बजेट सुनिश्चितताले समेत अन्योलमा बाग्दुला–मच्छी सडक

बजेट सुनिश्चितताले समेत अन्योलमा बाग्दुला–मच्छी सडक
सुन्नुहोस्

प्यूठान : जिल्लाको सर्वाधिक व्यस्त सडक हो, बाग्दुला–मच्छी सडकखण्ड । दशकौंदेखि अलपत्र अवस्थामा रहेको यो सडक बजेटको सुनिश्चितता हुँदा समेत निर्माणको अन्यौलता कायमै छ ।

अर्बाैको लगानीमा दाङको भालुवाङ, प्यूठानको बाग्दुलाहुँदै बाग्लुङको भीमगिठे जोड्ने त्रिदेशीय सडक भारतीय एक्जिम बैंकको ऋण सहयोगमा बन्ने भनिएको थियो । तर, १० वर्षअघि निर्माण सम्झौता गरेको निर्माण कम्पनी भारतीय सरकारको कालोसूचीमा परेपछि निर्माण कार्य सुरु नहुँदै सडक अलपत्र पर्‍यो । अलपत्र सडक मर्मतका लागि आव २०८१/८२ देखि तीनै तहका सरकारले काम सुरु गरे ।

बजेटको सुनिश्चितता

भीमरुक गाउँपालिकाले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेर आफ्नो क्षेत्रमा सडक स्तरोन्नतिको काम गरिरहेका छ । बतासेडाँडादेखि जिमुर खोलासम्म सडक चौडा गर्ने, वाल बनाउने, क्लभर्ट बनाउनेलगायत काम भइरहेको साइट इन्चार्ज वासुदेव गिरीले बताए । प्यूठान नगरपालिकाको क्षेत्रमा सडक डिभिजन कार्यालय प्यूठानले संघीय बजेटअन्तर्गत १ करोड रुपैयाँको लगानीमा सडक मर्मतको काम सम्पन्न गरेको छ ।

सडक डिभिजन कार्यालय प्यूठानले संघीय बजेटअन्तर्गत पुनः ४ करोड रुपैयाँमा सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । आव २०८१/०८२ को अन्तिममा असार २९ गते प्रदेश सरकारले सडक स्तरोन्नति र अन्य संरचना निर्माण गर्नका लागि सडक पूर्वाधार विकास कार्यालयमार्फत ५ करोडबराबरको बहुवर्षीय ठेक्का खुलाएको छ । सडक कालोपत्रे गर्ने लक्ष्यसहित गाउँपालिकाबाट संघीय समपूरक योजनाअन्तर्गत आव २०८२/०८३ का लागि ७ करोड रुपैयाँ र प्रदेश संघीय समपूरक योजनाअन्तर्गत लुम्बिनी प्रदेश सरकारले करिब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

निर्माण योजना छैन
वर्षाको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने यो सडक निर्माणका लागि बजेटको सुनिश्चितता भए पनि निर्माण योजना नबन्दा पुनः सडक अलपत्र पर्ने हो कि भन्ने चिन्ता स्थानीयमा छ ।

‘वर्षौदेखि भोग्दै आएको समस्या समाधानका लागि तीनै तहका सरकारले चासो राख्नु सकारात्मक विषय हो’, स्थानीय इन्द्रमणि पोख्रेलले भने, ‘सडकको मापदण्ड के हुने, कुन निकायले कहाँ के काम गर्ने जस्ता विषयमा निर्माण योजना बनेको देखिँदैन ।’ १३ किलोमिटर सडक स्तरोन्नतिका सम्बन्धित कार्यालयहरूबीच समन्वय आवश्यक रहेको उनले बताए । स्पष्ट निर्माण योजना नभएसम्म अन्योलता कायमै रहने उनको भनाइ छ ।

ठूला आयोजनाले काम नगर्दा
यो सडक भारतको काइलावासदेखि तिब्बतको लोमाङथाङ जोड्ने त्रिदेशीय सडकखण्डअन्तर्गत पर्छ । त्यस्तै मदन भण्डारी राजमार्गअन्तर्गत समेत यो सडक पर्छ । दुई ठूला आयोजनाले स्तरोन्नति गर्ने अपेक्षामा वर्षाै बितेपछि सडक निर्माण नहुँदा अहिले तीन तहका सरकारको ध्यान गएको हो । एकातर्फ सडक आयोजना कार्यालयमार्फत सडक मर्मतको कामसमेत नहुने र अर्काेतर्फ स्थायी संरचना निर्माणका लागि आयोजना कार्यालयले स्विकृतसमेत नदिँदा सडक अलपत्र परेको हो ।

स्थानीयले भोग्दै आएको सास्तीलाई मध्यनजर गर्दै अलपत्र सडक स्तरोन्नतिका लागि सुनिश्चित भएको बजेट कसरी कार्यान्वयन गर्ने भन्ने अन्योलता उत्पन्न भएको छ । यस सडकमा दैनिक ४ दर्जन बढी यात्रुवाहक, मालवाहक र निजी सवारी गरी एक सय बढी सवारीसाधन आवतजावत गर्छन् । प्यूठानको झिमरुक गाउँपालिका, गौमुखी गाउँपालिका, प्यूठान नगरपालिकासँगै गुल्मी र अर्घाखाँचीका विभिन्न स्थानहरूमा नियमित रुटका सवारीहरू यस सडकखण्ड भएर सञ्चालन हुँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.