मधेस बजेटमा राणाकालीन शैली

मधेस बजेटमा राणाकालीन शैली

लोकतन्त्रको मूल आधार भनेको पारदर्शिता हो । नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र आउनुअघि देशको राजस्व कति थियो र कसले, कसरी, कहाँ खर्च गर्छ भन्ने जनताले थाहा पाउँदैनथे । जसै प्रजातन्त्र आयो, तब सरकारले बजेट सार्वजनिक गर्‍यो । त्यही राणाकालीन शैली अर्थात् अपारदर्शी ढंगबाट मधेस सरकारको बजेट आएको छ । वास्तविक बजेट लुकाएर संसद्मा छलछामयुक्त बजेट सार्वजनिक गर्दै पारित गरिएको छ ।

सांसदहरूलाई बाँडिएको बजेट पुस्तिका (रातो किताब) ४ सय ६१ पानाको थियो । वास्तविक बजेटको किताबमा भने ७ सय ५५ पाना छन् । ३ सय २ पाना बजेटबाट लुकाउने केवल असावधानी वा गल्ती, कमजोरी होइन, ठूलो आर्थिक अपराध हो । लुकाइएका पानामा सरकारले सात हजारभन्दा बढी योजना पारेको छ, जसमा पाँच लाख रुपैयाँभन्दा कम विनियोजन गरिएको छ । ससाना र टुक्रे योजनामा प्रदेशले बजेट विनियोजन गर्ने नै होइन, संघमा लागेको रोगले मधेस प्रदेशलाई पनि गाँजेको छ । २ सय २० वटा योजनाका लागि एक/एक हजार रुपैयाँमात्र बजेट राखेर सरकारले झन् अर्काे हाँस्यास्पद काम गरेको छ ।

पालिकाहरूबाट फत्ते गर्नुपर्ने साना योजनामा प्रदेशको बजेट खनिनु, आर्थिक स्रोतको दुरुपयोग र सस्तो राजनीति हो । दुरुपयोगको हद त मुख्यमन्त्री सतिश सिंहले आफ्ना बाबुद्वारा निर्मित छात्रावासका लागि १ करोड ८० लाख रुपैयाँको विनियोजन हो, जुन छात्रावास २० वर्षअघि बनेर अधुरो थियो । जनताले तिरेको राजस्व व्यक्तिगत र पारिवारिक प्रतिष्ठाका योजनामा राख्नु अनुत्तरदायी कदम हो ।

अपरादर्शी काम त मधेस सरकारले गर्‍यो नै लोकतान्त्रिक प्रक्रियाको पनि कतिसम्म धज्जी उडायो भने सदनमा विपक्षीको शून्य उपस्थिति हुँदा नै बजेट पारित गर्‍यो । काम नभएको पोषण कार्यक्रमको बक्यौता भुक्तानी गर्ने ९७ करोड रुपैयाँ विनियोजन गरेर मधेस सरकारले बजेटको चरम दुरुपयोगको मक्सद आफैं सार्वजनिक गरेको छ । पाँच करोड रुपैयाँ झोला र ज्यामेट्री बक्स खरिदका लागि छुट्ट्याइएको छ । यो पनि सन्देहपूर्ण नै छ । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटले सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यमान्यताको खिल्लीमात्र उडाएको छैन, संघीयताको औचित्यमाथि नै गम्भीर प्रश्न खडा गरेको छ  ।

प्रदेश भनेको संघीय प्रणालीको मुख्य संरचना हो । यही संरचना अपारदर्शी र भ्रष्ट भयो भने प्रणालीप्रति बढेको वितृष्णालाई थप मलजल गर्छ । संघीय संरचनाकै कारण मधेसले आफ्नो खास पहिचान पनि पाउन सकेको हो । तसर्थ संघीयतालाई थप औचित्यपूर्ण बनाउने गुरुत्व र दायित्व यो प्रदेशसँग झन् बढी अपेक्षित हुनु अस्वाभाविक थिएन । बिडम्वना सरकार भने उल्टो बाटो हिँडेको छ । सुशासन, पारदर्शिता, आर्थिक न्याय र जनप्रतिनिधिको उत्तरदायित्वप्रतिको संवेदनहीनताले संघीयतामाथि प्रश्न गर्नेहरूलाई बल दिएको छ । यसैगरी, सत्ता चल्ने हो भने संघीयता र प्रदेश शासन प्रणालीप्रतिको जनविश्वास अझै कमजोर हुन्छ । संघीय शासन प्रणालीप्रतिको जनविश्वासमाथिको कुठाराघातमाथि गम्भीर समीक्षा हुनुपर्छ । मधेसको सत्तारूढ दलहरू गम्भीर हुनुपर्छ । तुरुन्तै गल्ती सच्याएर सुल्टो बाटो हिँड्न थाल्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.