लुम्बिनीमा कार्यसम्पादनमा उत्कृष्ट वन्यो खानेपानी तथा शहरी विकास मन्त्रालय
बुटवल : लुम्बिनी प्रदेशका विकासे मन्त्रालयहरूमध्ये आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्यसम्पादन गर्नेमा शहरी विकास तथा खानेपानी मन्त्रालय बनेको छ। उक्त मन्त्रालयले सबैभन्दा धेरै ८४ दशमलव ५५ प्रतिशत विकास बजेट खर्च गरेर उत्कृष्ट बनेको हो। कुल ५ अर्ब १५ करोड ५५ हजार रुपैयाँ बजेट पुँजीगत तर्फ विनियोजन भएकोमा ४ अर्ब ३९ करोड ८१ लाख ८४ हजार ४ सय २५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशले जनाएको छ।
विनियोजित योजनालाई दिगो र परिणामुखी बनाउने गरी कार्यसम्पादनमा विशेष जोड दिइएको शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले प्रतिक्रिया दिए। ‘आर्थिक वर्ष २०८१/०८२ मा कुल १ सय ३६ वटा आयोजनाहरू सम्पन्न भएका छन्’,राणाले भने,‘प्रदेशका १२ वटै जिल्लामा खानेपानीको गुणस्तर सुधारलाई विशेष जोड दिएर काम गरेका छौं।’
मन्त्री राणाले मन्त्रालयमा कार्यरत कर्मचारीहरूबीच साथी भाइको व्यवहार गरेर काम गर्ने गरेकाले उत्कृष्ट कार्यसम्पादनमा सहजता मिलेको अनुभव सुनाए। ‘मन्त्री एउटा जिम्मेवारी र पद हो’,राणाले भने,‘तर, सबैको अन्तिम उद्देश्य जनताको सेवा गर्नु हो। तसर्थ हामीले टिमवर्कमै नतिजामुखी काम गरेका छौं।’
प्रतिक्रिया दिनुहोस !