इन्द्रदेवसँग पानीको याचना, धर्ती पुज्दै, आकाश गुहार्दै

इन्द्रदेवसँग पानीको याचना, धर्ती पुज्दै, आकाश गुहार्दै

(बर्दिबासबाट फर्किएपछि): रोपाइँ गर्न त परै जाओस्, पिउने पानी पनि नभएपछि महोत्तरीको बर्दिबास–१२ र १३ का गाउँलेले १५ दिनको अन्तरालमा दुईवटा पूजा गरे । असार १६ गते महारानी थानमा नगर डिहबार(ब्रह्मबाबाबा) र असार ३० गते राजा सलहेस महाराजको पूजा गरे ।

हजारौं गाउँले जम्मा भएर पूजा गर्नुको उद्देश्य हो– इन्द्रदेवसँग पानी (वर्षा गरिदिन) अनुनय–विनय । त्यसका लागि गाउँलेले धर्तीसँग माफी मागे, आकाशलाई ढोग्दै पानी पारिदिन याचना गरे । बिजलपुरा–१२ अकुवान टोलका सरजित पासमान भन्छन्, ‘पानी देऊ राजा सलहेस महाराज, भन्दै सोमबार चार घण्टासम्म भक्तिभाव र श्रद्धापूर्व माग गरेर पूजा गर्‍यांै । के हुन्छ ? महाराजको मर्जी ।’ बिजलपुुराको अकुवान टोलका सुरेश पासमान वर्षात् नहुँदा किसानलाई पिउने पानीकै चरम अभाव भइरहेको बताउँछन् । ‘खेत छ , बीउ पनि छ तर के गर्नु ? ’ उनको भनाइ छ– पानी नै पर्दैन । 

सिँचाइ गर्ने अवस्था छैन, कसरी रोपाइँ गर्नु ? ’ सुरेशका छिमेकी राजकुमार पासवानका अनुसार भिक्स रूखले जमिनको पानी सुक्यो । अर्कोतिर नियमित वर्षात पनि हुँदैन । ‘के खाएर बाँच्ने ? राजकुमार भन्छन्, ‘इनार, चपाकल, नदी, कुवा सबै सुके । किसानले के खाएर बाँच्ने ? ’, सलहेस महाराजलाई पूजा गरेर मानव जीवन बचाउन बिन्ति चढाएका छौं । वर्षाका राजा इन्द्र भगवान्लाई भनेका छौं, ‘हे इन्द्र पानी देऊ । देवी देवताहरूले अवश्यक हाम्रो दुःख बुझ्ने छन् ।’ null

झुल्किन्छ बादल, पर्दैन पानी 
महिनौं भइसक्यो, आकाशमा कालो बादल लाग्छ । तर, थोपै पानी पर्दैन । मधेसको तापक्रम ४२ डिग्रिसम्म पुगिसकेको छ । बिहानैदेखि प्रचण्ड रौद (घाम) लाग्छ । घर बाहिर निस्कनै गाहे हुन्छ । पानी नपाएर लाखौं जनता तडपरहेका छन् । पानीका स्रोत नदी खहरे बनेका छन् । यसैकारण असार १५ को धान रोपाइँ उत्सवले पनि मधेसका छोएन । कसरी बाँच्ने? के खाने ? कहाँ जाने ? बाटो पनि पाइरहेका छैनन् मधेसवासीहरू । चुरेविज्ञ डा विजयकुमार सिंह भन्छन्, ‘जलवायु परिवर्तनका कारण मनसुनममा वर्षात् भएन । पानी पर्ने समय फेरबदल हुनुले जनताको जीवन कष्टकर बनिरहेको छ । चुरेको वन जंगल र पारिस्थितिकीय प्रणालीमाथिको प्रहारले तराई मधेसमा पानीको हाहाकार भएको हो ।’ चुरे संरक्षणबिना पानीका मुहान नजोगिने उनको भनाइ छ । 

मधेस प्रदेश सरकारले वीरगन्जसहितका सहर र गाउँ बस्तीमा बारुणयन्त्र तथा ट्यांकीमार्फत पानी वितरण गरिरहेको छ । प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषण गरिएको छ । सरकार पनि पानी खुवाउन दाता गुहारिरहेको छ । गाउँ–गाउँमा पानीको हाहाकार भएसँगै नयाँ इनार खन्ने, ओभरहेड ट्यांकीबाट पानी वितरणका लागि पाइपलाईन गर्ने, बोरिङ खन्ने काम भइरहेका छन् । तर, पहिले पाँच हजारमा चापाकल बनाएर पानी पिउन पाइन्थ्यो । आजभोलि १० लाखसम्म खर्च गरेर डिप बोरिङ बनाउनु परिरहेको पूर्वउपसचिव रामकुमार कार्की बताउँछन् । ‘मधेसमा पानीको मूल्य पेट्रोलभन्दा महँगो हुँदै गयो,’ कार्की भन्छन् । प्रदेशका ६१ लाख १४ हजार ६ सय नागरिक अन्न र पानीको समस्याले पिरोलिँदै गएका छन् ।

कता हरायो पानी ? 
बिजलपुराकी सुमित्रा देवीले सिँचाइ र पिउनका लागि बोरिङ बनाउन थालिन् । ३ सय ४२ मिटर ड्रिल गर्दा पनि बोरिङमा पानी आएन । १०औं लाख रुपैयाँ खर्च गरेर डिप बोरिङ गर्दा पनि पानी नआएपछि उनी पिरमा छिन् । अब अर्को बोरिङ गर्नुपर्ने बाध्यता आइलागेको छ । ‘पानी पिउन पनि त अर्को बोरिङ गर्नै पर्ने भयो,’ उनको गुनासो छ । रोपाइँ गर्न नपाएका किसानलाई पिउने पानीकै चरम अभाव छ । प्यास मेटाउने धौं धौं छ । 

मधेसवासीको बिहान र बेलुकीको समय डोल, बाल्टिन, तसली र ड्रम बोकेर पिउने पानीको खोजीमा निस्कनुपर्ने बाध्यता छ । बिजलपुराका ९५ वर्षीय सिंहेश्वर महतो भन्छन्, ‘२० वर्षअघिसम्म गाउँका इनार, कुवामा हातैले पानी निकाल्न मिल्थ्यो । तर, आजभोलि त ४ सय फिट तल पातालमा पानी धस्यो । खै किन यस्तो भयो, बुझ्न सकेको छैन ।’ बर्दिबास–१३ डाँडाटोलमा केही वर्ष पहिला एउटा इनारबाट १ सय ५० जना गाउँले पानी भर्थे । उक्त इनारमा थोपै पानी छैन । स्थानीय सञ्चारकर्मी रोशनकुमार महतो ४० किलोमिटर टाढा जनकपुरबाट टाउकोमा इँटा बोकेर ५० वर्षअघि गाउँलेहरूले आफैंले इनार खनेका बताउँछन् । कहिल्यै नबिर्सिने मेहनत र एकताको प्रतीक थियो त्यो इनार । पहिला यो इनारमा ५० हात तल पानी पाइन्थ्यो । जहाँबाट डोलमा डोरी बाँधेर गाउँलेहरू प्यास मेटाउँथे । उनी भन्छन्, ‘पानी परेपछि बाहिरबाट लेदो झर्छ, इँटाहरू तल खस्यो, र इनार भरिएर अब प्रयोग गर्नै नमिल्ने भयो ।’ 

अन्नको भकारीमै अनिकालको संकेत 
५० वर्षअघि मधेस अन्न र पानीको धनी थियो । तर, केही वर्षयता मधेस मरुभूमीकरण भइरहेको छ । नदी, इनार, कुवा, बोरिङ धमाधम सुक्दै गएका छन् । भएका पानीका स्रोतमा पनि पर्याप्त पानी छैन । पानीको स्रोत चुरे र चुरेबाट बग्ने नदीमै पानी छैन । चुरे विज्ञ डा. सिंहका अनुसार मधेस प्रदेशमा ठूला र साना गरी २० खोला–नदी छन् । जहाँ खडेरी र चुरे विनासले धेरै नदीहरू सुक्खा खोलामा परिणत भइसके । 

अब झन् के होला ? 
लामो खडेरीले मधेसमा धान रोपाइँ भएको छैन । ब्याडमै बीउ सुक्न थालेका छन् । सात प्रदेशमध्ये सबैभन्दा कम रोपाइँ मधेसमा भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको तथ्यांक छ । मधेसमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा बर्खे धान खेती हुन्छ । असार २९ सम्म १ लाख २५ हजार ८ सय ८८ हेक्टर (३३.७८ प्रतिशत) मा मात्रै रोपाइँ भएको छ । जलेश्वरको नैनहीका सुरेश राय भन्छन्, ‘बोरिङमा पनि पानी आउन छोड्यो । खडेरीले बीउ नै डढेर सुक्यो । के गर्ने, कता जाने ? वर्षभरिको अन्नको जोहो कसरी हुने हो ? ठेगान छैन । पानी पर्ने त नामोनिसान छैन ।’ 

एकडाराका जयचन्द्र ठाकुर धान खेती नहुने पीरले थाकेका छन् । ‘खेती नउब्जिए किसानले कहाँबाट के खान्छन् ? उनको पीडा छ– ‘किसानका बालबच्चाहरू विदेश जानुपर्ने भयो । देशमा कसरी अन्न पाइन्छ त ?’ महोत्तरीमा हालसम्म १८ प्रतिशत मात्रै रोपाइँ भएको छ । मधेस प्रदेशको आर्थिक सर्वेक्षण ०८०÷८१ अनुसार मधेसमा कुल खेती योग्य क्षेत्र ५ लाख ८७ हजार ७४० हेक्टर जमिन छ । त्यसमध्य आव ०८०÷८१ सम्म २ लाख ७३ हजार ४ सय १० हेक्टर क्षेत्रमा मात्रै सिँचाइ पुगेको छ  । अर्थात्, ५८.४१ प्रतिशत मात्रै सिँचाइ सुविधा छ । यहाँ नदीनाला,मनहर, पोखरी, बोरिङबाट सिँचाइ हुने गर्छ । खडेरी र जलवायु परिवर्तनले पानीका स्रोत सुक्न थालेपछि मधेसको समग्र खेती प्रणाली नै संकटमा पर्दै गएको छ । ०८०÷८१ सम्म कुलो, नहर, पोखरी र बोरिङबाट सिँचाइ भएको क्षेत्र क्रमशः ८७ हजार सय ७२ हेक्टर, १ लाख ५३ हजार ३७ हेक्टर, ३ हजार १ सय ९४ हेक्टर, र २९ हजार २ सय ७ हेक्टर छ  । 

कृषि मजदुर बिदेसिँदै 
प्रदेश सरकारको आर्थिक सर्वेक्षणले मधेसमा बेरोजगारीको संख्या बढ्दै गएको देखाउँछ । खडेरीको समस्याले यहाँका युवाहरू धमाधम बिदेसिन थालेका छन् । त्यसैकारण कृषिमा निर्भर मजदुर पाउनै धौ–धौ छ । आर्थिक वर्ष ०७९÷८० मा मधेस प्रदेशका १ लाख ४ हजार ६ सय जनाले वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिएको तथ्यांक छ । आर्थिक वर्ष ०८०÷८१ मा १ लाख १ सय ४३ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । 

संकटमा मधेसको अर्थतन्त्र 
मधेस जलवायु परिवर्तनको चपेटमा छ । जसकारण सरकारले लिएको गार्हस्थ्य उत्पादनको लक्ष्य नै प्रभावित हुने जोखिम बढेकोध प्रदेश अर्थ मन्त्रालयका सचिव रामकुमार महतो बताउँछन् । प्रदेश सरकारले आर्थिक वर्ष ०८१÷८२ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) ८ खर्ब ४ अर्ब पुग्ने अनुमान गरेको छ । 

मधेस प्रदेशको योगदान देशको कुल गार्हस्थ्य उत्पादनमा १३.१६ प्रतिशत हुने अनुमान छ  । यसमा कृषि र उद्योग क्षेत्रको ठूलो हिस्सा छ । ‘सरकारले लिएको लक्ष्य पूरा गर्न योजनाबद्ध काम गर्नुपर्छ । खानेपानी र सिँचाइको प्रबन्ध गर्नुको विकल्प छैन’, अर्थ सचिव महतो भन्छन्, ‘नदीबाट नहर प्रणालीमार्फत सिँचाइका आयोजनाहरू सञ्चालन गर्नुपर्छ । साथै ठूला क्षेत्रफलमा सिँचाइ हुने डिप बोरिङको व्यवस्था गर्नुपर्छ । चुरे र भावर क्षेत्रमा पानी रिचार्ज पोखरीहरू बनाउनुपर्छ ।’ गत आर्थिक वर्ष २०८०÷८१ मा मधेस प्रदेशको योगदान नेपालको कुल गार्हस्थ्य उत्पादनमा ७ खर्ब ५३ अर्ब रुपैयाँ थियो ।null

पानीका मुहान यसकारण सुके

५० वर्ष अघिसम्म पाइला–पाइलमा पानी पाइन्थ्यो मधेसमा । प्यास मेटाउन होस् या खेती गर्न, कुनै दुःख थिएन । त्यही भएर पहाडमा बस्नेले मधेसमा खेतीपाती गर्न खेत जोड्थे । नदीनाला भरिभराउ हुन्थे । मधेसमा अन्न, पानीको कमी थिए । तर, आज यही मधेसमा पानीको थोपा पाउन मुस्किल छ । चुरे नै मधेसको पानीको भण्डार हो । तर, चुरे दोहनको असरले तराई–मधेसमा पानी सुक्दै गएको चुरे तथा वातावरण विज्ञहरूको निष्कर्ष हो । मधेसमा किन पानीको मुहान सुक्दैछ? अन्नपूर्णको प्रश्नमा चुरे विज्ञ डा. विजयकुमार सिंहले यस्ता कारण र समाधान बताएका छन् :
 १.    जलवायु परिवर्तनका कारण मनसुनको वर्षात् समयमा नियमित नपर्नु एवं पानी पर्ने समय फेरबदल हुनु,
 २.    चुरेको वन जंगल र पारिस्थितिकीय प्रणालीमा ह्रास आउनु,
—    वन फडानी, वन डढेलोले लाखौं ससाना लाथा, पोथ्रा बिरुवाहरू जलेर खरानी भई माटोमा सुक्खापन हुनु ।
— जथाभावी चरिचरणले पशुको खुरले वनजंगलको माटो कडा भएर पानी शोषने क्षमतामा कमी आउनु ।
— वन जंगलबाट दाउरा र काठका लागि अनियन्त्रित रूपमा लाथ्रा र पोथ्राहरू व्यापक कटानी गरेर चोरी तस्करी हुँदा वनमा रुखले वर्षातको पानी सञ्चय गर्ने क्षमताका नकारात्मक असर पर्नु ।
—    बसाइँसराइले (हिमाल तथा मध्य पहाडबाट) चुरे क्षेत्रमा बसोबास र जनसंख्याको वृद्धि भई प्राकृति स्रोत सधानको जथाभावी दोहन हुनु । 
 ३.    पूर्व–पश्चिम राजमार्ग मदन भण्डारी राजमार्ग, नौवटा उत्तरबाट दक्षिणतर्फ राजमार्ग बिस्तारले संवेदनशील चुरे तथा भावर क्षेत्रमा प्राकृति स्रोतको दोहन र यसले पानीको पनि बढी खपत र खोलानालाको दोहन बढाउनु ,
 ४.    चुरे तथा भावर क्षेत्रमा गिटी, ढुंगा, बालुवा र माटोको व्यावसायिक रूपमा ४० फिटसम्म गहिरो खाल्टो खानी उत्खनन् गर्दै बिक्री वितरण गरिदाँ चुरेमा पानी भण्डार क्षमतामा कमी भएको,
 ५.    चुरे क्षेत्रबाट तराई–मधेस भएर बग्ने १६४ वटै नदीहरूबाट अप्राकृति रूपमा नदीजन्य पदार्थको गैरकानुनी उत्खनन् हुँदा खोला तथा नदीहरूको प्राकृति पानीको च्यानेल ध्वस्त भएकाले,
 ६.    चुरेका वनको कटानी, फडानी, नदीको दोहनले वर्षात्ले लेदो सहितको भेल बगाएर ल्याउँदा धर्ती (भावर तथा चुरे क्षेत्र) मा रिचार्ज नहुनु, 
 ७.    चुरे तथा चारकोसे झाँडी किनारमा प्राकृति रूपमा पानी फिल्टरको काम गर्ने खयर, सिसो, सिमल, काँस (खर)को बाक्लो जंगल फडानी हुनु,
 ८.    चुरिया तथा भावर भू–भागका जंगल तथा बासको विनासले चुरे नांगो हुनु,
 ९.    चुरे क्षेत्र बास, थाकल, बाबियो साबे) रैथाने घर हो । यसले पानी सञ्चय गर्ने काममा अहम भूमिका खेल्छ । बास, थाकल, बाबियो (साबे) रैथाने घर नष्ट हुँदा पानी सञ्चयमा कमी हुनु,
१०.    चुरे क्षेत्रमा छेडदानी गरेर जथाभावी नदीजन्य पदार्थ निकाल्दा वर्षात्को समयमा खोलाले बगाएर ल्याएको बालुवा, गिटी र माटो सहितको लेदोले खोलाको प्राकृति स्वरुप
(गहिराइ) पुरिँदा वर्षातको पानी जमिनमा रिचार्ज हुन नसक्नु,
११.    चुरे क्षेत्रमा खेतीपाती गरिदाँ संरक्षणमुखी कृषि प्रणाली नअपनाउनु,
१२.    चुरे क्षेत्रका पहाड फोडेर दोजरे विकास गरिदाँ बर्षातमा पहिरो खस्दा पानी मुहानमा नकारात्मक असर पर्नु,
१३.    चुरे क्षेत्रका खोला तथा नदीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न स्थानीय तहले पैसाको लोभमा ठेक्का लगाएर अनियन्त्रित दोहन गराउँदा पनि जिल्ला समन्वय समितिले कडाईपूर्वक अनुगमन नगर्नु, 
१४.    नदीजन्य पदार्थ उत्खनन्का लागि ऐन, नियम, कानुन नहुनु,
१५.    नदीजन्य पदार्थ उत्खनन्, बिक्री वितरणका लागि सरकारलाई सर्वोच्च अदालतले कानुन बनाउन दिएको आदेश नमान्नु ,
१६.    चुरेको दोहन तथा अतिक्रकण सम्बन्धमा तल्लो तटीय क्षेत्रमा बाढीले गर्ने कटान, डुबान, खेतियो जमिनको बालुवाले हुने पुरान, पानीको मुहान नष्टबारे अवाज उठाउन नसक्नु । 

कसरी सुके मधेसका नदी ? 
डा. नागेन्द्रप्रसाद यादव,वन तथा वातावरण विज्ञ

खडेरीले मधेसमा पानीको हाहाकार छ । पानीको मूल स्रोत नदी नै सुकेका छन् । नदी नै पानीको मुख्य स्रोत हो । यसको संरक्षण भए मात्रै इनार, कुवा, बोरिङमा पानी आउँछ । त्यही पानी नआएर अहिले मधेसमा पानीको हाहाकार छ । यहाँ नदी कसरी सुक्दैछ र कसरी संरक्षण गर्न सकिन्छ भन्ने सन्देश छ  ।

नेपाल बनोटको हिसावले मुख्य रूपमा चारवटा भौगोलिक क्षेत्रहरूबाट तयार भएको पाइन्छ— हिमाल, पहाड चुरिया र तराई भूभाग । पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेको चुरे सबैभन्दा दक्षिणी भूभाग रहेको पहाड हो । जसमा नदीले बनाएका केही खोंचहरू, दुन उपत्यका (भित्री मधेस) समेत पर्दछन् । चुरे पहाड मुख्यतया बलौटे ढुंगा, माटोढुंगाा र सङ्गुटिकाले बनेका छ । यी चट्टानहरू पूरै खँदिलो भई नसकेको हुनाले थोरै छँुदा पनि छिट्टै क्षयीकरण हुने अवस्थाका छन् । 

चुरेबाट निस्कने नदीहरू सुकेका छन् । अहिलेसम्मको तथ्यांक अनुसार तराई मधेसमा पानीको लेयर टाढिदै (तल) गएको देखिन्छ भने नदीको सतहमाथि उठी रहेको छ । चुरे, तराई मधेसमा संरक्षण तथा बाढी पहिरो तथा डुवान र कटानको समस्या बढ्दै गएको छ भने तराई— मधेसमा जलको सतह घटदै (तल) गई रहेको छ, । २० वर्ष अगाडि ५० देखि ८० फिटमा पाइने पानी अहिले ठाउँअनुसार २०० देखि ५०० फिट तल पुगेको छ । गर्मीयाममा अधिकाँश ट्युबवेल, इनार, पोखरी र ताल आदि सुक्ने गरेका छन् । 

यो समस्या पहिले चुरेमुनि भावरको क्षेत्रमा मात्र थियो तर अहिले दक्षिणतर्फ क्यान्सर झैं सर्दै मधेसमा पनि देखिन थालेको छ । भविश्यमा सिमाना पारी भारतमा पनि भू जल अभावको समस्या देखिने छ । यसको समाधान भएन भने अन्यत्र पनि पानीको अभाव वढदै जानेछ । 

कसरी जोगाउने पानीका मुहान ? 

 १.    संघ, प्रदेश र स्थानीय तहले चुरे संरक्षणका लागि ऐन, नियम, कानुन र नीति बनाएर प्रभावकारी कार्यान्वयन गर्न अति आवश्यक, 
 २.    चुरेको माथिल्लो र तल्लो तटीय क्षेत्रको अन्तर सम्बन्धका आधारमा चुरे संरक्षणका लागि गुरुयोजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने ।
 ३.    चुरेको गुरुयोजना बनाउँदा चुरे र तराईलाई समेट्ने गरी एकीकृत जलाधार कार्यक्रमका आधारमा योजना कार्यान्वयन गर्ने ।
४.    चुरे संरक्षणका लागि तीन तहको सभा तथा जनतामा बहस सञ्चालन गर्नुपर्ने, 
 ५.    चुरे संरक्षणका लागि चुरे, वन तथा वातावरण क्षेत्रमा क्रियाशील सरकारी नियामक निकाय, आयोजना, परियोजना र गैरसरकारी संघसंस्थाबीच समन्वय, सहकार्य गर्नुपर्ने,
 ६.    कतिय नदीहरू (जस्तैः लालबकैया, कमला) एकभन्दा बढी प्रदेशबाट बग्ने नदी संरक्षणका लागि अन्तर प्रदेश स्तरीय समन्वय गर्दै चुरे संरक्षण गर्नुपर्ने,
 ७.    चुरे तराईका लागि पानीको मूल स्रोत हो । चुरेले यसले जमिनमुनि पानी रिचार्जको काम गर्दछ । चुरे–तराई मधेसका लागि आमा हो । चुरे संवेदनशील क्षेत्र पनि हो । यो कुरा जनजनमा बुझाउँदै त्यसरी नै व्यवहार गर्नुपर्ने,
 ८.    चुरे क्षेत्रमा हजारौं पोखरी, तालतलैया, ड्यामहरू बनाएर वर्षातको पानी चुरे र भावर क्षेत्रमा भण्डार गरिनुपर्ने, जसले जमिनमा पानी रिचार्ज बढाउँछ,
 ९.    चुरेमा कडाइका साथ वन, डढेलो, चरिचरण, खोरिया फडानी, जथाभावी उत्खनन्, सडक निर्माणका काम, काठ–दाउरोको कटानी र ढुवानीमा रोक लगानुपर्ने,
१०.    नदीजन्य पदार्थ बिक्री ,वितरण र व्यवस्थान गर्न कानुन बनाउनुपर्ने,
११.    नदीजन्य पदार्थ बिक्री, वितरण र व्यवस्थान गर्न बनाइने ऐनमै विदेशमा बालुवा, गिटी, ढुंगा निकासी गर्न प्रतिबद्ध लगानुपर्ने,
१२.    तराई मधेसमा खानेपानी तथा सिचाईको समस्या समाधान गर्न धेरै संख्यामा ड्रिप ट्युबवेलहरू जडान गर्नुपर्ने,
१३.    चुरे र भावर क्षेत्रमा (सव—सरफेस) लेबलको पानी संकलन गरेर तराईका सहरी र धेरै पानी माग हुने क्षेत्रमा वितरण गर्ने परियोजना कार्यान्वयन गर्नुपर्ने,
१४.    चुरे क्षेत्रमा तल्लो तटीय क्षेत्रका समुदायलाई चुरे विनासका कारणबारे अभिायन चलाएर जागरुक बनाउनुपर्ने,
१५.    जलवायु अनुकूलन । न्यूनीकरणका योजना बनाइ हिमाली, पहाडी, चुरे, तराई मधेस क्षेत्रमा व्यापक रूपमा लागु गर्नुपर्ने,
१६.    चुरेको मुख्य उत्पादन तराईका लागि सफा, स्वच्छ पानी हो । अर्को उत्पादन बाघ, गौंडालगायत जैविक विविधताको संरक्षण कार्य गर्दै पर्यापर्यटनको विकास गरी स्थानीयहरूको जीविकोपार्जनको माध्यम बनाउनुपर्छ । चुरेबाट काठ, दाउरा, नदीजन्य पदार्थ उत्पादन र कार्बन सञ्चितीकरण तेस्रो उत्पादन हो भन्ने कुरो बुझनुपर्ने,
१७.    चुरेको मध्य र तल्लो तटीय क्षेत्रमा नदीका वरिपरि धेरै संख्यामा पोखरी बनाएर पानी भण्डार गर्नुपर्ने ।
१८.    चुरेको माटो र पानी चुरेमै रोक्ने योजना बनाएर कार्यान्वयन गर्नुपर्ने ।
१९.    तराई मधेसको खेतखेतमा विद्युतीकरण, डिप बोरिङ जडान गर्न किसानलाई अनुदान दिनुपर्ने ।
२०.    सुक्खाग्रस्त क्षेत्रमा डिप बोरिङ र इनार खन्न सरकारले अनुदान दिने व्यवस्था गर्ने हो भने मधेसमा तत्काल र दिर्घकालीन रुपमा खानेपानी र सिँचाइको समस्या समाप्त हुन्छ ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.