रास्वपाले बनायो उम्मेदवार छनोट कार्यविधि, रवि लामिछानेको पक्षमा साढे २४ लाख हस्ताक्षर
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार छनोट कार्यविधि तयार गरेको छ। पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेर रास्वपा प्रवक्ता मनिष झाले अबदेखि रास्वपाका तर्फबाट हुने उम्मेदवार छनोटका लागि कार्यविधि तयार गरिएको जानकारी दिए।
आगामी दिनमा कार्यविधि अनुसार नै उम्मेदवार चयन गरिने उनले बताए। उनले कोटको खल्तीबाट उम्मेदवारको नाम निकाल्ने भन्दा पनि सबैलाई न्याय हुने गरी उम्मेदवार चयन गर्ने परम्परा सुरु गर्न खोजिएको बताए।
त्यस्तै रास्वपाले असार ७ गतेदेखि सुरु गरेको हस्ताक्षर अभियान कम्तीमा एक सय दिन चल्ने जनाएको छ। हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितले अभियानको नेतृत्व गरेको भन्दै हस्ताक्षर अभियानका संयोजक दीपक बोहराले साउन ५ गते वडा समितिले अभियानलाई जनस्तरसम्म पुर्याउन घरदैलो गर्ने जानकारी दिए।
अब नेपाल-भारत सीमा नाकाका मुख्य बिन्दु (काँकडभिट्टा, रक्सौल, जोगवनी, बेलहिया, जमुनाह, गड्डाचौकीलगायत) विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिने रास्वपाले जनाएको छ।
हालसम्म २४ लाख ५७ हजार ६ सय १८ हस्ताक्षर संकलन भएको रास्वापाले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !