निवेदनमा उल्लेख गरेका छन्।
उनले हिन्दु धर्माबलम्बीहरूले पुजा पाठमा प्रयोग गर्ने घण्टीलाई पार्टीको चुनाव चिन्ह बनाउनु राजनीतिक दुरुपयोग भएको उनको तर्क छ। निर्वाचन आयोगले राष्ट्रिय पहिचान भएका तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने निर्यण गरेकाले सोही निर्णयअनुसार दलहरूलाई पार्टीको नाम र चुनाव चिन्ह उपलब्ध गराउन आयोगलाई आग्रह गरेका छन्।
'हिन्दु धर्माबलम्बीहरुले पुजा पाठमा प्रयोग गर्ने घण्टीलाई पार्टीको चुनाव चिन्ह बनाउनु भनेको धार्मिक मान्यता इतिहास बोकेको घण्टीको राजनीतिक दुरुपयोग हो। अत राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी दुई तिहाई भन्दा बढी धर्मावलम्बीहरुको आस्था विश्वासको केन्द्र रहेकोले त्यसरी कसैको आस्थामाथि प्रहार गरी घण्टीलाई चुनाव चिन्ह दिन मिल्दैन । साथै निर्वाचन आयोगले नेपालको राष्ट्रिय झण्डा नेपालको राष्ट्रिय निशान छाप राष्ट्रिय फूल लालिगुराँस राष्ट्रिय रंग सिम्रिक राष्ट्रिय जनावर गाई राष्ट्रिय पंक्षी डाफँ नेपालको नक्सा राष्ट्रिय पहिचान बोकेका व्यक्तिहरुका तस्वीर वा राष्ट्रिय पहिचान भएका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने भनी निर्णय समेत गरेको अवस्था छ,'उनले निवेदनमा भनेका छन्,' यदि कसैले त्यस्तो चुनाव चिन्ह प्राप्त गरेको रहेछ भने सो चुनाव चिन्ह पुनरावलोकन गर्ने पनि आयोगले निर्णय गरेको छ । राष्ट्रिय पहिचान भएको घण्टीलाई कुनै पनि रुपमा चुनाव चिन्ह बनाउन पाइँदैन।'
प्रतिक्रिया दिनुहोस !