एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले भने- उहाँ (विद्यादेवी भण्डारी)को विषयमा पनि छलफल गर्नुपर्छ
काठमाडौं : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले प्रवेश पाएको छ। सार्वजनिकरूपमै नेकपा एमालेमा फर्किने घोषणा गरेपछि पहिलोपटक पूर्वराष्ट्रपति भण्डारीको विषय एमाले बैठकमा प्रवेश पाएको हो।
पार्टी सचिव सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपतिले एमालेको राजनीतिमा फर्किने घोषणा गरिसकेको अवस्थामा पार्टीभित्र उचित छलफल हुने बताए। यस विषयमा पार्टी अध्यक्षले नै पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गर्नुपर्ने उनको भनाइ छ।
'पूर्वराष्ट्रपतिका विषयमा छलफल हुन्छ। अध्यक्षज्युले नै छलफल गर्नुपर्छ भन्नुभएको छ। उहाँले सार्वजनिकरूपमा घोषणा गरिसक्नुभएको छ। त्यसैले यो उहाँको निजी विषयमात्र रहेन। यो पार्टीको र सार्वजनिक विषय भयो। सार्वजनिक विषयलाई कार्पेटमुनि लुकाएर त हुँदैन। उहाँको स्पष्ट गन्तव्य र उद्देश्य पनि बताउनुहुन्छ होला। सबै कुरा सार्वजनिकरूपमा भनेर पनि हुँदैन। उहाँले पार्टीको प्रणालीबाटै जानुहुन्छ। हामी सम्मानजनक सेटल गर्छौं,' सचिव भट्टराईले भने।
उनले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा उचित स्थान दिने पनि बताए। 'उहाँले आफ्नो सेवासुविधा सबै त्यागेर आइसकेपछि अब यो पार्टीको मामिला भयो। पार्टीमा अब यो विषयमा छलफल गर्छौं। उहाँ पार्टीमा आउनुहुन्छ भने उचित स्थान पनि दिनुपर्ला। उहाँको सम्मानजनक स्थान पनि हामीले खोज्नुपर्ला। यो विषय हाइलेभलमा कुराकानी होस् भन्ने हाम्रो चाहना छ। अध्यक्षज्युले नै उहाँसँग अलि बढी नै संबाद गरोस्। अनि प्रस्ट कुरा हुन्छ। त्यसपछि सचिवालय र केन्द्रीय समितिमा छलफल गर्छौं,' उनले भने।
नेकपा एमालेको साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते केन्द्रीय कमिटी बैठक बस्ने तयारी छ। त्यस्तै आगामी भदौ २०, २१ गते ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ।
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किने विषयले हालै सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पनि चर्चाको विषय बनेको थियो। कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग हालै बालुवाटारमा भएको छलफल पनि चर्चा गरेको स्रोतले बताएको छ। सभापति देउवाले नेपाली सेनाका परमाधिपतिसमेत रहेका पूर्वराष्ट्रपति राजनीतिमा फर्किँदा प्रणालीमाथि नै संकट आउनसक्ने भन्दै प्रधानमन्त्री ओलीलाई सतर्क गराएको स्रोतले बताएको छ।
प्रतिक्रिया दिनुहोस !